Thursday, February 27, 2025

अन्तर्वार्ता (अङ्क २१ मा प्रकाशित)


श्रीओम श्रेष्ठ  'रोदन' मूलतः निबन्धकार हुन् । नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा वहाँले विशिष्ट योगदान दिइ सक्नु भएको छ र यसै क्षेत्रमा निरन्तर क्रियाशील रहि आउनु भएको छ । कविता, निबन्ध, लघु कथा, नियात्रा जस्ता विधाहरूमा थुप्रै कृतिहरू नेपाली साहित्य भण्डारमा दिइसक्नु भएको छ ।

२०१९ कार्तिक ११ गते ललितपुरको झम्सिखेलमा जन्मिनुभएका वहाँले स्थानिय टीका विद्याश्रमबाट एसएलसी पास गर्नुभएको थियो भने श्रेष्ठले सर्टिफिकेट पढ्दापढ्दै गर्दा नेपाल बैंकमा खरदार पदमा जागिर खानुभएका श्रेष्ठ सुब्बा पदमा बढुवा भए पनि ४८ सालपछि जागिर छोडेर साहित्य लेखन र पत्रकारितातर्फ सरिक हुनुभएको हो ।

वहाँले ३४/३५ सालतिर नाटक लेख्ने, निर्देशन गर्ने र खेल्ने गर्नुहुन्थ्यो । साहित्य यात्रा ३६ सालमा पहिलो कविता पत्रिकामा छापेपछि लेखनलाई निरन्तरता दिंदै ४५ सालमा पहिलो पुस्तकका रुपमा ललिता कवितासङ्ग्रह प्रकाशित गर्नुभएका वहाँको हालसम्म १९ वटा विविध विधाका पुस्तकहरू प्रकाशित छन् । 

थुप्रै पत्रपत्रिका/पुस्तकहरूको सम्पादन गरिसक्नुभएका श्रीओम श्रेष्ठ रोदन राष्ट्रिय अखवार गोरखापत्र दैनिकको प्रधान सम्पादकजस्तो महत्वपूर्ण पदमा रहेर कार्य गरिसक्नु भएको छ । 

श्रीओम जीले लघुकथाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले झन्डै १७/१८ वर्ष अघि 'लघुकथा समाज'को स्थापना गर्नुभयो । यो समाजको संस्थापक अध्यक्षको रुपमा हालसम्म सक्रिय हुनुहुन्छ ।

विभिन्न राष्ट्रको भ्रमण गरिसक्नुभएका श्रीओम श्रेष्ठले दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गर्नु भएको छ । उहाँसँग लघुकथा संसारले गरेको छोटो कुराकानी ।

------------------------------------------------------------------------------------------------------------

अहिले लेखिएका/छापिएका लघुकथाहरूका सकारात्मक पक्ष के कस्ता छन् र हुनु पर्छ जस्तो लाग्छ ?

श्रीओम : अहिले लघुकथाकारहरुमा निकै उत्साह बढेको छ । यो नै सबैभन्दा सकारात्मक पक्ष हो । अहिलेका लघुकथाहरु धेरैजस्ता सामाजिक परिवेशका समसामयिक छन् । यी लघुकथाहरुले आजको समय र सन्दर्भलाई प्रतिनिधित्व गरेको छ । साहित्यमा शब्दहरुलाई चित्रात्मक रुपमा उतार्नसक्नु सिर्जनाको सफलता मानिन्छ । 

मलाई त आज लेखिएका लघुकथाहरु जहिले पढ्दा पनि सान्दर्भिक बनिरहने होस् जस्तो लाग्छ । सधैँका लागि हुनसक्ने लघुकथा नै कालजयी बन्ने गरेका छन् ।

लघुकथाको इतिहासलाई संक्षेपमा कोट्याउनु पर्दा के कसरी सम्भव छ ?

श्रीओम : नेपाली साहित्यमा लघुकथाको इतिहासको बारेमा धेरै कुरा आइसकेको छ । सार्वजनिक भएका तथ्यभन्दा फरक केही नयाँ भइसकेको जस्तो लाग्दैन । भविष्यमा थप तथ्यहरु आउनसक्लान् । इतिहासमा सम्भावनाको ढोका सधैँ खुला रहेको हुन्छ । लघुकथा समाजको गठन गर्दाताका लघुकथाको वारेमा बताइरहनुपर्थ्यो अहिले त्यस्तो स्थिति छैन । कतिपय अग्रज र स्थापित स्रष्टाहरुले लघुकथालाई साहित्य होइन भनेर सार्वजनिक मन्चमा समेत बोल्ने गरिन्थ्यो अहिले त्यस्तो भन्नसक्ने हिम्मत कसैमा छैन ।

त्यतिबेला लघुकथाको कुनै अभिलेख पनि थिएन । धेरैपटक गरिएका कार्यक्रम र गोष्ठीहरुबाट नै एक किसिमको आधार तयार भएको थियो । अहिले लघुकथाको उन्नयनमा धेरै संस्थाहरुबाट निरन्तर काम भइरहेका छन् । यो निकै उत्साहवर्धक भएको छ । नेपाली साहित्यमा पहिलो लघुकथा कसले कहिले लेखियो भन्ने अझै स्पष्ट हुनसकेको जस्तो लाग्दैन । भविष्यमा यसको पनि पुष्टि हुने नै छ ।  

कमजोर पक्ष अथवा अब लघुकथाका थप चुनौतीहरू के–कस्ता होलान् जस्तो लाग्छ ?

श्रीओम : अहिले लघुकथाकारहरुको सङ्ख्या बढिरहेका छन् । सङ्ग्रह प्रकाशनका सङ्ख्या पनि बढिरहेका छन् । यो लघुकथा क्षेत्रको लागि निकै उपलव्धिको कुरा हो । तर सङ्ख्या मात्र साहित्य हुँदैन र यसले त्यसको स्तरियताको मापन गर्न सक्दैन । लघुकथालाई जसरी परिभाषित गरिएको छ त्यसभन्दा फरक सन्देश नजाओस् भन्नेतर्फ सचेत हुनु जरुरी छ । कुनै पनि एउटा घटनालाई लघु संरचनामा लेखेपछि लघुकथा हुँदोरहेछ भन्ने गलत सन्देश पाठकमा नजाओस् भन्ने नै अहिलेको चुनौती भएजस्तो लाग्छ । 

कथा/लघुकथा र जीवनदर्शनलाई दाँजेर कसरी हेर्नुहुन्छ ?

श्रीओम : साहित्य र जीवन देखिनेजस्तो गरेर भन्दा नदेखिने गरेर एकआपसमा प्रतिविम्बित भएका हुन्छन् । जीवन भोगाइका यथार्थ दर्शनहरु नै साहित्यमा आउने सिर्जना हुन् होइन र ?

यहाँको विशेष विधा के हो र किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?

श्रीओम : कुनै समय रहरले कथा, कविता लेखिन्थ्यो । पत्रपत्रिकामा नाम छापिन्छ भनेर लेखिन्थ्यो । अब आएर लेख्नु त आवश्यक्ता र वाध्यताजस्तै बनिसकेको छ । आफूलाई, आफ्नो अनुभव र अनुभूतिलाई अभिव्यक्त गर्ने माध्यम बनिसकेको छ । त्यसैले नलेखेर बस्नै सक्दिन । लेख्न त उपन्यासबाहेक सबै लेखेको छु तर पनि निबन्ध र लघुकथालाई साहित्यिक समाजले अलि बढी पत्याएको जस्तो लाग्छ । 

कविता र कथामा तात्विक भिन्नता के कस्ता हुन्छन् ? केही खुलाई दिनुहुन्छ कि ?

श्रीओम : विधागत दृष्टिले पनि काव्य र आख्यान फरक हन्छन् । स्वरुप र संरचनाले पनि फरकै हुन्छ । तर सिर्जनात्मक दृष्टिले भने प्रस्तुत गरिने विषय र अनुभूति एकै हुनसक्छ । 

अहिले कविता, कथा र दर्शनलाई बुझेर लेख्ने वा रहरले लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउने स्रष्टा भनाउने चलन असाध्यै बढेर गएको छ । यसलाई कसरी लिनुभएको छ ?

श्रीओम : अहिलेको समय प्रविधिमैत्री समय हो । यसले गर्दा सामाजिक सन्जालमा जसले पनि जुनसुकै क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउन सक्छन् । साहित्यिक क्षेत्रसँग हामी नजिक भएकाले यस क्षेत्रमा रहर गर्नेहरु बढी देखिरहेका हौँ । अरु क्षेत्रमा पनि त्यस्तै नहोला भन्न सकिँदैन ।

कुनै समय समाजमा लेखक कविलाई जसरी लिइन्थ्यो अहिले त्यस्तो अवस्था छैन । लेखक कवि भनेपछि समाजमा एक किसिमको प्रतिष्ठा बढेको छ । साहित्यिक सिर्जनामा लागेका मानिसहरु तुलनात्मक रुपमा खराब हँुदैनन् भन्ने भाष्यको विकास भएको छ । विभिन्न उच्च पदमा पुगेका र प्रतिष्ठा कमाएका स्रष्टा व्यक्तित्वहरु अरुजस्ता बदनाम भएका छैनन् । साहित्यिक व्यक्ति हो भनेपछि समाजमा हेर्ने दृष्टिकोण फरक भएकोले पनि सामाजिक सञ्जालमा कथा, कविता लेख्नेहरुको सङ्ख्या बढेको हो कि ?

वर्तमान कविता, लघुकथा लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?

श्रीओम : अहिले आफू बाँचेको समाजको यथार्थ र मान्छेमाथि केन्द्रित भएर लेख्ने प्रवृत्ति बढिरहेको छ । अहिले कुनै पनि विषयमा परिकल्पना गरिएका सिर्जनाभन्दा सत्यलाई आधार बनाइएका सिर्जनाको बढी सम्मान हुने गरेको छ । 

विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्‍याउन के गर्न सकिएला ?

श्रीओम : सबैभन्दा पहिला त राम्रो लेख्नुपर्छ । लेखनको विषय वा सन्दर्भ वैश्विक हुनुपर्छ । त्यसपछि अङ्ग्रेजी र अन्य भाषामा अनुवाद गरेर मात्र भन्दिन राम्रो अनुवाद गरेर विश्व बजारमा पुर्‍याउने काम गर्नुपर्छ । सरकारी तवरमा यस्तो काम सम्भव हुँदैन । यदि हुनथाल्यो भने राम्रा लेखकका नाममा पार्टीका लेखक र नेताका नजिकका लेखकहरु मात्र हावी हुनेछन् । त्यसैले यो काम निजी क्षेत्रबाट नै हुनुपर्छ ।  

अन्त्यमा सोध्न छुटेका र भन्न बाँकी केही मन्तव्य भएमा के भन्न चाहनु हुन्छ ?

श्रीओम : साहित्य साधनाको पवित्र क्षेत्र हो । यस क्षेत्रमा आउनेहरुले हतार गर्नु हुँदैन । साहित्यमा धैर्य गर्न नसक्नेहरु निश्चित उद्धेश्यका लागि मात्र आएजस्ता हुन्छन् । वर्तमान समयमा सामाजिक सन्जाललाई साहित्यिक दृष्टिले सकेसम्म सदुपयोग गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment