Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

 मजदुर

-हरिगोविन्द भोमी
चाबहिल, सरस्वतीनगर 



जुगे दम्पती काममा नगएको हप्तौं भइसक्यो । उनीहरूको काम नगरी बस्ने मनसाय त थिएन । काम नपाएर नै उनीहरू हप्तौंदेखि डेरामै न्यास्रिरहेका थिए ।

उनीहरू मजदुरी गर्थे । तर बिना काम हातमुख जोर्न समस्या आइपर्दा उनीहरूलाई पिर प¥यो । चिन्ताले सतायो र निन्द्रा पनि खलबलिन थाल्यो ।

“ठेकेदार साहेबलाई फोन गर्नु न“ पत्नीचाहिँले जुगेलाई सल्लाह दिइ ।
“ठेक्कापट्टा छैन होला, भएको भए त फोन गरिसक्थ्यो नि ठेकेदारले..... ।’’

“बिरे र उसकी स्वास्नी त जान्थ्यो नि काममा । उनीहरू कम ज्यालामा काम गर्छन् अरे. ।’’

पत्नी चाहिँले सकसक पोखी । “हेर बूढा अचेल विभिन्न गाउँबाट थुप्रै मजदुरहरु शहरमा ओइरिरहेका छन् । कम ज्यालामा काम गर्नेहरु धेरै छन् रे अचेल ।“

पत्नीको कुरा उसलाई पनि हो जस्तो लाग्यो । बिरे दम्पती दिनका दिन काममा गइरहेको उसलाई पनि थियो । उसको मनमा खुलदुली मच्चियो ।
दिनप्रतिदिन मजदुरहरु वृद्धि भइरहेको उसलाई पनि थाहा नभएको कहाँ हो र ? मजदुरहरु अत्यधिक वृद्धिले गर्दा नै आफूहरुले काम गुमाउनु परेको अनुभूत भयो उसलाई । विगतमा त कामको लागि फोन गरी रहन्थे । अचेल त... ।

“ठेकेदार साहेबलाई फोन गर्नु न त ।’’ पत्नीले पुनः जोड गरी । “भोकभोकै बस्नुको सातो कम्ति ज्यालामा भए नि जाऔं न काममा.. ’’

“बजार भाउ झन्झन् बढ्दै छ, हाम्रो ज्याला भने झन्झन् घट्दै .. ।’’ खिन्न
भएर जुगेले भने ।

No comments:

Post a Comment