पुरुष हिंसा
- नवराज न्यौपाने 'मौन'
मातातीर्थ, बालागाउँ, काठमाडौँ
सदाझैं आज पनि ऊ बाबाको आश्रममा गयो । आज पनि शरीरभरि घाउ र चोटपटक देखेर बाबा अचम्ममा परे ।
– “बाबु, तपाईंले गृहस्थ जीवन नत्यागुञ्जेलसम्म कुटपिट र दुर्व्यवहारबाट मुक्ति नपाउने हुनुभयो । मैले त जम्मा पाँच वर्ष मात्र पुरुष हिंसा सहेको थिएँ ।’’ बाबाले कुरा बुझ्दै उसको तर्फ हेरेर भने ।
– “बाबाजी, मैले त १६ वर्षसम्म पुरुष हिंसा सहेर बसेँ । अब त बानी परिसक्यो । मलाई त श्रीमतीले कुटेको, गाडेको, थुकेको र दुर्वाच्य बोलेको पनि सामान्य झैं लाग्छ अचेल ।’’ उसले खुइ®या गर्दै भन्यो ।
– “रिस र अहंकार धेरै भएका व्यक्तिलाई अर्ति–उपदेश पच्दैन, सुझाव–सल्लाह पनि मन पराउँदैनन् । बुद्धि–विवेकलाई तिलाञ्जली दिएर आफूखुसी गर्न पाए मात्रै खुसी हुन्छन् । लोकले असल र इमान्दार ठहर्याएको व्यक्तिलाई पनि उनीहरू पापी र अपराधी देख्छन् ।’’ बाबाले आफ्नो भोगाइ सुनाए ।
– “बाबाजी, हजुरको र मेरो कहानी उस्तैउस्तै छ । फरक के छ भने, हजुरले मुक्तिको बाटो रोज्नुभयो, तर म भने भुक्तमान सहेर घरमै बसिरहेँ ।’’
– “तपाईं मुक्ति रोज्नुहुन्छ कि भुक्तमान ?’’ बाबाले सोधे ।
– ऊ केही बोल्न सकेन । एकछिन रोकिएर उसले बिस्तारै भन्यो, “बाबा, आज म यहीँ बस्छु है !’’
– “किन एक दिन मात्र ? सधैं बसे पनि हुन्छ नि !’’ बाबाले हाँस्दै जवाफ दिए ।
– “आज मेरो विवाहको अठारौँ वर्षगाँठ हो । अरू दिनभन्दा वर्षगाँठको दिनमा उनले बढी शारीरिक र मानसिक यातना दिन्छिन् ।“ उसले रुन्चे स्वरमा जवाफ फर्कायो ।
---------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment