Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

खोट

- ललिता 'दोषी'
बुद्धनगर, काठमाडौँ  


लघुकथा वाचन कार्यक्रममा थियो । लघुकथा वाचनपछि नजिकै बसेका साहित्यकारहरूले प्रकाशको लेखनशैली र वाचनशैलीकै निकै प्रशंसा गरे । वाचन सिद्धिएपछि विद्वान् ठहरिएका समालोचकले लघुकथाहरूको समीक्षा गर्न थाले । प्रकाशको कथामा उनले धेरै नै खोट देखाए । कार्यक्रम सिद्धिएपछि रामेश्वरीले भनिन्— “हामीलाई त तपाईंको लघुकथा साह्रै राम्रो लागेको हो । पात्र चयन, चरित्र चित्रण, व्यग्य, संक्षिप्तता, कौतूहल सबैले पूणर् छ कथा । यति हुँदाहुँदै पनि सरले धेरै नराम्रोसँग टिप्पणी गर्नुभयो । तपाईंको लघुकथामा होइन, उहाँको मनमा नै खोट रहेछ ।”

“हैन, गल्ती देखाइदिनु भनेको ‘गाडेको धन’ देखाइदिनुसरह हो भन्छन् ।  उहाँ त धेरै विद्वान् मान्छे । उहाँको मनमा पटक्कै खोट हुनै सक्दैन । अबदेखि लघुकथालाई बाईबाई गरिदिन्छु ।” प्रकाशले उत्तर दिए

यो लघुकथा एकपल्ट फेरि पढ्छु, भन्दै रामेश्वरीले लगिन् । केही दिनपछि रामेश्वरीको म्यासेज आयो । त्यो हेरेपछि प्रकाश तीनछक परे । धेरै दिनदेखि बन्द कपी, कलमलाई खोल्ने सङ्कल्प गरे । रामेश्वरीलाई लाखलाख धन्यवाद छ । तपाईं नै मेरो प्रेरणा पुञ्ज, मेरो लागि भगवान् हुनुहुन्छ भन्न भुलेनन् । रामेश्वरीले सुटुक्क त्यो लघुकथा प्रतिगोगितामा पठाइदिएकी रहिछिन् । खोट देखाएकै लघुकथाले ५९ जनालाई उछिनेर प्रथम भएको रहेछ । प्रकाशको कानमा रामेश्वरीका तिनै शब्दहरू नै ओहोरदोहोर गरिरहे — ‘कथामा होइन, जीवन सरको मनमा नै खोट रहेछ ।’

...साथ सहयोगको खाँचो

No comments:

Post a Comment