Sunday, April 21, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

 पाँचहजार

- मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ   


''झण्डै मारेको बजियाले’’ वृद्ध दिनानाथ काम्दै गरेका हातले बाटोभरी छरपस्ट सामान टिप्दै भुत्भुताए ।

केही समय अघिदेखि उनी त्यो बाटोको छेउमा प्लास्टिक ओच्छाएर जडिबुटीहरु बेच्दै आएका थिए । आज एउटा केटोले चलाएको मोटरसाइकल उनको सामानमाथिबाट कुद्दा यो घटना भएको थियोे ।

बाटो पारीपट्टी रहेका ट्राफिक हवलदारले यो सबै घटना प्रत्यक्ष देखेका थिए । केही सोचेर उनले तत्कालै सञ्चारसेटमा खबर गरे । पाँच मिनेटभित्रै सेटबाट उनलाई सूचना आयो । उनी मोटरसाइकल लिएर, केटो गएको बाटो तर्फ घुईँकिए ।

तीनचार स्टप परको चेकपोस्टमा केटोको मोटरसाइकल ट्राफिक प्रहरीले समातेका रहेछन् । हवलदारले त्यहाँ पुगेर प्रहरीसँग केही खासखुस गरे अनि केटोलाई लिएर छेउतिर लागे । 

उनले केटालाई भने “हेर बाबु, बुढा पनि घाइते छन् र उनको सामान पनि सबै नोक्सान भएको छ । गल्ती गरिहाल्यौ, सजायँ त भोग्नैपर्छ अब । लाइसेन्स त छ नि !’’

“छ सर“ केटोले खल्तीबाट लाइसेन्स झिक्दै भन्यो ।

हवलदारले फेरि अत्याउँदै भने “लाइसेन्स भएपनि यस्तो घटनामा, सवारी र तिमीलाई प्रहरी चौकी लगेर थुनामा राख्नुपर्छ । बरु खुरुक्क दशहजार देऊ, म बुढालाई फकाएर कुरा मिलाउँला !’’ 

अन्ततः पाँचहजारमा सहमति भयो । केटोलाई छोडियो ।

केही समयपछि वृद्ध दिनानाथ आँखाभरी आँसु पारेर हात जोड्दै हवलदारसँग भन्दै थिए “यत्रो रकम ! यो त मेरो महिनाभरीको कमाईभन्दा पनि धेरै हो बाबु... ।’’

“भो, अब धेरै कुरा नगर्नुस् बा । खुरुक्क राख्नुस् यो ।’’ वृद्धको खल्तीमा जबर्जस्ती पाँचहजार घुसारिदिँदै हवलदारले भने ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment