एकादेशको कथा-८
- रत्न प्रजापति
लोकन्थली, भक्तपुर
'बाटो बन्द छ ।’ पूर्वतिर बाटो छेकेर बसेको ट्राफिकले भन्यो ।
‘बाटो बन्द छ ।’ पश्चिमतिर बाटो छेकेर बसेको ट्राफिकले भन्यो ।
‘बाटो बन्द छ ।’ उत्तरतिर बाटो छेकेर बसेको ट्राफिकले भन्यो ।
‘बाटो बन्द छ ।’ दक्षिणतिर बाटो छेकेर बसेको ट्राफिकले भन्यो ।
सबैतिर बाटो बन्द छ । कहीँ जानलाई हतारिएर आएको एउटा युवकले मोटरसाइकल घ्याच्च रोकेर भन्यो, ‘सबैतिरबाट बाटो बन्द छ । त्यहाँ बीच बाटोमा के भइरहेको छ ?’
ट्राफिकले नम्रतापूर्वक भन्यो, ‘त्यहाँ आन्दोलन भइरहेको छ ।’
‘कसको आन्दोलन ?’ युवकले निकै उत्सुक भएर सोध्यो ।
‘विदेश जान खोज्ने युवाको ।’ ट्राफिकले उस्तै नम्र भएर भन्यो ।
‘हँ ?’ ऊ झस्कियो । ऊ पनि विदेश जानका लागि त्यहाँ दरखास्त बुझाउन जाँदै थियो ।
मोटरसाइकल एक ठाउँमा बिसाएर ऊ आन्दोलन भएतिरै गयो ।
‘हत्यारा सरकार मुर्दावाद ।’ यस्तो नारा उसले परैबाट सुन्यो । सुनेर ऊ झस्कियो । एकछिन् टक्क अड्यो र बाटो छेउको अग्लो घरको पेटीमा चढेर घाँटी तन्काएर हेर्यो । देख्यो, ‘धुवाँको मुस्लो उठिरहेको छ । एउटा गाडी जलेछ ।’
उसले मान्छेहरु कुरा गर्दै गरेको सुन्यो । त्यहाँ गोली पनि चलेछ । दुई जना ढलेछन् ।
उसले एउटा बुज्रुकले भन्दै गरेको सुन्यो, ‘विदेशमा गएर काम गर्छु । केही कमाउँछु र घरव्यवहारमा सघाउँछु भनेर देश छोड्न खोज्दै थिए बिचराहरु । सरकारले संसार नै छोडाइदिए ।’
ऊ टाउको समातेर थुचुक्क भुइँमा बस्यो ।
केही गरिखान्छु भनेर देश छोड्छु भन्नेलाई संसारै छोड् भन्छ यो देशको सरकारले ।
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment