Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

 मासु

-रासा
गौरीघाट, काठमाडौँ 


ऊ पण्डित बाजे प्रातः भ्रमणबाट घर फिरिरहेका छन् । बाटामा जो–जो चिनेका मानिसहरू भेट्छन्, तिनीहरूसित भलाकुसारी गर्नु र भगवान्को टीका लगाइदिनु उनको दैनिकी बनेको छ ।

चौबाटोमा पुगेपछि उनको मन फेरिन्छ । उनी सरासर बजारतिर लाग्छन् । केही तरकारी खरिद गर्छन् । पछि मासु पसलतर्फ जान्छन् । त्यहाँ पुग्छन् र आधा के.जी. मासु किन्छन् ।

लगत्तै घर फर्किन्छन् । भान्सामा काम गरिरहेकी पण्डितनी बज्यैलाई मासुको पोको दिएर भन्छन् – ’ल, यसलाई राम्ररी पकाउनू !’

’के हो यो ?’ – पत्नीको जिज्ञासालाई साम्य पार्दै उनी बोल्छन् – ’मासु ।’
’के को मासु ?’ ’खसीको नि !’ पण्डितनी बज्यैले पोको खोलेर हेर्छिन् ।
’छ्या, यो त खसीको मासुजस्तो छैन !’ – उनीले मुख बिगार्छिन् ।
’खसीकै मासु हो, ठूलो खसीको के !’ – पण्डित बाजे हाँस्छन् ।
’म पकाउन सक्तिनँ, खाँदा पनि खान्नँ ।’ – उनी रिसाउँछिन् ।
’अस्ति तिमीले खाएको मम पनि ठूलो खसीकै त हो नि ! खूब मीठो मानेर खाएकी थियौ त ।’ – यति भन्दै पण्डित बाजे फेरि मुस्काउँछन् । उनी पत्नी भने मौन रहन्छिन् ।

No comments:

Post a Comment