Friday, November 28, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


कथाको पात्रको नाम  'विवेक’ । मेरा घरमा कोठा भाडामा लिएर बसेको पाँच वर्ष भइसकेको छ । समयमै कोठाभाडा तिर्छन् । घरको सरसफाईमा ध्यान दिन्छन । अनावश्यक बत्ती र पानी खर्च गर्दैनन । काममा निस्किन्छन समयमै कोठा छिर्छन् ।

एकदिन अबेरसम्म चालचुल नदेखेपछि म विवेकको कोठा अगाडि गएँ । ढोका भित्रबाट बन्द थियो । बाहिरबाट बोलाएँ –  'विवेक’ । भित्रबाट मसिनु स्वरमा आवाज आयो  'हजुर’ ।  'ढोका खोल’– मैले भने ।

विवेकले ढोका खोले । निन्याउरो अनुहार, जिङरिङ्ग कपाल, हेर्दै बिरामी जस्तो देखेर मैले सोधे–  'के भयो बाबु?’ मलिन स्वरमा विवेकले भने–  'हिजोदेखि ज्वरो आएर सुतेको ।’  'राति के खायौ?’ मैले सोधे ।  'हिजोदेखि  उठ्नै सकिन, केही खाएकै छैन ।’ विवेकले भने ।

मैले निधार छामेँ, नाडीको चाल हेरेँ, हनहनी ज्वरो थियो । लुगा लगाउन लगाएँ ट्याक्सीमा चढाएर अस्पताल पुर्‍याएँ । जाँच सुरु भयो । अस्पताल भर्ना गर्नुपर्ने देखियो ।

भोलि बिहानै जाउलो लिएर अस्पताल गएँ । पानीमा भिजेका कारण विवेकलाई टाइफाइड भएको रहेछ । अझै केही दिन अस्पताल राख्नुपर्ने चिकित्सकले सल्लाह दिए । 

 रातभरि कुरुवा बसेँ । बिहान हातमा खाली टिफिन बक्सा बोकेर घर फर्कँदै थिएँ । मर्निङवाकमा हिँडेका मित्रसँग भेट भयो ।  'कता पुगेर बिहानै झोला बोकेर’– उनले सोधे ।

भाडामा बस्ने भाइ बिरामी छन् उनैलाई खाना पुर्‍याएँ, रातभरि कुरुवा बसेर फर्केर आएको । मेरो कुरा सुनेर उनले भने –  'होइन के सुन्नुपर्‍यो?’ भाडामा बस्नेलाई खाना पुर्‍याउने ?  'आफ्नो हैसियतमा बस्नुपर्छ घरबेटी भएपछि । डेरावालाले हेप्छन् याद गर्नुहोस् ।’ उनको अर्ती सुनिरहेँ । कुनै प्रतिक्रिया जनाउन आवश्यक ठानिन ।

छुट्टिएर बाटो लागेपछि मनमनै सोचेँ । विवेक एउटा जेन्जी युवा हो । देशलाई उसको खाँचो छ । उसलाई सहयोग गर्ने परिवार साथमा छैनन् । मैले सहयोग नगरे कसले गर्छ ।

मित्रको दरिद्र सोच देखेर मलाई दया लागेर आयो । 

आफैँलाई प्रश्न गरेँ – 'के समाजमा मानवता हराएको छ र ?’


- साहित्य सन्ध्या, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:

Post a Comment