घमण्डको अन्त्य
- सुरेशकुमार पाण्डे
दाङ घोराही १८
"मट्टितेल खन्याउ उता आगो निभ्न थाल्यो ।’’ –एकजना मलामीले भिमतिर हेर्यो र भन्यो । “भिमको हातमा मट्टितेलको बोतल थियो । ऊ केही नबोली मट्टितेल चितामा खनायो ।
धुवाँ टाढा टाढासम्म उडेको थियो । आगोको लप्का धुवाँको पछि पछि रमाइरहेको थियो । भिमको नजर एकोहोरो धुवाँ उडेको तिर नै थियो । उसले त्यो धुवाँमा केही दिन पहिलेको लख्खासँगको व्यवहार स्मरण गर्न थाल्यो ।
“भाइ नमस्ते !’’ – भिमले दुबै हात जोड्यो ।
“के कामले आएको ?’’ – लख्खा नमस्तेको उत्तर दिन चाहेन र उल्टै प्रश्न गर्यो ।
“एकताको संदेश लिएर आएका हौँ भाइ । हामी आफू जस्तै मिलेर बलियो संगठन बनाउने प्रयासमा छौँ ।’’ – भिमले झोलाबाट सदस्यता प्याड निकाल्न खोज्यो ।
“तिमीहरूको कुनै काम छैन कि क्या हो ? के गर्छ तिमीहरूको एकताले ?’’ – लख्खा कर्कट स्वरमा प्रश्नहरू तेर्सायो ।
हृष्टपुष्ट नौजवान ठूला र राता राता आँखा बलियो जिउडालको देख्दै डर लाग्ने । बोली भने अत्यन्तै रूखो । अरूलाई मानिस नै नठान्ने युवाको व्यवहारले भिम खिन्न भयो ।
“भाइ ! संगठन त मानिसको लागि अनिवार्य शर्त हो । जस्तै माछालाई पानी उत्तिकै मानिसलाई संगठन हुन्छ ।’’ –भिमले फेरी पनि सम्झाउन खोज्यो ।
“मलाई सिकाउन पर्दैन तिमीहरूले । आफ्नो संगठनका धाक कतै अन्त गएर लगाउ सझ्यौ ?’’ – लख्खाले यति भन्यो र आफ्नो बाटो नाप्यो । भिम अलिबेरसम्म ऊ जाँदै गरेको हेरिरह्यो जबसम्म अदृश्य भएन ।
“उता पनि हालौँ त मट्टितेल !’’ – उही व्यक्ति फेरी बोल्यो ।
भिम झसङ्ग भयो । उस्को ध्यान पुरानो कुराबाट हट्यो ।
“आगोले घमण्डको अन्त्य नगर्दै कहाँ छाड्छ र ?’’ – भिमले सुस्तरी भन्यो ।
---------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment