Friday, April 19, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

 कार्ड

- लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही  


यात्रु प्रतिक्षालयमा सार्वजनिक बस आएर रोकियो ! बस पर्खनेहरुको भिड थियो । बलिया युवायुवतीहरु त ठेलठाल गरी बसमा चढे । एउटा खुट्टा नभएको, बैसाखी टेक्ने शारीरिक अशक्त शिव र जेष्ठ नागरिकहरुलाई भने बस चढ्न निकैबेर लाग्यो । उनीहरू बडा सकसले बल्लतल्ल बसमा उक्लिए ।

बसभित्र पनि भिडभाड थियोे । अशक्त र जेष्ठ नागरिकलाई छुट्याइएको सिटमा त युवायुवती पो आनन्दले बसिरहेका थिए ! यहाँ पनि निकै लामो तर्क बितर्कपछि मात्र उनीहरूले आफ्नो आरक्षित सिट भेट्टाए । बसका चालक, सहचालकका कर्कश हप्काइले यात्रुहरू पीडित भएर यात्रा गर्दै थिए । 

सहचालक भाडा उठाउँदै आयो ! फेरि पनि सहचालकको ओठबाट विवादको कर्कश ध्वनि निस्कियो । वृद्धवृद्धाले यत्ति भनेका हुन् , “हामी जेष्ठ नागरिक हौं । भाडामा सरकारले तोकेको सहुलियत देउ ।’’

अशक्त यात्रु शिवले पनि यत्ति भनेको हो, “म अशक्त हुँ, भाडामा छुट गर ।’’
सहचालक च्याँठ्ठिएर कर्कश स्वरमा बोल्यो, “कार्ड छ, कार्ड ?’’

वृद्धवृद्धाले त जेष्ठ नागरिक परिचयपत्र बोकेका रहेछन् देखाए । शिवले अशक्त परिचयपत्र बोकेको रहेनछ । सहचालक फेरि चर्कियो, “कार्ड बिना पाइन्न छुट !’’

“मेरो एउटा खुट्टा छैन ! यी हेर ! घुँडामाथि काटिएको ठूटो ! बैसाखी टेकेर हिँड्छु ! म शारीरिक अशक्त होइन ?’’

यतिखेर शिवको मनको आकाशमा आशङ्काको बादल मडारिन थाल्यो !

सहचालक भने अझै भन्दै थियोे, “तपाईंको खुट्टा होस् कि नहोस् ! मलाई के मतलब ! मलाई त कार्ड चाहिन्छ, कार्ड !’’


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment