Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

प्रतिस्पर्धा

- लता के.सी
तीनकुने, काठमाडौँ   


"म्याउँ, म्याउँ !" बिरालोले चाल मार्‍यो । घर सुनसान देखेर लुसुक्क भित्र पस्यो । एक बटुका दूध चट् गर्‍यो । ऊ आफ्नो बाटो तताउँदै थियो । सुरक्षाको लागि बसेको कुकुरले लखेट्यो र झम्टिन थाल्यो । एकछिनको भिडन्तपछि बिरालो ज्यान जोगाएर भाग्न सफल भयो ।

केही बेरमा नै बिरालो त आफ्नो समाज बोकेर आयो । उनीहरू  कुकुरविरूद्ध  सडक आन्दोलनमा उत्रिए । नारा लगाउन थाले, "बलियो छु भनेर अरुलाई हेप्न पाईंदैन, पाईंदैन ।" 

कुकुर के कम ? आकाशतिर फर्केर कुईँ....य् गरेर के कराएको थियो, चारैतिरबाट कुकुर समाज भेला भयो । एकैछिनमा हेर्दा हेर्दै कुकुर बिरालोको ताण्डव सुरू भयो । बीच सडकमा भएको यो भिडन्तले सडक अवरूद्ध भयो । मानिसको भिड र गाडीको जाम तह लाउन प्रहरी आए । उनले लठ्ठीको भरमा खेद्ने प्रयास गरे ।

दुबै पक्षका योद्धाहरू ज्यान जोगाउन भाग्थे अनि एकैछिनमा फेरि आक्रमणको शैलीमा आइपुग्थे । प्रहरी हायलकायल भए ।

सुरूदेखि अन्तसम्म म घटनाको प्रत्यक्षदर्शी बनेको थिएँ । मलाई लाग्यो, "यी कुकुर बिराला त संसद भवन पसेका हाम्रा श्रद्धेय सदस्यभन्दा उग्र रै'छन् ।"

...साथ सहयोगको खाँचो

No comments:

Post a Comment