Friday, April 3, 2026

लघुकथा (अङ्क ३३ मा प्रकाशित)


"ए रोपेको दिनदेखि म त हेर्न आएकी पनि थिइनँ । अहिले हेर्दा पो छक्क परेँ । पन्ध्र दिनमै हलक्क बढेर यत्रो भएछ– यो फूलको विरुवा !! अचम्म होइन त ?’’
दंग पर्दै रचनाले भनी ।

“ठूलो भएछ । खुशीको कुरा ।… तर यो अचम्मको विषय भने होइन । पर्याप्त चिस्यान भएको मलिलो माटोमा स्वस्थ्य बिउ नउम्रिनु र हलक्क नबढ्नु चै अचम्म हुन्थ्यो ।’’ दीक्षान्तले भने ।

उनी केही समयअघि मात्र भ्रष्टाचार विरोधी कार्यक्रममा सहभागी भएर भरखरै घर आइपुगेका थिए । दीक्षान्तको मन–मस्तिष्कमा कार्यक्रमको धङ्धङी मेटिइसकेको थिएन ।

“ठेकदारले अर्को नयाँ घर किनेछ है ।’’ दीक्षान्तले विषयान्तर हुँदै भने । फेरि थपे– “ठेकदारहरू आफूले कबोलेको पुल बनाउँदैनन् । बोलपत्र आह्वान भएका हरेक ठेक्कामा बोलपत्र हाल्न पनि छाड्दैनन् । टोलमा सबैभन्दा राम्रा घर उसैको हुन्छन्‌; नयाँ गाडी उनै चढ्छन् । सत्तामा रहेका मान्छेसँग उसैको हिमचिम हुन्छ । राजनीतिक दलहरू उनैलाई उम्मेदवारीको टिकट दिन्छन् । ठूला कर्मचारीहरू उसकै घरमा आउजाउ गर्छन् । ठेकदारले पुल नबनाएका कारणले वर्षौसम्म जुत्ता फुकालेर वारपार गर्ने अवस्थाका तिमीहामी पनि उसैलाई आदर गर्छौैं/मान्छौं ।’’

दीक्षान्त केही क्षण रोकिए ।

अनि फेरि भने– “भ्रष्टाचार बढ्न राम्रो होइन । भ्रष्टाचार धेरै बढ्नु पटक्कै राम्रो कुरा होइन । हामीकहाँ भ्रष्टाचार बढ्नु दुःखको कुरा; तर आश्चर्यको कुरा भने होइन । …भ्रष्ट सम्मानित हुने मलिलो समाजमा भ्रष्टाचार नबढोस् त ?’’

रचना र दीक्षान्त दुईजना मात्र थिए– फूलबारीमा ।
प्रसङ्गलाई पक्रेर रचनाले केही बोली मात्र दिए…
दीक्षान्त रचनाको प्रतिक्रिया सुन्ने धुनमा देखिन्थे ।

–बोझेपोखरी, ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment