बेपत्ता लडाकू
-डा. हिमलाल श्रेष्ठ
अश्राङ्ग, गोरखा हालः कटुन्जे, भक्तपुर
रसिला यता सुन त – 'गुरुकुलमा मार्क्स फर्किए रे, तिम्रो विजय फर्कने कहिले त खोई ?’ भाव गहिरो भएपनि अनुरागको मुहारमा हाँसो थियो ।
रसिला झसङ्ग भइन् – 'होइन, आज तिमीलाई के भयो ? पहिले कहिलै यसो भनेनौ । अन्तिम निर्णय माग्दासम्म तिमीले केही भनेनौ । खाली मेरो मुख मात्र हेरेर बसेउ । तिम्रो अनुहारको भाव हेरेर मात्र मैले निर्णय लिएको हुँ ।’
अनुराग बोले – ’हो, तिम्रो निर्णयमा मेरो पूर्ण समर्थन थियो । नबोलीकनै तिमीले मलाई बुझेउ ।’
'अनि अहिले किन त तिमी बितिसकेको कुरा सम्झदै छौ र मलाई झक्झकाउँदै छौ ?’
'मैले सुनितालाई सम्झनु र तिमीले विजयलाई सम्झनु एकै होइन र रसिला !’
'हो ! तर बितिसकेको कुरामा समय व्यतित गरेर, अब असम्भव प्रायः बनेको कुरामा मन्थन गरेर के नै गर्न सकिन्छ र ? के तिमीले मलाई अघि देखेपछि पनि सारा कुरा सम्झिरहेका छौ ?’
'त्यस्तो होइन, रसिला ! सुनिताको एउटा गर्विलो समाचार छ । उनले देश र जनताको लागि लड्दालड्दै युद्ध मैदानमा नै आफूलाई बलिदान गरेकी हुन् । त्यस पछाडि के भयो ? उनले देखेको सपनामा कसले कति न्याय गरे ? कसले उनको सपनाको खिल्ली उडाउने काम गरे । अनि कसले उनको साख राख्न सके । त्यो अर्को कुरा हो, त्यो समयक्रमले अवश्य बताउने छ । तर विजयको प्रसङ्गमा म अझै टोलाउँछु । अनिर्णयले मानिसमा कस्तो मनोवैज्ञानिक प्रभाव पारिरहेको होला भन्ने अनुमान गर्छु । ती परिघटनाहरु पछि धेरै उतारचढाव आइसक्यो । सत्तापक्ष प्रतिपक्ष र विद्रोही पक्षले सत्तारोहण गरिसके तर तमाम बेपत्ताहरुको प्रश्न निरुत्तरित नै छ ।’
एकाएक रसिला आक्रोशित भइन् – 'जवाफ कसले दिन्छ र अनुराग ! जसलाई परेको हो, उसैले मात्र बुझेको र जिम्मेवारी हुन्छ, दुःख खप्ने । मार्क्स मात्र फर्किएर हुन्छ । खोइ त लेनिन फर्किएका, खोई त माओ फर्किएका, फर्किएर इतिहासको मूल्याङ्कन गरे भने के होला?’
अझै थप्दै गइन् – 'यतिका वर्षसम्म पनि बेपत्ता, के हरि बिजोग हो यो राष्ट्रको, कसैले जिम्मेवारी लिनु पर्दैन । मानिसलाई आशाको त्यान्द्रोमा झुन्ड्याउनुको पनि हद हुन्छ नि ।’
–'के परिवारले आफ्नो हकअधिकार मागेको हो ? के उनीहरुले सत्ताको लालसा राखेको हो ? के उनीहरुले राज्यको विखण्डन मागेको हो ? उनीहरुले त केवल हराइरहेका आफन्तको खोजी गरेका होइनन् ?’
– 'यति अबुझहरुलाई यो देशको जिम्मा लगायो समयले ?’
प्रश्नहरुको यावत फेहरिस्तसँगै रसिलाका आँखाबाट विद्रोहको आँसु झरिरहेको देख्न सकिन्थ्यो ।
No comments:
Post a Comment