लघुुकथाकार डा. हरिप्रसाद भण्डारीको समयको स्पन्दन नामक लघुकथासङ्ग्रह २०८१ मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका सेतो कौवा, प्रवृत्ति, अन्तर्वार्ता, जुत्ता, मित्रता, आफ्नो मान्छे लगायत विभिन्न शीर्षकका ७० वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ७० वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको सेतो कौवा ! शीर्षकको पहिलो लघुकथामा "संसदमा हाम्रो बहुमत हुँदाहुँदै यिनीहरुको यत्रो फुर्ती ? उनले मनमनै कुरो खेलाए । यो मेरो मात्रै होइन हाम्रो पार्टीकै बेइज्जती हो’’ भनिएको छ ।
जुत्ता शीर्षकको लघुकथामा घोप्टो परेको जुत्ता केही माथि थियो उसले भन्यो, तँ पाजीभन्दा म माथि छु देखिनस् भनेर भण्डारीले लेखेका छन् । मित्रता शीर्षकको लघुकथामा सर्पको सहयोग र सदाशयता देखेर भ्यागुतो दङ्ग पर्यो । जिब्रो फड्कारेर फट्याङ्ग्रो समातेर मुखमा हालेको छ । सानो आकार र आयाममा अभिव्यञ्जित जीवनको कुनै एउटा विषय अनुभूति र घटनाको प्रकटित रुप नै लघुकथा हो ।
अलिकति भोगाइ, अलिकति सुनेको अलिकति देखेको घटनाले मनमा जगाएको विभिन्न किसिमका भावनालाई डा.भण्डारीले अक्षरमा उन्दै गएका छन् । कथाकार भण्डारीले प्रायः लघुकथामा आकार र प्रभावकारितालाई ध्यान दिएका छन् । उनको विशेषता हो कुनै विषय वा घटना देख्नासाथ त्यसलाई लघुकथाको विषय बनाइहाल्नु । कथाकारले ससाना घटना भोगाइ र सन्दर्भलाई लघुकथामा उतारेका छन् । त्यस्ता विषयलाई उनी सरल र सीधा संरचनामा प्रस्तुत गर्छन् ।
यस सङ्ग्रहभित्रका लघुकथाहरु सत्यका नजिक छन् र चोटिला छन् । वर्तमान सामाजिक, राजनीतिक, धार्मिक विषयका लघुकथाहरु नै सङ्ग्रहमा छन् । यही कारण पाठकले यो लघुकथासङ्ग्रह पढेर नजिकबाट आत्मसात गर्न सक्ने विश्वास गर्न सकिन्छ । समाजमा हुनेगरेका क्रियाकलाप र त्यही हुने गरेका विकृति र विसङ्गतिलाई पनि लघुकथाकारले केलाउन सकेका छन् ।
यस सङ्ग्रहमा रहेका लघुकथामा ऊ, म र हामीहरु पत्रका रुपमा राखिएका छन् । कही ऊ अजयका रुपमा, कहीं काले र खैरे बिरालाका रुपमा त कहीं ऊ सर्प, भ्यागुता र जुत्ताका रुपमा उपस्थित छ । दृष्टिकोण शीर्षकको लघुकथामा साँझ सञ्चारमाध्यमबाट मन्त्री मण्डल पुनर्गठन भएको र घनश्याम मन्त्री भएको खबर प्रसारण भयो । त्यसपछि बधाई दिन उनै छिमेकीहरु घनश्यामको घरमा लाम लागेका छन् ।
यसभित्रको चङ्गा शीर्षकको लघुकथामा चङ्गा एक्लै बोल्यो, अब म मानिस बिना पनि उड्न सक्छु अनि ऊ धागो चुँडाएर अलग भयो । चङ्गा उडाउने मानिस निराश भएर घर फर्कियो भनेर लेखिएको छ । छोरो शीर्षकको लघुकथाभित्र तर, आँपको बोट कतै गएन । हामीसँगै छ । आँगनको डिलमा उभिएर हाम्रो सुख, दुःख हेर्छ वर्षको एकचोटि मिठा फल र गर्मीको बेला शीतल छहारी दिन्छ भनेर डा. भण्डारीले लेखेका छन् । यस सङ्ग्रहभित्रका लघुकथा पढ्दै जाँदा व्यङ्ग्य र त्यसैसित घुलित भएर अभिव्यक्त मन्द हास्यले सहृदयी पाठकको मनलाई मुसुक्क हसाउँछ र चसक्क घोच्छ ।
यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकारले मनन गरेका छन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्संदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन ।
छोरीको चिन्ता शीर्षकको लघुकथामा म उठेर बाहिर निस्किँदा बेहारी आँगनमा सङ्गीतको तालमा उफ्रदै थिइन् । उनका कानमा एयर फोन थियो । पसिनाले अनुहार निथु्रक्क भिजेको थियो । मलाई देख्नासाथ कानबाट तार बाहिर निकाल्दै उनले भनिन् गुड मर्निङ बुबा भनेर लेखिएको छ । छापा शीर्षकको लघुकथामा गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्यो । जताततै खोज्यो तर खोजेको वस्तु कतै भेटिएन । गलत सूचना दिएछ । कहिलेकाहीँ त्यो पनि बौलाउँछ । यसो भन्दै प्रहरीहरु चौकीतिर फर्किए भनेर डा. भण्डारीले लेखेका छन् । सुख र सकारात्मक संसार निर्माणको पहलमा यो लघुकथासङ्ग्रहले अग्रगमी विचार पस्केको छ । वास्तवमा लघुकथा लेख्नु निकै जोखिमको विषय हो ।
लघुकथा आख्यानको लघुत्तम वा सूक्ष्म विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार डा. भण्डारीको अन्य कृतिहरु पनि प्रकाशित भएर हामीहरुले पढ्न पाउने आशा गर्दछु ।
– बूढानिलकण्ठ, माथिल्लो पासिकोट, काठमाडौँ
---------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment