Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

 बन्द प्रसङ्ग

-परशु प्रधान   


अहिले त म जेलमा छु । सबै जना मलाई माओवादी भन्छन् । तर माओवाद के हो ? मलाई थाहा छैन । जेलमा रमाइलै लाग्यो । कमसेकम घरको जस्तो बिहान बेलुकीको समस्या त छैन । एक पेट दालभात त खान पाइएकै छ । यो रमाइलो यसरी सुरु भयो । छिमेकीको घरमा बिहे थियो । सम्पन्न व्यक्ति भएकाले जाँडपानीको छेलोखेलो थियो । धेरै जाँड लागेपछि म कराएछु, ’भोलि सहर बन्द !’ त्यहाँका जँड्याहा साथीहरूले मलाई साथ दिए, ’भोलि सहर बन्द ! महँगीको विरुद्धमा सहर बन्द ।’ साँच्चै हिजो सहर बन्द भएको थियो । मानिसहरू डरले बिहानैदेखि ढोका बन्द गर्न लागेका थिए । प्रहरीहरू खुलाउने कोसिसमा थिए । ठाउँठाउँमा झडप पनि भए । यो खुसीयालीमा एउटा साथीले बिहानैदेखि चियाको सट्टामा लोकल खुवाइदियो । लोकलले बेस्सरी लागेर साँझपख हामी ३-४ जना सहरमा करायौँ, ’भोलि चक्काजाम ! खबरदार कसैले गाडी चलाउला !’ 

अचम्मै भयो । रेडियोले मुख्य समाचार दियो, ’आज अनाम चक्काजामको आह्वान स्थानीय प्रगतिशील युवाहरूले गरेका छन् ।’ नभन्दै हिजो सहरमा न ट्रक थियो, न बस, न अन्य साधनहरू । टाढाटाढा जाने यात्रीहरू अलमलमा थिए । ती सब त्यस रात लजहरूमा बस्न बाध्य भए । एउटा लजले हाम्रो हार्दिक स्वागत गर्‍यो - लोकलका केही बोतलले । त्यहीँ पत्रकारसँग भेट भयो । उसले हाम्रो आह्वानलाई सफल भयो भनी रिपोर्टिङ गर्‍यो ।

बस ! हामीलाई के थियो । रक्सीले मात्तिएर अर्को दिन हामीले रिक्सामा बसेर माइकबाट जोडतोडले फुकिदियौँ, ’यो सहर मात्र होइन, अब देश नै बन्द ! सारा यातायात बन्द ! भ्रष्टाचार, महँगीको विरोधमा सबै बन्द-बन्द !’


साँच्चै अचम्म भयो । हामी कसैलाई ठ्याम्मै विश्वास थिएन । अर्को दिन देश स्वतः बन्द भयो । हामी साथीभाइले एकआपसमा बधाईको आदानप्रदान गयौँ । अर्को साँझ अझ जोडले रक्सी धोक्यौँ । हाम्रो छलफलको विषय थियो- सधैँका लागि नेपाल बन्द गर्ने । कसैले केही गर्ने नपर्ने । जताततै आनन्दैआनन्द । त्यही आनन्दका बीच पक्राउ परियो र अहिले यहाँ जो छु ।


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment