पुस्तान्तरण
एउटा बूढो रुखलाई एकटक लगाएर हेरिरहेछु । त्यस्तो बन्जर र सुखा ठाँउमा यो बृक्षले कसरी यत्रो आकार लियो? मेरो मनमा प्रश्नहरु तेर्सिन्छन। सायद यसले ठुलै सङ्घर्ष गरेको हुनु पर्छ । हेर्छु, मुख्य काण्ड क्षत बिक्षत भएर मक्किन थालेको छ । ओहो ! यो त निकै पुरानो हुनु पर्छ। तर अझै यो ठिङ्ग उभिएको छ। ससाना बिरुवाहरू सायद यसैका बीचबाट उम्रेका होलान्, वरपर एक तमासले हुर्किदै गरेका छन। ती बिरुवाहरू भन्दैछन, "बा अब तिमी जाउ, हामी आयौ ।" बृद्ध वृक्ष सोध्दै छ, "अब तिमीहरूलाई मेरो संरक्षकत्व चाहिँदैन? तिमीहरू आफै उभिन सक्छौ?" सबै बिरुवाहरू एकै स्वरमा भन्छन, "सक्छौ ।" "कति कठिनले मैले यो उराठ भूमीमा आफूलाई जीवित राखेँ, अहिले तिमीहरू बस्न सक्ने बनाएँ, तिमीहरूलाई जन्माएँ, हुर्काएँ। कति सजिलै तिमीहरू मलाई लखेटन चाहान्छौ।" बृद्ध वृक्ष संयभित हुँदै भन्छ, "मेरो शरीर जिर्ण भयो म मान्छु, तर अझै म तिमीहरूलाई यहाँ लहलहाउँदै गरेको अनि तिमीहरू मेरै छहारीमा बसेको हेर्न चाहान्छु ।"
ती विरुवाहरू भन्दैछन, "यो प्राकृत सत्य हो कि समय अन्तरसँगै सबैले पुस्तान्तरण गर्नु पर्छ। अब तिमीले ढल्नु पर्छ र आउने सयौ बिरुवाहरूलाई खेल्न दिनु पर्छ । जब यहाँ थुप्रै बिरुवाहरू हुर्कनेछन, जङ्गल हुने छ। अनि मात्र सायद इतिहासले तिमीलाई सम्झने छ।"
***
माग
हत्तपत्त आफ्नो श्रृंगार कक्षबाट निस्केर आफ्नो गन्तव्यतिर बढिन् । अर्जुनलाई भेटिनासाथ उनको बाहुपासमा परिन् । उनलाई फेरि त्यस्तै आभास भयो, कसैले उनको पिछा गरिरहेको छ ? उनलाई भय पनि जाग्यो, लाज पनि लाग्यो ।
उनलाई त्यो अवस्थामा पाएपछि अर्जुनले बाहुपास खुकुलो पारे र सोधे,
"महारानी द्रौपदी , किन भयभीत ?"
श्रृंगार कक्षदेखि नै आफूलाई कसैले पिछा गरेको भान भएको कुरा उनले सुनाइन् । अर्जुनले पहिले त विश्वास गरेनन् र भने, "तिम्रो मनको शंका मात्रै हो।"
उनले विश्वस्त बनाउने प्रयास गरिन् । अर्जुन कुटीबाट बाहिर निस्के र चारैतिर हेरे। कुटीको मुलद्वारमा एउटा अजीवको वस्तु फेला पारे। निकै ओल्टाइ पल्टाइ हेरे। केही भेउ नपाएपछि उनले द्रौपदीलाई सोधे, "यो के हो? तिमीले यसलाई यहाँ राखेकी हौ?"
उनले अनभिज्ञता जाहेर गरिन् । अजुर्नले मनको भ्रम होला भन्ने ठानेर ढोका बन्द गर्न लागे । त्यसैबेला एउटा छाँया ढोकालाई स्वाट्ट नाघेर पर गयो। अर्जुनका तीक्ष्ण नजरबाट बच्न सकेन। फुर्तिला अर्जुनले च्याप्प समाते ।
"तँ को होस्?" अर्जुनले उसलाई सोधे ।
"म एक युट्युवर हुँ ।" त्यो मान्छेले नढाँटी जवाफ दियो।
"यो यन्त्र के हो?" अर्जुनले अघि फेला पारेको अजीव वस्तु देखाएर सोधे ।
"यो फोटो कैद गर्ने स्वचालित केमेरा हो?"
"किन यहाँ राखिस्?" अर्जुन निकै क्रोधित देखिन्थे।
"महारानी द्रौपदीको पाँच पतिसँग रहेर पनि कसरी कुमारी रहन्छिन् ? भन्ने रहस्य पत्ता लगाउन् ।" उसले रहस्योदघाटन गर्यो।
"तँलाई यो किन पत्ता लगाउनु पर्यो?" अर्जुन अझ कड्किए।
"आजका युवतीहरुको माग हो ।" उसले बतायो ।
***
किरण
"किन जानू बिदेश?" उमाले बोल्नु अगाडि रश्मीले सोधिन् ।
"पढेलेखेका मान्छेलाई बस्न लायक छैन, भन्छन् ।" चन्दाले आफूलाई लागेको कुरा गरिन्।
"अब हाम्रो देश संसारकै सबैभन्दा बस्न लायक मुलुक हुँदैछ। पढेका, बुझेका र इमान्दार युवाले काँधमा देश लिइसके।" रश्मीले भनिन्।
"कुरा चैँ आशावादी गर्यौ, काम पनि केही गर्छ्यौ कि?" चन्दाले प्रश्न गरिन् ।
रश्मीले जवाफ दिनु अघि आमा उमाले बताई दिइन्, "अहिले उनी संघिय संसदको सांसद हुन्।"
-लोकन्थली, भक्तपुर




No comments:
Post a Comment