Sunday, December 29, 2024

पुस्तक समीक्षा

 देशको चित्र र रामकुमार

घुकथाकार रामकुमार पण्डित क्षेत्रीको देशको चित्र नामक लघुकथासङ्ग्रह २०७९ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका अजङ्गको प्राणी, बोलबम, वेपत्ता, धर्म प्राप्ति, लाइक, कमिसन लगायत विभिन्न शीर्षकका ७२ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ७२ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । यस सङ्ग्रहभित्रको अजङ्गको प्राणी शीर्षकको पहिलो लघुकथामा हात्तीको निरन्तर अन्यायले त्यसको शरीर थिलथिलो भइसकेको थियो । शरीरमा झिंगा र भुसुनाहरु भन्किन थालेका थिए । आफ्नो सिक्किम नामको छिमेकीसँग जङ्गलमा घुम्दै आएकी मृगले यस्तो दृश्य देखेकी छु भनिएको छ । 

सङ्ग्रहभित्रका सबै लघुकथाहरू सवाल्टर्निक छैनन् । विषय र विचारगत विविधता रामकुमारका कथाहरूको विशेषता हो । आधुनिक ठग शीर्षकको लघुकथामा एकदिन महाभूकम्प गयो । कच्ची घर र गोठहरु सखाप भए । कतिपय असन्तुलित पक्कीघर पनि ढले । धेरैले जनधनको क्षति बेहोर्नुपर्‍यो भनेर रामकुमारले लेखेका छन् । रामकुमारका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीब्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरित मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरू हुन् । रामकुमारको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् ।

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अंग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरु छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरू यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार रामकुमारले मनन गरेका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । विसङ्गति, सामाजिक बिडम्बना, आर्थिक विपन्नता, बौद्धिक दयनियता, सांस्कृतिक विचलन जस्ता कुराहरूमा रामकुमारका लघुकथाहरूले व्यङ्ग्य गरिएको छ । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ । रामकुमारका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारित छन् । यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रुपमा पनि आएका छन् । 

नाकाबन्दी शीर्षकको लघुकथामा दक्षिणी दिशामा एउटा जमिनदार बस्दथ्यो । उसको बासस्थान वरिपरि आँखैले नभ्याउने उसकै जमिन थियो । जमिनको चारैतिर कुनाकुनामा सुरक्षार्थ नोकरचाकरहरू तैनाथ हुन्थे भनेर कथाकारले भनेका छन् । लघुकथाकारको व्यङ्ग्य चेत, सामाजिक चेत तथा समसामयिकता प्रशंसनीय छ । रामकुमारको लघुकथामा हाम्रो समाजको चरित्र स्पष्ट रुपमा देख्न सकिन्छ । यस सङ्ग्रहमा उनले उठाएका विषयवस्तु, जिम्मेवारी वोध र आफ्नोपनमा उनी अडिग छन् । 

सम्मान शीर्षकको लघुकथामा क नाम गरेको एकजना नामी विद्वानको अन्तर्वार्ता पत्रिकामा छापियो । उनले भनेका थिए देशकै धुरन्धर साहित्यकार श्री छप्रसादको उचित सम्मान राष्ट्रले गर्न सकेन भनिएको छ । रामकुमारका लघुकथाहरूले कुनै न कुनै सन्देश बोकेका छन्, लघुकथा पठनीय छन् । लघुकथा सिधै भावमा व्यक्त गरिन्न । यस अर्थमा कुनै कुनै लघुकथा दोहोर्‍याई, तेहर्‍याई पढ्नु पर्ने हुन्छ । यो विशेषता लघुकथामा हुन्छ नै । समष्टिमा भन्दा लघुकथाको मर्म जान्न चाहनेहरुका लागि समेत भित्ताका कान लघुकथा सङ्ग्रह मार्गदर्शकको रुपमा रहेको छ ।

यस कृतिभित्र सरल नेपाली भाषामा लेखिएका लघुकथा रहेका छन् । लघुकथालाई नेपाली भाषा साहित्यमा स्थापित लघु आख्यान विधाको रुपमा लिन सकिन्छ । लघु अर्थात् छोटो र कथ्य भएपनि यो छोटो कथा तर सानो आकारको कथा हुनु हो । आकस्मिक उठान र कौतुहलताले लघुकथामा सुनमा सुगन्ध थप्ने काम गर्छ । 

लघुकथामा कथानक विषयवस्तु यदि गहन छैन र वीज वाक्य पनि प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सकिएन भने लघुकथा फितला बन्छन् । सबल र प्रभावकारी लघुकथामा कथाको अन्तिम वाक्यलाई उपयुक्त शिल्पकला व्यङ्ग्यात्मक वा प्रतिकात्मक लगाएर प्रदर्शन गरिन्छ । यो नै लघुकथाको प्राण तत्व हो । लघुकथाका संरचनात्मक तत्वहरू आफ्नै प्रकृतिका छन् । तीजको दर शीर्षकको लघुकथामा तीज पर्व त भदौमा थियो । नेपाली महिलाहरूले साउनमै दर खान शुरु गरिसकेका थिए । उनलाई प्रमुख अतिथिको रुपमा सहभागी हुन भ्याईनभ्याई भनेर लेखिएको छ । यस लघुकथासङ्ग्रहभित्रको फुर्तिलो जीउ शीर्षकको लघुकथामा म मेरो जीउलाई आगोले नडढ्ने बनाउँछु । म मेरो जीउमा लेखिएका अक्षर नमेटिने बनाउँछु भनेर कथाकारले लेखेका छन् ।  

नेपाली साहित्यमा लघुकथाको आफ्नै विशिष्ट स्थान छ । आजको समयले लघुकथालाई झन् लोकप्रिय बनाएको छ । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्‌मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मतम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्‌लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment