(२) वैचारिक प्रतिबद्धताको अभावको चित्रण
नेपाली लघुकथा रचनामा नेपाली राजनीतिकर्मी आफ्नो वैचारिक पक्षप्रति कमजोर बन्दै गएको अवस्थालाई अध्ययनको विषय बनाइएको छ । एक निश्चित विचार, दर्शन बोकेर राजनीतिमा प्रवेश गरे पनि त्यस अनुकूलको आचरण नगरेको, जनताको पक्षमा सही किसिमले नलागेको कारण राजनीतिकर्मी आलोचित बन्दै आएका छन् । नेपाली लघुकथामा नेपाली राजनीतिमा देखिएको वैचारिक स्खलनलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । यसै सन्दर्भमा वैचारिक विचलन प्रस्तुत गर्ने क्रममा हरिगोविन्द लुइटेलको हवस् त लालसलाम, सुमन सौरभको मातृभूमि, रवीन्द्र समीरको बलिको बोको; विनयकुमार कसजूको हलीको फोटो, सीताराम नेपालको योग्यताको कदर एवम् रञ्जन घिमिरेको राजनीति लघुकथालाई प्रस्तुत गरिएको छ :
(क) यसको लगत्तै मैले विभिन्न जिल्लामा रहेका हाम्रा मतियारहरूलाई यो फर्मुला रिले गरें–“हलो ! गणेशजी, भगवान्जी, गोपालजी, कृष्णजी, रामजी वा लछुमनजी । यहाँ केशवजी र मेरा बिच कुराकानी भएर राम्रो योजना बनेको छ । तपाईंहरू पनि हाम्रै बाटोमा हिँड्नुहोला । घुस, बलात्कार र अपराधहरू छोप्न ॅयता’ वा ’उता’ लागिहाल्नु होला । “तिमीहरू बलात्कारी हौ“ भनी एउटाले तपाईंलाई आरोप लगायो भने भन्नु – “हाम्रो राष्ट्रवादी लाइनमाथि धावा बोलिंदै छ ।” अर्काले आरोप लगायो भने भन्नु– “हाम्रो प्रजातान्त्रिक अडानमाथि प्रहार हुँदैछ ।“ 'यता’ ले किचकिच गर्यो भने ’उता’ हाम्फाल्नु ’उता’ले किचकिच गर्यो भने ’यता’ हाम्फाल्नु (लुइटेल. २०५६ : ९)।
प्रस्तुत अंशमा नेपाली राजनीतिकर्मीको वैचारिक प्रतिबद्धताको अभावलाई विषय बनाइएको छ । नेपाली राजनीतिमा पचासको दशकयता वैचारिक प्रतिबद्धतामा देखिएको विचलनले राजनीतिक अवसरवादिता बढाएको सन्दर्भ लघुकथामा व्यक्त छ । यस लघुकथामा प्रजातन्त्रोत्तर कालको नेपाली राजनीतिक क्षेत्रको वैचारिक विचलनका घटना एवम् अवसरवादी प्रवृत्तिप्रतिको आलोचनात्मक अभिव्यक्ति आएको छ ।
(ख) ऊ ठ्याक्क आवाज आएकै ठाउँमा पुग्यो र त्यहाँको दृश्य देखेर बहुलायो । आमा सर्वाङ्ग नाङ्गै थिइन् । मातृभूमिलाई आमाका रूपमा परिचय गराउनेहरू आफ्ना मित्रहरूको साथमा तिनै आमाको बलात्कारमा लीन थिए । उनीहरूलाई हौस्याउने केही विदेशी अनुहारहरू वरिपरि उफ्रिदै ताली बजाइरहेका थिए (सौरभ. २०६५ : ७६)।
प्रस्तुत अंशमा राजनीतिकर्मी देशप्रति प्रतिबद्ध नभएको र उनीहरू वचन र कर्मका बिचमा असङ्गति भएको कुरालाई व्यक्त गरिएको छ। लघुकथामा देशको जिम्मा लिनेले देशलाई लुछेको, देशप्रति प्रतिबद्ध नभएको कारण विदेशी हस्तक्षेप बढेको पाइन्छ । लघुकथामा देशको कारुणिक अवस्थालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । देशको हितभन्दा व्यक्तिगत हितमा लाग्ने कामले देश र जनताप्रतिको प्रतिवद्धता हराउँदै गएको अवस्थाबोध गरिएको छ। लघुकथामा स्वार्थी र मतलबपरस्त क्रियाकलाप, चिन्तनको प्रतिनिधित्व सत्तामा पुगेका राजनीतिक समूहले गर्दै आएको सन्दर्भमा उनीहरूको यस्तो क्रियाकलापलाई प्रस्तुत गरिएको छ, यस्ता कार्यले नेपाली माटो र मन दुवै छियाछिया भएको यथार्थलाई व्यक्त गरिएको छ । लघुकथामा वैचारिक प्रतिबद्धताको कमीका कारण उत्पन्न सांस्कृतिक दासतालाई प्रस्तुत गर्नाका साथै त्यस कार्य विरुद्धको चेतनालाई सशक्त किसिमले देखाइएको छ ।
(ग) “नेताजी वियरको चुस्कीमा मस्त थिए । घाइतेले आत्तिएको स्वरमा भन्यो– नेताजी !’’ हाम्रा सबै साथीहरू मरणासन्न स्थितिमा छट्पटाइरहेका छन् । तुरन्तै हिँडनुस् न नेताजी ! नेताजी घुटुक्क वियर निल्दै कड्किए– “तिमी यहाँ किन आएको ? तुरुन्त गइहाल ! ज्यानको माया गरेर हुन्छ ? म त नेता हूँ, नेता । दायाँबायाँ भयो भने भोलि देश चलाउने कसले ? आजसम्म राजनीति गरेको बलिको बोको हुन हो र?’’ (समीर. २०५३ : ११)।
यस अंशमा राजनीतिक सङ्घर्षका क्रममा घाइते भएका आफ्ना कार्यकर्ताको अवस्थाप्रति बेवास्ता गर्ने, आफ्ना कार्यकर्ताको आवाज नसुन्ने र मदिरापानमा मस्त राजनीतिकर्मीको कार्यलाई प्रस्तुत गरिएको छ । यस लघुकथामा आफ्नो पार्टी, सङ्गठन एवम् कार्यकर्ताको हितभन्दा व्यक्तिगत लाभको पक्षमा लाग्ने, आफ्नो विचारको रक्षाका लागि कार्य गर्न नसक्ने राजनीतिकर्मीको कार्यको आलोचना एवम् व्यङ्ग्य प्रस्तुत छ ।
(घ) “मैले त फोटो रोजिसकेकी छु’’ मन्त्रीनीले मस्किँदै भनिन् । “खै कुन फोटो रोज्यौ ?’’ मन्त्रीले उत्सुक हुँदै सोध्यो । मन्त्रीनीले त्यही बाह्र वर्ष अघिको फोटो एल्बमबाट झिकेर ल्याइन् र मन्त्रीको हातमा राखिदिइन् । फोटो देखेर मन्त्री झस्क्यो । “के भनेकी तिमीले ? त्यस्तो फोटो पनि छाप्न हुन्छ । चिन्नेले के भन्लान् ?’’ “यो फोटो हजुरको हो भनेर अब कसैले पनि अनुमान गर्न सक्दैन । यदि कसैले थाहा पाएर प्रचारै गरे पनि यसबाट हजुरलाई नै फाइदा हुन्छ । अर्को चुनावको प्रचार यही फोटोले गर्छ ।’’ मन्त्रीनीको सुझबुझ देखेर मन्त्रीको अनुहार उज्यालो भयो (कसजू. २०५७ : १५२)।
यस अंशमा वर्तमानमा वर्ग परिवर्तन भइसकेको राजनीतिकर्मीले आधारभूत वर्गको साथसहयोग र समर्थन लिएर निर्वाचनमा विजय हुने आकांक्षा राखेको र उसको यही आकांक्षालाई मलजल गर्ने पत्नीको कार्यलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । आफ्नो वर्गप्रति इमानदार नहुने, वर्गीय हितमा कार्य नगर्ने तर निर्वाचनका बेला आधारभूत वर्गको साथ समर्थनका लागि पूरानो फोटो प्रयोग गर्ने मन्त्री पात्रले राजनीतिक लाभका लागि आफ्नो हली अवस्थाको फोटोको उपयोग गरेर चुनाव जित्न खोजेको छ । लघुकथामा मन्त्रीलाई गलत क्रियाकलापमा मन्त्रीनीले साथसहयोग दिएको पाइन्छ । यस रचनामा वर्गीय पक्षधरता गुमाएको एक पूर्वहलिया एवम् वर्तमानको मन्त्रीको राजनीतिक एवम् वैचारिक विचलनलाई कुशलतापूर्वक प्रस्तुत गरिएको छ ।
(ङ) पछिल्ला अन्तर्वार्ताको अघिल्लो दिन मेरा नेताले मलाई फोन गरेर भने– 'पार्टी हाइकमाण्डले तपाईंको सिफारिस रद्द गर्यो । यतिबेला नवप्रवेशी नेता फटिकलालको छोरालाई सिफारिस गर्नुपर्ने भयो ।’ (नेपाल. २०७४ : ४२)।
यस अंशमा पार्टीमा प्रतिबद्ध व्यक्तिलाई भन्दा नवप्रवेशीका छोराको सिफारिश गर्ने राजनीतिक नेतृत्वको गलत क्रियाकलापलाई प्रस्तुत गरिएको छ। लघुकथामा राजनीतिक नेतामा विचारप्रतिको प्रतिबद्धताभन्दा पनि वैयक्तिक स्वार्थ रहेको अवस्थाबोध गरिएको छ । नेताको प्राथमिकतामा प्रतिबद्ध कार्यकताभन्दा नवप्रवेशी पर्नुले नेतामा प्रतिबद्धताको अभाव देखिन्छ ।
(च) ठिक त्यसै बेला निरङ्कुशतन्त्रका अतिवादीमध्ये एकलाई हाम्रा नेताले सहिद परिवार भन्दै पार्टीमा भित्र्याएर निर्वाचनका निम्ति केन्द्रीय जिम्मेवारी दिएको घोषणा गर्दा सभाहलभरि मुर्दा–शान्ति छायो । केही भरौटे र नयाँ जिम्मेवारी प्राप्त मण्डलेलाई अबिर लगाउँदा मुर्दा–शान्तिका बिच केही भरौटे, मण्डलेहरू सिट्ठी सुसेल्दै छन् र “…. कमरेड जिन्दावाद !’’ को नारा घन्काउँदै छन् । (घिमिरे २०७६ : ६९)।
यस अंशमा राजनीतिक लाभका लागि फरक खाले वैचारिक आधार भएका राजनीतिक कार्यकर्तालाई पार्टीमा हुलेर महङ्खवपूर्ण जिम्मेवारी दिएको सन्दर्भलाई प्रस्तुत गरिएको छ। लघुकथामा विचारप्रतिको निष्ठाभन्दा दैनिक राजनीतिको लाभहानिलाई प्रमुखता दिइसकेको छ । विजातीय तङ्खवलाई पार्टीमा जिम्मेवारी दिनु, भरौटे, मण्डले सिट्ठी सुसेल्नु र कमरेड जिन्दावाद भन्नुले राजनीतिमा हुलतन्त्र भित्र्याएको देखिन्छ । यहाँ राजनीतिमा निष्ठाको अभाव, विचारप्रतिको प्रतिवद्धतामा कमी, स्वार्थजन्य क्रियाकलापलाई प्रस्तुत गरिएको छ । माथि प्रस्तुत रचनामा नेपाली राजनीतिक क्षेत्रका विकृत परिवेशको उद्घाटनको साथै विकृति र विसङ्गतिविरोधी चेतना सशक्त किसिमले व्यक्त भएको छ ।
(३) पदीय लालसा एवम् मर्यादाको अभावको प्रस्तुति
नेपाली लघुकथामा राजनीतिक नेताको पदीय लालसालाई कथ्यगत सन्दर्भका रूपमा प्रस्तुत गरिएको छ । उनका लघुकथामा राजनीतिक नेतृत्वले पदमोह देखाउँदा त्यसको असर कार्यकर्ता एवम् जनतामा पर्ने स्थितिलाई प्रस्तुत गरिएको छ । यी लघुकथामा पदका लागि मरिहत्ते गर्ने, पदको मर्यादा नराख्ने कार्यका आलोचनाका साथै व्यङ्ग्यात्मक चेतना प्रस्तुत भएको छ । जनताको नेताका रूपमा रहेको व्यक्ति सत्तामा पुगेपछि जनताको पक्षमा भन्दा आफ्नो स्वार्थ सिद्ध गर्न लाग्दा देश र समाजले भोग्नुपरेको नोक्सानीलाई समेत यी रचनामा व्यक्त गरिएको छ ।
जनताको बलले सत्तामा पुगे पनि जनताको अपमान गर्ने कार्यले उनीहरूलाई जनताको नजरमा गिराउने गर्दछ । यहाँ मुक्तिनाथ घिमिरेको राजनैतिक प्राणी, गोरखबहादुर सिंहको अमृत मन्त्रीका भाञ्जा पर्दैनन्, कुसुम ज्ञवालीको माग एवम् नारायण मरासिनीको पार्टी प्रवेश लघुकथालाई पदीय लालसा एवम् मर्यादाको अभावको प्रस्तुतिका लघुकथा रचनाका केही तथ्याङ्कहरूलाई तल प्रस्तुत गरिएको छ :
(क) अन्ठाउन्न वर्षीय कामरेड विक्रान्तले आफ्नै घोषणालाई लगौंटी लगाउँदै पार्टीको महाधिवेशनमा सर्वोच्च पदका लागि उम्मेदवारी दर्ता गराए । पत्रकारहरूले उनलाई उनको घोषणा स्मरण गराउँदा उनको कथन थियो– 'मान्छे राजनीतिक प्राणी भएकाले राजनीतिबाट अलग हुन नसकिने रहेछ । वास्तवमा जब उनलाई विदेश भ्रमण, शान सौकत, आयआर्जन र प्राप्त प्रतिष्ठा र सम्मानको सम्झना भयो, उनले आफ्नो घोषणा स्मरण गर्नु आवश्यक नै ठानेनन्’’ (घिमिरे. २०६६ : ४६)।
यस अंशमा निश्चित कालखण्डपछि आफू पद छोड्ने घोषणा गरेको नेताले महाधिवेशमा आएर पहिले भन्दा पनि उच्च पदका लागि दावा गरेको सन्दर्भलाई प्रस्तुत गरिएको छ । देश र जनताको हितका लागि राजनीति गर्ने नेताले आफू आजीवन पदमा रहिरहेको र पदमोह देखाएको अवस्थालाई प्रस्तुत गरिएको छ। यस लघुकथामा राजनीतिक नेतृत्वमा रहेको पदमोहप्रति व्यङ्ग्य गरिएको छ ।
(ख) “थुक्क तेजप्रसादजी, एकै दिन ढिला भयो । हिजो मात्रै आउनुभएको भए पनि फरक नपर्ने ।’’ मन्त्रीज्यूका मुखबाट फुत्कन प्रसङ्ग पर्खिरहेको थियो । त्यति बेला मन्त्रीले सुनेको र तेजप्रसादले सुनेको एउटा खबर के थियो भने तेजप्रसादले बोकेको रिक्त दरबन्दीमा मन्त्रीज्यूले हिजो साँझ टेलिफोनबाट पठाएको नियुक्ति बोकेर मन्त्रीज्यूका कान्छा भान्जाले दसै बजे विद्यालयको हाजिरी पुस्तिकामा हाजिर जनाइसकेका थिए (सिंह. २०६१ : ११४)।
यस लघुकथामा सामान्य स्कूलको शिक्षकमा पनि आफ्नो आफन्त भर्ना गराउने नेताको क्रियाकलापको चर्चा गरिएको छ । जनआन्दोलनका घाइते अपाङ्ग व्यत्तिलाई भन्दा आफन्तलाई प्राथमिकता दिने उनको कार्यले उनले पदीय मर्यादा कायम गर्न नसकेको अवस्थालाई बोध गरिएको छ । यस लघुकथामा राजनीतिक नेतृत्वको अपरिपक्व र मर्यादाहीन कार्यप्रति आलोचना व्यक्त गरिएको छ ।
(ग) संसदमा जानुअघि दारी सरले ज्यामी, किसान र हलीहरूका घरको बिचल्ली सम्झे । सबै बेघरवारलाई घर दिलाउने आफ्नो अभियान सम्झेर उनको मनमा विद्रोहको राँको बल्यो । स्वास्नी, छोरा र साथीका कुरा पनि आँखा अगाडि फनफनी घुमे । संसदमा उनले जोडतोडले चिच्याएर भने, 'सांसदलाई घर सुविधा दिनुपर्दछ ।’ (ज्ञवाली. २०६० : २०)।
प्रस्तुत अंशमा जनताको सुविधाभन्दा पनि व्यक्तिगत लाभलाई प्राथमिकता दिने सभासदको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । जनतालाई सुविधा दिने बाचा गरेपनि आफ्नो राजधानीमा घरवास जोड्ने कार्य गरेको पाइन्छ । जनताको हितभन्दा पनि आफ्नो हितलाई प्राथमिकता दिने कार्यले उनमा जनताप्रतिको प्रतिबद्धता कम रहेको अवस्थाका साथै उनको कार्यप्रति आलोचना भाव व्यक्त गरिएको पाइन्छ ।
(घ) कार्यक्रम स्थलमा पुगेर ऊ जनयुद्धका घाइते, अपाङ्ग एवम् बेपत्ता परिवारका लागि व्यवस्था गरिएको अगाडिपट्टिको कुर्चीमा बस्यो….. उसका आँखा मञ्चतिरै एकोहोरिए । प्रमुख अतिथिका रूपमा उपस्थित पार्टीका अध्यक्ष कमरेडले नवप्रवेशी कमरेडहरूलाई रातो टीका लगाएर हात मिलाए । उपस्थित समूहबाट तालीको गडगडाहट आयो । उही पुरानो सुराकी गाविस अध्यक्षको निधारमा टल्केको रातो टीकामा दृष्टि पुर्याउँदै उसले विगतमा काट्नुपरेको हात सम्झेर शिर झुकायो (मरासिनी. २०७१ : ६८)।
यस अंशमा विगतमा जनयुद्धमा लागेको मानिस खुला राजनीतिमा आएर अपमानित भएको अवस्थालाई प्रस्तुत गरिएको छ । लघुकथामा विगतमा पार्टीको विरोधमा लागेर सुराकी गर्ने मानिस पार्टीको उच्च तहमा पुगेको अवस्थालाई प्रस्तुत गरिएको छ ।
(४) जनता र कार्यकर्ताको बेवास्ता गर्ने नेताको चित्रण
नेपाली लघुकथामा राजनीतिक नेताले जनता र कार्यकर्ताको बेवास्ता गरेको घटनाको प्रस्तुति पाइन्छ । शक्ति आर्जनका लागि उपयोग गरिएका मानिस पदप्रतिष्ठाको प्राप्तिसँगै मूल्यहीन मानिन्छन् । यस अध्ययनमा नेपाली राजनीतिक वृत्तमा जनता र कार्यकर्ताको बेवास्ता गर्ने कार्यको आलोचनाका साथै व्यङ्ग्य गरिएको छ । यस अध्ययनमा हरिहर पौडेलको सेता दाँत, रमेश भट्टराई 'पुजारी’को कारबाही, गोपाल ढकालको सत्य कुरा, त्रिलोचन ढकालको लोकतन्त्र, हरि खनालको क्षतिपूर्ति, एवम् नारायणी पौडेल खनालको विभेद लघुकथालाई साक्ष्यका रूपमा प्रस्तुत गरिएको छ :
(क) कार्यक्रम चलिरहेकै समयमा चिया आइपुग्यो । नेतालाई अप्ठ्यारो पर्यो खाऊँ भने आजसम्म चोखोनीति गरेर बसेको सबै स्वाहा ! नखाऊँ भने जनताले प्रश्न गरिहाल्छन् । एकान्तमा भए त ठिकै थियो, कसैले थाहा पाउने थिएन, यत्रो सार्वजनिक सभामा, भोलि जिल्लाभरि फिजिन्छ । निकै सोचेर चिया ल्याउने कार्यकर्तालाई उनले भने– 'मैले चिया त खाने गरेको छैन, बरू दूधको व्यवस्था भयो भने….।’…. 'अब अबेर गर्नु ठिक छैन’ सोचेर मञ्चमा नजिकैको कुर्चीमा बसेको स्थानीय नेतालाई सुटुक्क भने– 'पेट बटार्यो । यस्सो ट्वाइलेटतिर जानुपर्यो, साहै च्याप्यो ।’ त्यसपछि उनी एक कार्यकर्ताको पछिपछि राहत अनुभव गर्दै सभास्थलबाट बाहिर निस्के (पौडेल. २०६२ : ४१)।
प्रस्तुत लघुकथामा जातीय समानताका लागि सहभोजको आयोजना भएकोमा नेताजीले चियाखाजा नखाएर गएको अवस्थालाई प्रस्तुत गरिएको छ । यस लघुकथामा नेताले एकातिर जातीय समानता र सहभोजमा पक्षमा भाषण गरे पनि त्यस अनुकूलको व्यवहार नगरेको सन्दर्भलाई व्यक्त गरिएको छ । नेपालमा राजनीतिक परिवर्तन आए पनि समाजमा जातीय विभेद कायम रहेको र सो विभेदका कारण जनताले दुःख पाएको अवस्थालाई प्रस्तुत गरिएको छ । लघुकथामा दलित जनताको अपमान गर्ने र उनीहरूको बेवास्ता गर्नेको आलोचना गरिएको छ ।
(ख) त्यही मञ्चबाट नेताहरू कराउन थाले, “अब पहिलेका मण्डलेहरू सबैलाई कारबाही हुन्छ ।’’ धेरै नेताहरूले यही कुरा दोहोर्याए । धेरैका थुकका छिटा लिखेका अनुहारभरि उछिट्टिदै थिए । तैपनि लिखे सुनिरहेको थियो । उसले छेउको मान्छेसँग बुझ्ने प्रयास गर्यो– “कहिले कस्ले कस्लाई कारबाही गर्छ ?’’ एउटा स्थानीय नेताले लिखेका कुरा सुनिरहेको रहेछ । राता राता आँखा पारेर जङ्गियो “कहिले कस्लाई भन्ने तँ को होस् तँ यस्ता कुरा गर्ने ? पख अब तँलाई कारवाही हुन्छ’’ (भट्टराई, २०६८ ६३)।
प्रस्तुत अंशमा भाषण गर्ने नेताले सामान्य जनताको जीउमा बुकका छिटा फालेको, उसले नेताको भाषण नबुझेर सोध्दा स्थानीय कार्यकर्ताले धम्की दिएको सन्दर्भलाई प्रस्तुत गरिएको छ। यस लघुकथामा राजनीतिक नेता कार्यकर्ताले आफू मात्र जान्नेसुन्ने भएको र जनतालाई भेडा सम्झेर गलत व्यवहार गरेको सन्दर्भलाई व्यक्त गरिएको छ । नेपालमा राजनीतिक परिवर्तन आए पनि केही राजनीतिक नेता–कार्यकर्ता वर्गमा सामन्ती सोच रहेको अवस्थाबोध गरिएको छ ।
(ग) हरिप्रसाद मन्त्री हुनुभन्दा पहिला गाउँमा छँदा धनवीरेले धेरै वर्षसम्म उनको सेवा गरेको थियो । लामो समयपछि मालिकलाई देख्न पाउँदा ऊ ज्यादै खुसी भयो । उसको चाउरी परेको अनुहारमा आशाका रेखाहरू कोरिए । ऊ हतपत उठेर उनको खुट्टामा ढोग्न पुग्यो । हरिप्रसाद आफ्नै धुनमा थिए । उनी ऊसँग ठोकिएर लड्न पुगे । हरिप्रसाद रिसले आगो भए । उनले आफ्नो गार्डलाई हकार्दै भने– “यो गोबर मेरा अगाडि कसरी आयो ? यसलाई हटा र पर लगेर फ्याँकी दे ।’’ गार्डले उसलाई घिसार्दै लग्यो (ढकाल. २०६२ : ६)। यस अंशमा गाउँमा आफ्नो सेवा गर्ने व्यक्ति भेट्न आउँदा नराम्रो व्यवहार गर्ने मन्त्रीको गलत क्रियाकलाप आएको छ । यस लघुकथामा पूरानो नोकरलाई गोबरको संज्ञा दिनु, उठाएर फ्याँदिन भन्नुले त्यस पात्रप्रतिको चरम घृणा एवम् आक्रोशलाई प्रस्तुत गरिएको छ ।
(घ) लोकतन्त्रमा प्रधानमन्त्रीदेखि रैतीले पालन गर्नुपर्ने एउटै कानुन हुन्छ भनेको सुनिएको छ । यहाँ रैतीलाई मात्र कारबाही गर्ने कुरा सुनाइयो । प्रधानमन्त्री र सल्लाहकारहरूमाथि लागु हुने कानुन खोइ त ? (ढकाल. २०७८ : ३२)। यस अंशमा प्रधानमन्त्री र तिनका सल्लाहकार कानुनभन्दा माथि रहने गरेको र तिनले देश र जनतालाई दमन गरेको सन्दर्भलाई व्यक्त गरिएको छ । लघुकथामा शासक वर्गमा रहेको सामन्ती मनोवृत्ति एवम् जनता र कार्यकर्ताको अपहेलना गर्ने प्रवृत्तिको आलोचना गरिएको छ । लघुकथामा देशमा लोकतन्त्र आइसकेपछि पनि देश र जनताप्रति सामन्ती व्यबहार गर्ने राजनीतिक नेता, मन्त्रीको गलत चिन्तन एवम् क्रियाकलापको आलोचना गरिएको छ ।
(ङ) आमसभाको हुल पन्छाउँदै एक वृद्ध नेताजीको छेउमा आएर भने– “क्षतिपूर्ति दिलाउने क्रममा एउटा पूरानो काम पनि गरिदिनुपर्यो हजुर । हजुर गृहमन्त्री हुँदा मारिएको मेरो निर्दोष भतिजोको क्षतिपूर्ति अहिलेसम्म पाएको छैन । त्यो काम पनि एकैचोटी होस्’’ (खनाल. २०७४ : १४)।
यस अंशमा अन्यायमा परेका जनतालाई न्याय दिने कुरामा राजनीतिक नेताले काम नगरेको अवस्थाबोध गरिएको छ । लघुकथामा एक वृद्धले आफ्नो भतिजाको आन्दोलनका क्रममा भएको मृत्युको क्षतिपूर्ति पाउन माग गरेर नेतालाई स्मरण गराएका छन् । लघुकथामा राजनीतिक नेताले आश्वासन मात्र दिने, जनताको काम नगने प्रवृत्तिको आलोचना गरिएको छ ।
(च) 'अमीरबाबुले कसैलाई ठुला कसैलाई साना सम्झेर भोजमा हाम्रो महङ्खव कम भएको देखाएपछि हजुरहरूले पनि भोट दिँदा जे पायो त्यही गर्दिन हुन्छ नि ।’ सुयशलाई छोराले पनि नेताज्यूको विभेद व्यवहार बुझेकोमा छक्क लाग्यो (पौडेल खनाल. २०७६ : ९०)।
यस अंशमा विवाहको पार्टीको कार्ड वितरणमा विभेद गर्ने राजनीतिक नेताको क्रियाकलापको आलोचना गरिएको छ । लघुकथामा जनता र कार्यकर्तामा विभेद गर्ने राजनीतिक नेताको कार्यप्रति आक्रोश भाव व्यक्त भएको छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment