Sunday, April 21, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

कुतूहल

- ध्रुवराज थापा  'पुरुष'
काभ्रे, पनौती हालः कपन, काठमाडौँ  


''ए हेर त, त्यहाँ को आएर बस्यो ? के पारा होला, कस्तो अचम्म !’’ मैलेसँगै बसेको साथीलाई मञ्चतर्फ सङ्केत गरे । 

“आयोजककै कोही आफ्नै मान्छे होला !’’ विपिनले भन्यो । कृति विमोचन कार्यक्रममा प्रमुख अतिथिले सम्बोधन गर्दै हुनुहुन्थ्यो । त्यो अपरिचित मान्छे कार्यक्रमकै बिचमा उद्घोषकले नबोलाईकनै प्रमुख अतिथिको सिटमा गएर बसेको थियो ।

हलका सबै मानिस मुखामुख गर्न थाले । उद्घोषकले कृतिका सर्जक र कार्यक्रमका सभाध्यक्षलाई अपरिचित मानिसको बारेमा साउती गरेर सोध्नुभयो । उहाँहरुले अनभिज्ञता जनाउनु भयो । एकैछिन सभाहलमा कौतुहलताको वातावरण सिर्जना भयो । प्रमुख अतिथिले आफ्ना कुराहरु राख्दै हुनुहुन्थ्यो । उक्त अपरिचित व्यक्ति सानकासाथ मञ्चमा खुट्टा हल्लाएर चारैतिर हेरेर बसिरहेको थियो ।

आयोजकले निमन्त्रणा नगरेको मानिस ठहर भएपछि, आयोजकमध्येका एकजनाले मञ्चमै गएर उनलाई बाहिरजानको लागि इसारा गरे । सुरुमा त्यहाँबाट जान आनाकानी गरेपनि त्यो अपरिचित पछि उठेर बाहिर गयो ।

मलाई झन कुतूहलता बढ्यो । सभाहलबाट बाहिर निस्केर रहस्यको खोजीगर्न थालेँ । त्यो अपरिचित बाहिर झोक्राएर बसेको थियो । अब उसैलाई वास्तविक कुरो सोध्छु भनेको त यता कुनामा मानिसहरु गाईंगुईं गर्दै थिए, “त्यो पनि सर्जक हो । उसको पहिलो कृति बिमोचनको दिनमा यही हलमा समालोकचहरुले उसलाई बेस्सरी झपारेको थिए । के लेखेको यस्तो ! अझै धेरैवर्ष मिहेनत गरेरमात्र किताब निकाल्नुस् । किताब निकाल्ने कुरा केटाकेटीको खेल हो र ! जस्ता तुच्छ शब्दले होच्याएर निन्दा गरेकोले उ त्यस्तो भएको हो ।’’

यत्तिकैमा मानसिक अस्पतालको गाडी आएर रोकिन्छ, “यो मान्छेले सारै दुःख दियो, खाली भागेको छ, भागेको छ ! कतिपल्टमात्र हामी यसलाई खोज्न यहाँ आउनु !’’ भन्दै अस्पतालका सुरक्षाकर्मीले उसलाई गाडीमा हालेर लगे ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment