राम्रो मान्छे
- विनोद नेपाल
पोखराथोक, माडी, पाल्पा
निर्वाचन घोषणा भएदेखि नै उनी अलमलमा थिए । जस्लाई मत दिए पनि उस्तै, यतिका पटक मत दिइयो, जस्लाई दिएपनि उही चाल त रैछ आखिर !
उनी यसपटक फेरि उसैगरी घाम खाएर, लाम लागेर मतदान गर्न नजाने टुङ्गोमा पुग्नै आँटेका थिए साथीले फोन गर्यो, 'कतिखेर जाने त मतदान गर्न ? सँगसँगै जाउँला है, मलाई छाडेर नजानू ।’
'छोड् यार, म त यस्पालि दिन्न' उनले भने ।
'किन र ?' - साथीले प्रश्न गर्यो ।
उनले भने 'यतिका पटक दिएको के काम लाग्यो र ?, हिसाब गर्यो भने शून्य नतिजा, यसैले फेरि पनि के मत खेर फाल्नु बिनसित्ती'
'खेर त नदिँदा पनि त गयो नि हैन र ? त्यसैले जाउँ मत दिनुपर्छ, राम्रो मान्छे हेरेर दिनुपर्छ नि मत जस्तो कुरा हाम्रोलाई होइन' -साथीले भन्यो ।
उनलाई कुरो हो जस्तै लाग्यो ।
'ल आउ त सँगै जाउँ, बरु ढिलो नगरौँ' -उनले भने ।
मतपत्र हातमा परेपछि उनी वरपर, आफ्ना अघिपछिका मानिसहरू तर्फ आँखा दौडाउन थाले ।
उनी अलमलिइरहेकै थिए, साथी मतदान गरेर फर्कियो । सोध्यो "किन त ? अझैसम्म मतदान गरेका रहेनछौ त !’
उनले भने - 'पख न एकछिन् राम्रो मान्छे खोज्दैछु क्या, कोही भेटियो भने उसैलाई दिएर जाउँला !'
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment