नन्दलाल आचार्यको लघुकथा ‘सत्यको कठघरा’ ले नेपाल–भारत सीमा नाकामा आम नागरिकले भोग्नुपर्ने नियति, राज्यको संकुचित नीति र मानवीय स्वाभिमानको द्वन्द्वलाई एउटा सानो क्यानभासभित्र जीवन्त उतारेको छ । यो लघुकथा केवल एउटा घटनाको विवरण मात्र होइन, बरु सीमावर्ती नेपाली समाजको त्यो बाध्यता हो, जहाँ एउटा मध्यमवर्गीय नागरिकले केही किलो चिनी वा केही थान ओखतीका लागि आफ्नो सत्यको बलिदानी दिनुपर्ने स्थिति सिर्जना गरिन्छ ।
१. राज्यको नजर र नागरिकको सास्ती
नेपालका सीमावर्ती बजारहरू (जस्तै कुनौली, रुपैडिहा वा जोगबनी) केवल बजार मात्र होइनन्, ती निम्न र मध्यमवर्गीय नेपालीका लागि ‘लाइफलाइन’ हुन् । लघुकथामा डा. शिवशंकर यादव र उनकी पत्नी ममताको माध्यमबाट सीमाको त्यो कठोर यथार्थलाई प्रस्तुत गरिएको छ, जहाँ सुरक्षाकर्मीको ‘गर्जन’ ले तातो हावामा रापिलो द्वन्द्व सल्काइदिन्छ ।
आफ्नै घरायसी प्रयोजनका लागि ल्याइएका सामानहरू कसरी ‘डरका संवाहक’ बन्छन् भन्ने कुराले राज्यको नीति र नागरिकको आवश्यकता बीचको खाडललाई उदाङ्गो पारेको छ । जब एउटा नागरिकले ५ हजारको आयुर्वेदिक औषधि बोकेर हिँड्दा अपराधीको जस्तो मनोवैज्ञानिक त्रास भोग्नुपर्छ, तब बुझ्नुपर्छ, भन्सारका नियमहरू जनतालाई सहज बनाउन होइन, त्रसित बनाउन बढी सक्रिय छन् ।
२. झुटको खेती र ‘तमसुक’को विवशता
लघुकथामा एउटा मार्मिक प्रसङ्ग छ– ‘सरकारी झमेला र नियमको जालोबाट उम्किन हामीले एक–अर्कालाई चिन्दैनौँ भन्ने सल्लाहको तमसुक हृदयमा टाँसेका थियौँ ।’ यो वाक्यले सीमा क्षेत्रमा व्याप्त एउटा कुरुप यथार्थलाई चित्रण गर्छ । थोरै सामान ल्याउँदा पनि भन्सारको झमेला र ‘सेटिङ’ को डरले गर्दा पति–पत्नीले समेत अपरिचित हुनुपर्ने नाटक गर्नुपर्ने अवस्था आफैँमा राज्य संयन्त्रमाथिको ठूलो व्यङ्ग्य हो ।
सानातिना सामानमा कडा निगरानी राख्ने तर ठूला तस्करीका पहाडहरूलाई ‘अदृश्य’ देख्ने प्रशासनको प्रवृत्तिले गर्दा नै सर्वसाधारणले झुटको सहारा लिनुपरेको हो । ममताले व्यक्त गरेको असन्तुष्टि “अलिकति झुटले हाम्रो सामान र समय दुवै जोगिन्थ्यो’’ यसले समाजमा व्याप्त त्यो मानसिकतालाई देखाउँछ, जहाँ इमानदारी भन्दा सुविधा महँगो सावित भइरहेको छ ।
३. अस्तित्वको खोजी र नैतिक धरातल
लघुकथाकार आचार्यले डा. शिवशंकर पात्र मार्फत एउटा बलियो दार्शनिक प्रश्न उठाएका छन् । भौतिक सामान बचाउनका लागि आफ्नै जीवनसङ्गिनीलाई ’चिन्दिनँ’ भन्नु भनेको आफ्नै अस्तित्व र इतिहासलाई तिरस्कार गर्नु हो ।
“संसार जित्न त झुटको सहारा चाहिएला प्रिय ! तर आफ्नै अस्तित्व अगाडि उभिएर आफैँलाई पराजित गर्न मैले सकिनँ ।’’
यो संवादले भौतिकता (सामान) र नैतिकता (सम्बन्ध र सत्य) बीचको युद्धमा नैतिकतालाई जिताएको छ । एउटा डाक्टर जस्तो सुशिक्षित पात्रले ‘आत्मा सुकुम्बासी’ हुने डर मान्नुले यो सङ्केत गर्छ कि समाजमा जतिसुकै कठिन परिस्थिति आए पनि सत्यको मूल्य सधैँ माथि रहनुपर्छ ।
४. संरचनात्मक र शैलीगत छरितोपना
आचार्यका वाक्यहरू छरिता तर भावपूर्ण छन् । ‘झुटको खेती एकै निमेषमा डढेर खरानी भयो’ वा ’आत्मा कतिन्जेल सुकुम्बासी बन्थ्यो होला’ जस्ता बिम्बहरूले लघुकथालाई लालित्यपूर्ण बनाएका छन् । लघुकथाले सीमाको समस्यालाई मात्र छोएको छैन, यसले मानवीय संवेदना र पारिवारिक मूल्यबोधलाई पनि उनेको छ ।
५. के सत्य सधैँ सुरक्षित छ ?
यद्यपि लघुकथाले सत्यको विजय गराएको छ, तर यहाँ एउटा गम्भीर प्रश्न बाँकी नै रहन्छ– के राज्यले आफ्ना नागरिकलाई सत्य बोल्न सहज वातावरण दिएको छ ? यदि भन्सार प्रक्रिया पारदर्शी र झमेलामुक्त हुन्थ्यो भने डा. शिवशंकरले झुटको योजना बुन्नुपर्ने थिएन ।
यदि साना सामानमा हुने ‘अनधिकृत केरकार’ र ‘जफतको धम्की’ नहुने हो भने ममता जस्ता पात्रहरूले झुटलाई सुविधाको साधन मान्ने थिएनन् ।
सीमामा खटिएका सुरक्षाकर्मीको ‘गर्जन’ ले सुरक्षाको अनुभूति भन्दा बढी आतङ्क सिर्जना गर्नु लोकतन्त्रका लागि शुभ सङ्केत होइन । नागरिकले आफ्नो देशको सीमा टेक्दा आनन्दित हुनुपर्नेमा, त्यहाँ पुग्दा ‘सत्यको कठघरा’ मा उभिनुपर्ने बाध्यता हुनु दुःखद् छ ।
निष्कर्ष
‘सत्यको कठघरा’ लघुकथाले सीमाको वास्तविकतालाई अत्यन्तै सूक्ष्म ढङ्गले विश्लेषण गरेको छ । यसले भन्सारका झमेला, प्रहरीको व्यवहार र नागरिकको विवशतालाई एउटै सुत्रमा उनेको छ । भौतिक सामान त फेरि किनिएला, तर प्रणालीले नागरिकको आत्मसम्मान र सत्यनिष्ठालाई जुन ढङ्गले प्रहार गरिरहेको छ, त्यसको क्षतिपूर्ति असम्भव छ ।
समय बदलिए पनि सीमाका समस्या र मानवीय इमानको परीक्षा अझै सकिएको छैन । यो लघुकथा प्रणाली सुधार्नका लागि एउटा मौन विद्रोह र व्यक्तिभित्रको इमान बचाउनका लागि एउटा बलियो वकालत हो । सत्य जतिसुकै महँगो किन नहोस्, त्यो झुटको जगमा उभिएको सुबिधाभन्दा कैयौँ गुणा सुन्दर हुन्छ ।
स्रोत लघुकथा– सत्यको कठघरा
– नन्दलाल आचार्य
“खबरदार ! को हुन् यिनी तपाईंको साथमा ?“ प्रहरीको आकस्मिक गर्जनल सीमा–नाकाको तातो हावामा एकाएक रापिलो द्वन्द्व सल्काइदियो ।
कुनौली बजारको भीड छिचोल्दै गर्दा हाम्रो हातमा तीन महिना अगाडि किनेका पतञ्जलिका पाँच हजार मोलका आयुर्वेदिक ओखती लगायतका सामानका झोलाहरू थिए । आफनै पारिवारिक प्रयोगका ल्याइएका ती सामानको ओजन त भारी थिएन, यद्यपि ती डरका संवाहक बनेका थिए । योजना मुताविक तीन मिनेटभित्र सीमा काट्नु पर्ने थियो । सरकारी झमेला र नियमको जालोबाट उम्किन हामीले ॅएक–अर्कालाई चिन्दैनौँ’ भन्ने सल्लाहको तमसुक हृदयमा टाँसेका थियौँ । तर, जब प्रहरीको तिखो आँखा पत्नी ममताको आँखासँग जुध्यो, मेरो ओठमा झुण्डिएको झुटको खेती एकै निमेषमा डढेर खरानी भयो ।
“मेरी श्रीमती हुन् ।’’ मेरो मुखबाट शब्दहरू अनायासै फुत्किए । प्रहरीको केरकार र सामान जफत गर्ने धम्कीबीच निकै अनुनयपछि मात्र हामीहरू नेपाल छिर्न पायौँ । सिमा कटेर नेपालको भूमि स्पर्शले मन आनन्दित भएको थियोे । यद्यपि ममताको असन्तुष्टि ज्वालामुखी झैँ विस्फोट भयो, “किन सत्य ओकल्नुभयो ? अलिकति झुटले हाम्रो सामान र समय दुवै जोगिन्थ्यो नि !“
मैले शान्त भावमा बिम्बमय उत्तर दिए, “म डा. शिवशंकर यादवलाई तिम्रा बाआमाले अग्नि साक्षी राखी ज्वाइँ बनाएको सम्झेँ । संसार जित्न त झुटको सहारा चाहिएला प्रिय ! तर आफ्नै अस्तित्व अगाडि उभिएर आफैँलाई पराजित गर्न मैले सकिनँ । सामान त फेरि किनिएला, तर तिमीसँगको सम्बन्धलाई नकार्दा मेरो आत्मा कतिन्जेल सुकुम्बासी बन्थ्यो होला ?’’
ममता मौन भइन् । बाहिर अँध्यारो थियो, तर मभित्र इमानको मधुरो प्रकाश बलिरहेको थियो ।
उत्तरकथाः सत्यको उज्यालो
– प्रा.डा. पशुपति फुयाल
अँध्यारो बाटोको मौनतालाई चिर्दै ममताको आँखाबाट खसेको एउटा तप्त आँसुले मेरो काँधमा विद्रोहको नयाँ बीज रोपिदियो । “आत्मा सुकुम्बासी बन्थ्यो’’ भन्ने मेरा शब्दहरू उनकै मानसपटलमा आँधी बनेर ठोक्किएछन् क्यारे, उनी एक्कासि टक्क अडिइन् ।
बाटोमा लम्पसार परेको एउटा ठुलो ढुङ्गा देखाउँदै उनले गम्भीर स्वरमा भनिन्, “यो ढुङ्गाले बाटो छेकेको छ भन्नु सत्य हो कि यसलाई पन्छाउन सकिन्छ भन्नु सत्य हो ?“ म नाजवाफ भएँ । उनले थपिन्, “अघि तपाईंले मलाई ’श्रीमती’ स्वीकार गरेर सम्बन्ध त जोगाउनुभयो, तर अब यो ओखतीले समाजको रोग निको पार्ने कि आफ्नै स्वार्थको मात्रै जतन गर्ने ?“ उनको प्रश्नमा एउटा अदृश्य द्वन्द्व लुकेको थियो ।
हामी घर पुग्नुअघि नै गाउँको चोकमा एउटा गरिब महिला आफ्नी बिरामी छोरी च्यापेर विलौना गर्दै छटपटाइरहेको देख्यौँ । ममताले नहिचकिचाई आफ्नो झोलाबाट महँगो आयुर्वेदिक ओखती निकालिन् र ती वृद्धको हातमा थमाइदिइन् र खुबाउने तौरतरिका बताइदिइन् ।
मैले झस्कँदै सोधेँ, “यो त तिम्रो आफ्नै उपचारका लागि थियो नि ?’’
उनले मुसुक्क हाँस्दै भनिन्, “तपाईंले सम्बन्ध जोगाउनुभयो, मैले मानवता जोगाएँ ।’’त्यसबेला मलाई महसुस भयो– सत्य केवल ओठमा झुण्डिने शब्द मात्र होइन रहेछ, यो त कर्ममा फुल्ने फूल पो रहेछ ।
तर केहीबेरमै गाउँमा अर्कै हल्ला फैलियो– “जसलाई हामीले ओखती दियौँ, उनी त प्रहरीका सुराकी पो रहेछन् !“ मैले ममतालाई हेरेँ; उनी अझै मुस्कुराइरहेकी थिइन्, किनकि सत्य कहिलेकाहीँ हार्दा हार्दै पनि अमर भइसकेको हुन्छ ।


No comments:
Post a Comment