Sunday, October 26, 2025

साभार लघुकथा (अङ्क २८ मा प्रकाशित)


घरमा मुसाहरूको जगजगी अति नै बढेर गयो ।
खानेकुराहरू केही बाँकी राखेनन् ।

पुराना कपडाहरू त काटे–काटे; खुल्ला दराजका सर्ट, पाइन्ट, कुर्ता–सुरुवाल, स्वीटर, साडी… केही पनि सद्दे छैनन्, कहीं न कहीँ, कतै न कतै काटिदिएकै छ मुसाले ।

–  'यसबाट बच्ने उत्तम उपाय के हुन सक्छ ?’
मुसा–आतङ्कले अति नै उग्र रूप लिएपछि परिवारका सदस्यबीच बहस भयो– 'के गर्ने ?’

र, निष्कर्ष आयो–  'एउटा बिरालोको अनिवार्य उपस्थिति ।’
संयोग मिल्यो ।

बेला–बेलामा वल्लो–पल्लो घरको कौसीतिर देखिने गरेको एउटा दुब्ले बिरालो सो प्रयोजनका लागि सही हुने सोचाइअनुरूप एउटा थालमा शुद्ध दूध–भात घरको कौसीमा राखियो ।

नभन्दै, दूध–भातको व्यञ्जनलाई आफ्नै निमन्त्रण बुझेर बिरालोज्यूको पदार्पण भयो ।

एक थाल दूध–भात पड्काइसकेपछि बिरालोले सोच्यो– यो घरकाले मलाई कहिल्यै दूध–भात दिएका थिएनन् । आज दिए ।… अब कर्तव्यपरायण त हुनै पर्‍यो ।

बिरालोले तत्काल त्यो घरको एउटा मुसा मारिदियो र आफ्नो बाटो लाग्यो ।

भोलिपल्ट बिरालोले त्यो घरको कौसीमा फेरि देख्यो थालमा उसै गरी दूध–भात । सोच्यो यो पनि उसकै लागि हो । त्यसैले अघिल्लो दिन सरासर गएर दूध–भात हजम गयो र फेरि अर्को मुसा मारिदिएर आफ्नो कर्तव्य पूरा गयो ।

पूरै एक हप्तासम्म यो क्रम चल्यो ।

अन्ततः मुसाको चालचुल सुनिन छाड्यो त्यो घरमा ।

अर्को एकदिन !
बिरालोले त्यो घरको कौसीमा हेर्‍यो ।

आश्चर्य ! सधैँझैँ रहने दूध–भात भरिएको थाल थिएन त्यहाँ ।
’म्याउ… ।’ कौसीमा पुगेर बिरालो बोल्यो । तर, कतैबाट कुनै प्रतिक्रिया आएन ।

बिरालोले बारम्बार दोहोर्‍याइरह्यो– ’म्याउ… म्याउ… !’ अर्को क्षणमा अचानक घरमालिक देखियो । यतिबेला उसको हातमा थियो एउटा बडेमानको लठ्ठी । 

र, बिरालोतर्फ लठ्ठी उज्यायो घरमालिकले– ’तँलाई… जेमराज ।’


..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment