Sunday, March 1, 2026

व्यक्तित्व (अङ्क ३२ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार अनिता तुलाधर (२००७–) देखा परेकी हुन् । उनको पहिलो कथा हो 'मेरो मनको धोको’ (सं. २०२४) जुन 'कस्तुरी’ पत्रिकामा प्रकाशित भएको थियो । स्नातकोत्तर उपाधि प्राप्त गरेकी उनको अभिरुचि साहित्यिक पत्रकारितामा पनि रहेको देखिन्छ । उनी सं. २०२८ मा पाटन कलेजद्वारा आयोजना गरिएको अन्तर कलेज कथा प्रतियोगितामा प्रथम भएकी थिइन् । उनी 'रत्नश्री स्वर्णपदक’ (सं. २०३४), 'लोकप्रिया पुरस्कार’ (सं. २०५६) का साथै 'प्रतिभा पुरस्कार’, 'नइ रेखा पुरस्कार’, 'जलरिका बुद्धि–रेशम स्रष्टा सम्मान’ आदिद्वारा सम्मानित भइसकेकी छिन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् : 

१. फूलु (सं. २०३४ : लघुकथासङ्ग्रह),
२. रित्तो सहर (सं. २०३५),
३. सूर्यग्रहण (सं. २० ४०), र
४. विडम्बना (सं. २०४६) ।

लघुकथाकी सर्जक अनिता तुलाधरले विसङ्गत जीवनका विभिन्न रूपका सन्दर्भहरू दिएकी छिन् । उनी मानव जीवन निराशा, कुण्ठा, असन्तुष्टि र पश्चात्तापपूर्ण देख्दछिन् । मान्छेले आफ्नो अन्तर्मनभित्र केवल पिर र व्यथाहरू मात्र भरिएको कारणले बाहिर प्रकृतिमा समेत कुनै सौन्दर्य देख्दैनन्, देख्दछन् भने मात्र वेदना र रोदन :

हृदयको वरिपरि, आँखाको पर–घरसम्म केही छैन, कोही पनि छैन । केवल आफूलाई अग्लिरहेझैँ लाग्ने अग्लाअग्ला पहाडहरू छन् अनि टाकुराहरू छन् । मुटुमा अत्यासलाग्दा वातावरणहरू जन्मिदिन्छन्, हुर्कन्छन्, साथै बिलाइदिन्छन् … ।

…. सुनौलो प्रकृतिमा नरमाइला भोक, प्यासहरू रुमल्लिरहेका छन् … । आफूभित्र कताकता लागिदिन्छ – आँसुले पगालेर यो घाउलाई मेरो मुटुमा गाँसेर लैजाऊँ । लम्पसार परेर रहेका बाँझा खेतहरूलाई सिँचाइका दुई कोस्रा ओठहरूले चुमिजाऊँ जस्तो । म केही गर्न सक्तिनँ । तैपनि मुटुमा पीर र व्यथा लागिरहन्छ । यो कस्तो जलन ! अप्ठ्यारा गोरेटाहरूमा पनि बाधा बनेर झाँगिएका झारहरू । केवल झारैझारमा अल्झिएका क्षणहरू । ('आउँदै गरेका क्षणहरू’ कथाहरू)

उपर्युक्त उद्धृतांशमा उल्लिखित 'मुटुमा अत्यासलाग्दा वातावरणहरू’, 'सुनौला प्रकृतिमा नरमाइला भोक, प्यासहरू’, 'आँसुले पगालेर यो घाउ’, 'अप्ठ्यारा गोरटाहरूमा पनि बाधा बनेर झाँगिएका झारहरू’ र 'झारैझारमा अल्झिएका क्षणहरू’ जस्ता पदावलीहरूले मान्छेको विसङ्गत जीवनका दुखाइहरूलाई विभिन्न बिम्ब र प्रतीकहरूका माध्यमद्वारा प्रकट गर्दछन् । कथाकार अनिता तुलाधरले आफ्नो 'रुखो बगर’ लघुकथामा पनि जीवनको अर्थहीनता र निस्सारतालाई यसरी व्यक्त गरेकी छिन् :

म त एउटा बगर हुँ रामु ! त्योभन्दा बढी त म कहिल्यै केही हुन नै सकिनँ, उजाड मरुभूमि जस्तै एउटा रुखो बगर … तिमी केटाकेटीको जस्तो एकोहोरो जिद्दी लिएर यो रुखो बगरको वरिपरि आइरह्यौ … तिमीले आफ्ना हृदयमा निश्चय गरेर म कहाँ आउन छोडेको दिन म धुवाँ र आगो निलेर हाँस्ने प्रयास गरुँला ।

यसको अर्थ के हो भने दुःख, कष्ट, वेदना र पीरहरूसँग मान्छे सम्झौता गर्न बाध्य छ अर्थात् जीवन भनेको नै दुःख, कष्ट आदिको पर्याय हो । यही कारणले यस कथाकी पात्र भन्छे, “तिमीले आफ्नो हृदयमा निश्चय गरेर म कहाँ आउन छोडेको दिन म धुवाँ र आगो निलेर हाँस्ने प्रयास गरुँला ।“ यति मात्र नभएर ती पात्र के पनि भन्छे भने “मलाई तिमी नआउँदा काँडाले घोचेको रमाइलो अनुभव हुन्छ … । 'आउँदै गरेका क्षणहरू’ कथाका पात्र पनि ठान्दछन् 'तर आफूलाई त अत्यासलाग्दा क्षणहरू नै मिठा भइदिन्छन्, रमाइला भइदिन्छन् ।“ प्रतिकूलतालाई स्वीकार गरेर त्यसमा जीवनको अस्तित्वको खोजी गर्नु नै विसङ्गति हो । अनुकूलताले विसङ्गति जन्माउँदैन, प्रतिकूलता नै विसङ्गतिको मूल स्रोत हो । त्यसैले ’मेटिसकेको सिन्दूर’ कथामा भनिएको छ :

म विधवा ! मेरो सिउँदोलाई सिन्दूरसँग कुनै सम्बन्ध रहेनछ, पोते र चुराको कुनै मतलब रहेनछ। अहिले त यस्तो लाग्छ, मलाई मेरै लास जलाई मेरो सिउँदो सजाइदिऊँ जस्तो, मेरै दुनियाँ जलाई मेरो घर उज्यालो पारिदिऊँ जस्तो र मेरै मुटु काटेर मेरै निधारमा टिका लगाऊँ जस्तो ।

रातको रङ्गीन सपनापछि म बिउँझन्छु डराईडराई ऐनामा नियाल्दा, केही हुँदैन । सपनामा सानुचाले लाइदिएको सिन्दूर पनि रहेनछ, पोते पनि रहेनछ । म एउटा चिसो लामो श्वास फेर्छु सन्तोष लिन्छु । किनभने यसै जीवनको समर्थनमा मलाई सन्तोषको अनुभव हुन्छ । हो, यही यहाँको चलन छ, सिन्दूरविनाको सिउँदोमा नै सन्तोष हुनुपर्छ, टीकाबिनाको निधारसँगै समर्थन हुनुपर्छ, पोतेविनाको गलादेखि नै आत्मा सन्तुष्ट गराउनुपर्छ । हो, केवल सन्तोष अभावमा पनि सन्तोष ।

जीवनमा नैराश्य, पराजय र पलायन भावको पराकाष्ठा भएपछि यस्तो प्रकारको जटिल भाव मान्छेमा उत्पन्न हुनु स्वाभाविकै हो । यस कथांशमा मान्छेको बाँच्नुको जटिलतालाई देखाइएको छ अर्थात् जीवनले हरक्षण पाइला पाइलामा प्रतिकूल परिस्थितिसँग गर्दै जानुपर्ने सम्झौताको परिणामस्वरूप उत्पन्न हुने जटिल समस्यालाई देखाइएको छ । कथाकार अनिता तुलाधरले 'कथा’, 'अस्पष्टता’, 'विश्राम’ जस्ता लघुकथाहरूमा जीवनका पीडा, अर्थहीनता र विडम्बनालाई विषय बनाइएकी छिन् । जीवनको विडम्बनाका सन्दर्भमा 'अस्पष्टता’ कथामा भनिएको छ “खोजेर पाउने चीजभन्दा खोजेर नपाउने खोज गरिहेरू त त्यसमा जति आनन्द कहाँ होला र ?“ जीवनको भोगाइको यथार्थ नै के हो भने मान्छेले खोजेर नपाइने कुराको खोजमा नै आफूलाई डुबाइदिन्छ जसको परिणामस्वरूप जीवन सधैं तितो यथार्थमा मात्र परिणत हुन्छ ।

अनिता तुलाधरले विसङ्गतिपूर्ण जीवनको एउटा पक्ष एक्लोपनको अनुभूतिलाई मानेकी छिन् भने अर्को पक्षचाहिँ मृत्युबोधलाई मानेकी छिन् । 'फूलु’, 'प्रतीक्षा’, 'सुस्केराहरू’, 'चाहना’, 'चुहिएका तरङ्गहरू’ जस्ता लघुकथाहरूमा उनले मान्छेलाई परिस्थिति र क्षणविशेषमा हुने रित्तोपन वा एक्लोपनको अनुभूतिलाई प्रस्तुत गरेकी छिन् । 'फूलु’ कथाको यो अंश हेरौं :

सुन्तला रङ्गले आकाश पोतिएको देखेर फूलुलाई हाँसूहाँसूँ लाग्छ । तर ऊ हाँस्दैन । उसका आँखामा रिस जस्तो, अभाव जस्तो रङ्ग पनि पोखिन्छ । फूलुलाई टाउको बजारेर रोइदिन मन लाग्छ । ऊः चुपचाप आफ्नो कोठामा पस्छ, कोठा फुङ्ग उडेको हुन्छ कोठाको वातावरण उसलाई गह्रौं जस्तो लागेर आउँछ… फूलुलाई रित्तोरितो अनुभव हुन्छ … ।

श्रीमतीको मृत्युपछि श्रीमानलाई अनुभूत हुने रित्तोपनको संवेदनालाई यस कथामा देखाइएको छ । त्यसरी नै श्रीमान्‌लाई बाढीले बगाएपछि श्रीमतीलाई हुने एक्लोपनको अनुभूतिबाट उत्पन्न हुने मानसिक विक्षिप्तिलाई 'चुहिएका तरङ्गहरू’ कथामा देखाइएको छ । यसै सन्दर्भमा 'प्रतीक्षा’ कथाको यो अंश हेरौं :

हरेक वर्षको हरेक वेला उनका निमित्त एउटा प्रतीक्षा भएर आउँछ । लाग्छ, उनी युगौंदेखि प्रतीक्षा गरिरहेकी छन्, कुहिरोलाई पगाल्न खोजिरहेकी छन् । डाँडाखोला सबै कुहिरोले टम्म ढाकिरहेको छ । त्यस कुहिरोको माझमा एउटा मान्छे यस्तरी बिलाएर गयो, जसलाई घामको तेजिलो रापमा पनि भेट्टाउन सकिनन्, रातको जूनमा पनि पाउन सकिनन् । उनका व्यथाहरू, उनका पीरहरू सबै सुस्केरा–सुस्केरा भएर ओइरिरहेछन् । हरेक बेलापछि उनी आफूलाई अझ बढी एक्लिएको अनुभव गर्छिन् … । 

जीवनको कुनै महङ्खवपूर्ण वस्तु गुमाउनुपरेपछि उत्पन्न हुने चोट वा मानसिक आघातले मान्छेलाई एक्लोपनको नियति भोग्न बाध्य तुल्याउँदछ । कथाकार अनिता तुलाधरको विचारमा अरूबाट हुने विश्वासघातका कारणले पनि यस्तो नियतिका लागि मान्छेलाई बाध्य तुल्याउँदछ ('सुस्केराहरू’ कथा)। उनको धारणा के छ भने अतिशय पीडा, उदासीनता र निराशा भावले मान्छेभित्र मृत्यु चेतनासमेत सक्रिय हुन जान्छ । 'मृत्युको सङ्गीत’ कथाको यो अंश हेरौं :

म केही सोच्न बाध्य हुन्छु मेरो सोचाइको बाटुलो पृथ्वीमा एउटा सानो च्यातिएको आकाश हुन्छ । आकाशमा सीमित ताराहरू हुन्छन् – मेरो लामो सफरसँगसँगै एउटा लामो नदी बग्दै आइरहेको हुन्छ, नदीको पानीमा हिउँ बगेको हुन्छ, हिउँ एकदम रापिलो भएर बगेको हुन्छ । खोज्छु, हिउँ मेरो शरीरको नसानसामा पनि बग्न तम्सिरहेको म अनुभव गर्छु । एकदमै लामो समयपछि पनि यस्तो अनुभव गर्न खोजिरहेकी हुन्छु । चारैतिर सुवास फैलिएको हुन्छ, गुलाफका सारा बोटहरूमा मात्र अनगन्ती काँडाहरू उम्रिरहेका हुन्छन् । मेरो शरीरभरि काँडाहरूका घोचाइ र हिउँमा रापलाई टाँसिदिन्छु । एउटा नमिठो क्रम जीवनको …!

एउटा साधारण सङ्गीत, मृत्युको सङ्गीत सबैभन्दा छोटो सङ्गीत तर मलाई सबैभन्दा मन पर्ने सङ्गीत … ।

+ + + 

म त मेरो बगैंचाको सबैभन्दा सुवासिलो फूल भएर मगमगाउनुपर्ने, म त मेरो जीवनको सबैभन्दा मिठो, सबैभन्दा सुरिलो सङ्गीत भएर तरङ्गिनुपर्ने, तर सकिनँ । म यति चाँडै यो जिन्दगीको यात्रादेखि किन थाकें? मैले किन मृत्युको सङ्गीतलाई सबैभन्दा बढी रुचाउनुपर्ने अवस्था आयो ?

यस कथांशमा बिम्बको प्रस्तुतिद्वारा जीवनका पीडाहरूबारे चर्चा गर्दै कथाकार अनिता तुलाधरले मान्छेभित्र जागृत मृत्यु चेतनालाई व्यक्त गरेकी छिन् । वास्तवमा जीवन सदासर्वदा मृत्युद्वारा पछ्याइएको हुन्छ र जीवनको आदि अन्त्य नै मृत्यु चेतनाद्वारा निर्धारित हुन्छ भन्ने विसङ्गतिवादी धारणा यस कथामा रहेको पाइन्छ ।

लघुकथाको शिल्पी अनिता तुलाधर आत्मपरक शैलीमा आफ्ना भावनाहरू व्यक्त गर्ने स्रष्टा भएकीले कवितात्मक अभिव्यक्तिको प्रधानता हुनु स्वाभाविकै हो । उनका अधिकांश लघुकथाहरू गद्यमा कविता (Poem in prose) को शैलीमा छन् ।

निष्कर्षमा के भन्न सकिन्छ भने अनिता तुलाधर जीवनका विसङ्गतिहरूलाई विभिन्न कोणहरूबाट हेर्ने कथा–प्रतिभा हुन् ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment