Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


"आमा… आमा…!"

सुमित्रा लामो समयपछि माइत आएकी थिई । प्रेममा परेर घर छाडेको धेरै वर्ष भैसकेको थियो । उसले चारैतिर आँखा दौडाइन्, भित्तामा टाँसिएको पुरानो परिवारको फोटोमा दृष्टि अड्याइन् ।

“आमा, भाइले घरजम गर्‍यो कि नाइ?’’

आमाले आँखाभरि आँसु पार्दै भनिन्, “बुहारी ल्याएको धेरै भयो, नातिनातिना पनि छन् । तर ऊ अहिले सहरतिरै बस्छ । यो बुढेसकालमा हामीलाई स्याहार्ने कोही छैन । तिमीले पनि सानैमा हामीलाई बिर्सेऊ !’’

सुमित्राको मनमा विगतका तिता सम्झनाहरू चलचित्रझैँ आउन थाले । उनले छेउमा बसेका बाबातिर हेरिन्‌– 'सेतै फुलेको कपाल, च्यातिएको दौरा, ओइलाएको अनुहार, थकित शरीर ।’

उसले झ्यालबाट बारीतिर हेर्दै पीडामिश्रित स्वरमा भनिन्, “म त साँच्चै गौरवशाली रहेछु, आमा ! विवाहपछि तपाईंहरूले मसँग माइतीको नाता तोड्नुभयो । उता श्रीमान्‌को बन्धनले जकडिएको थिएँ । अनि एक दिन उनले पनि "तिमी स्वतन्त्र छौ’ भन्दै सम्बन्धविच्छेदको कागज थमाइदिए।"

बाबाले दीर्घ सास फेरिँदै भने, “समयले कस्तो खेल खेलेछ, छोरी ! हामीले तिमीलाई बुझ्न सकेनौँ, तिमीले हामीलाई ।’’

सुमित्राले आमाको आँखामा आँखा जुधाइन्। “बन्धन नै बन्धन थियो, आमा। तर अहिले लाग्छ, ती सबै बन्धनबाट मुक्त भएकी छु । अब भाइले नहेरे पनि म बाआमाको सेवा गर्नेछु, ’’मलाई अब कुनै बन्धनले रोक्न सक्दैन ।’’

सुनसान घरभित्र पहिलो पटक उज्यालोको झिल्को परेझैँ भयो । आमा निःशब्द थिइन् । बाबाले शिथिल हात अगाडि बढाए । सुमित्राले ती हात समाउँदै आफू सधैँको लागि फर्किएको अनुभूति गरिन् ।

- ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment