Tuesday, March 31, 2026

लेख (अङ्क ३३ मा प्रकाशित)


वर्तमान अवस्थामा मानिसहरूसँग लामा लामा ठेली पढ्ने समय निकै कम रहेको देखिन्छ । थोरैमा धेरै कुराहरू अट्ने हुँदा अहिले मानिसहरू लघुकथा लेख्न र पढ्न झुकाव भइरहेको पाइन्छ । आख्यानको प्रविधाको रुपमा लोकप्रिय हुँदै गइरहेको लघुकथा लेखनमा थुप्रै स्थापित साहित्यकारहरू पनि लागि परेको पाइन्छ । उपन्यासलाई फुटबल मैदान, कथालाई भलिबल मैदानको संज्ञा पाएझैँ लघुकथालाई चेस बोर्डको संज्ञा दिइएको यो प्रविधिको लेखन यात्रा वि.सं २००७ पछि नै भएको मानिन्छ ।

तत्कालीन अवस्थामा पूर्णप्रसाद ब्राह्मण, जय नारायण गिरी दुर्लभलाल सिंह, जगदीश नेपाली लगायतका लेखकहरूले लघुकथा लेख्ने गरेको दस्तावेजमा उल्लेख छ । चालीसको दशकसम्म आइपुग्दा दर्जनौं लेखकहरूले निरन्तरता दिएको कारण लघुकथाले निकै उचाई लिएको हो र यो उचाईमा पुर्‍याउन गोरखापत्र, मधुपर्क, युवामञ्च, गरिमा आदि नाम चलेका पत्रपत्रिकाहरूले उल्लेखनीय भूमिका खेलेको पाइन्छ ।

लघुकथाको विकास विस्तार र प्रवद्र्धन गर्न कै लागि आधिकारिक रुपमा २०६५ सालमा लघुकथा समाज नामक संस्था दर्ता गरिएको छ । संस्थाले बेलाबेलामा पुस्तक विमोचन, गोष्ठी, अन्तक्रिया, प्रशिक्षण, सम्मान लगायत विविध कार्यक्रम गरेर लघुकथाको क्षेत्रमा थुप्रै उल्लेखनीय कार्यहरू गरिसकेको छ । लघुकथालाई अझ संस्थागत गर्न पोखरामा पनि गत वर्षदेखि ‘लघुकथा प्रतिष्ठान पोखरा’ नामक संस्था क्रियाशिल रहेको छ ।

हालसम्म १५० जना लेखकले पुस्तक प्रकाशन गरेको र दुई दर्जन नारीहरूको सहभागिता रहिसकेको, लघुकथामा विद्यारवारिधी गर्नु भएका डा. पुष्करराज भट्टको दस्तावेजमा उल्लेख छ । त्यसैगरी आफ्ना दुई कृति प्रकाशन गर्नेहरू एक दर्जनको हाराहारीमा छन् भने तीन सङ्ग्रह (ह्याट्रिक) प्रकाशन गर्नेहरूमा डा. रविन्द्र समीर (८), सुमन सौरभ (५), खेमराज पोखरेल (४), बिनय कसजू (४) डा. कपिल लामिछाने (३), डा. पुष्कर राज भट्ट (३) कृष्ण बजगाइँ (३) राजु क्षत्री अपुरो (३) कृष्ण शाह यात्री (३), विश्वराज अधिकारी (३) आदिको नाम लिन सकिन्छ । लघुकथामा त्रि.वि. बाट थुप्रै शोधपनि भएका छन् । लघुकथामा पहिलो शोध गर्ने इश्वरीप्रसाद पोख्रेल हुन् । लघुकथामा डा. रविन्द्र समीर, राजु क्षत्री अपुरो, खेमराज पोख्रेल, कल्याण पन्त आदिका लघुकथाहरूमा शोध भइसकेका छन् ।

सामाजिक सञ्जालको विकास र विस्तार भएपछि लघुकथा लेखनमा तिव्रता आएको देखिन्छ । ग्रुप पेज बनाएर लघुकथा लेख्न थालिएको पनि आठ वर्ष हुन लागेको छ । यसको पहिलो श्रेय लघुकथा कुनो र संस्थापक नारायण तिवारीलाई जान्छ ।

अहिले लघुकथा लेख्नेहरूको निकै बाढी आएको छ । फेसबुकले एउटा स्कूलको काम गरेको छ । यसले नयाँलाई निखार्न मद्दत पुर्‍याएको छ ।

अझै पनि लामो समयदेखि लघुकथा लेख्दै आइरहेका केही लेखकहरू लघुकथा लेखनमा अलमल्ल परेका हुन् कि भन्ने भान हुन्छ । मेलोमेसो नपाएका नयाँ लेखकहरूका लागि केही मार्गदर्शन हुन सक्छ की भन्ने हेतुले म आफूले जाने बुझेका केही कुराहरू प्रष्ट पार्न चाहान्छु ।

लघुकथाको परिभाषा

लघुकथाको परिभाषाबारे विद्वान्‌हरूको आ–आफ्नो तवरले परिभाषित गरेपनि समग्रमा लघुकथालाई यसरी परिभाषित गर्न सकिन्छ ।

एउटा निश्चित मूल्य र मान्यताको परिधिभित्र रही सरल र सटिक शब्दको माला उनेर कौतुहलता प्रदान गर्दै आकर्षक समापन गरिएको लघुत्तम आकारको त्यो कथा जसले पाठकको मन र मस्तिष्कमा तरङ्ग पैदा गरोस् ।

(नोट– निश्चित मूल्य र मान्यता भन्नाले लघुकथामा पात्र, घटना, कथ्य, द्वन्द, कथाको उत्सर्ग, दृष्टिबिन्दु आदि हुनुपर्छ । साथै लघुकथाको संरचना गर्दा सकभर ३०० शब्दको हाराहारी हुनुपर्ने विद्वान्‌हरूको मत रहेको पाइन्छ ।)


लघुकथा लेख्दा निम्न विषयमा आधारित रहेर लेख्न सकिन्छ

– समसामयिक विषयलाई लघुकथा बनाउन सकिन्छ ।

– यथार्थमा आधारित रहेर लेख्न सकिन्छ ।

– सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित रहेर लेख्न सकिन्छ ।

– मनोवैज्ञानिक आधार खडा गरेर लेख्न सकिन्छ ।

– सुत्रात्मक तवरले लेख्न सकिन्छ ।

– कुनै घटना, संस्मरण, अनुभूति, यात्रालाई लघुकथा बनाउन सकिन्छ ।

– प्रतिकात्मक बनाएर लेख्न सकिन्छ ।

– विज्ञान, ऐतिहासिक, पौराणिक, दन्त्यकथा आदिलाई पनि लघुकथा बनाउन सकिन्छ ।

– कुनै नयाँ विषयमा प्रयोग गरेर पनि लेख्न सकिन्छ ।

– साङ्केतिक तवरले लघुकथा लेख्न सकिन्छ ।

लघुकथाले उठान र बैठान गर्दै समापन आकर्षक हुनुपर्छ र लघुकथाको बिम्ब हुनै पर्दछ । नत्र लघुकथा एउटा गफगाफ या चुट्किलाको स्वरुप हुन जान्छ ।

यहाँ केही स्थापित लेखकहरूका लघुकथाहरूलाई प्रतिनिधिमुलक लघुकथाको रुपमा पेश गरेको छु ।


महेश प्रसाईंको अतिरिक्त स्वरहरूबाट लिइएको यो सुत्रात्मक लघुकथा


लघुकथा : स्वामीभक्ति


एक रात सपनामा चौपाया जन्तुले आफ्नो मालिक मरेको देख्यो । रोयो बेस्सरी ।
यो जीव कुकुर थियो ।

*

एकदिन विपनामा एउटा दुई खुट्टे मनुष्यले आफ्नो स्वामी मरेको खबर सुन्यो । आँसु पनि खसालेन ।
यो जीव स्वामीको नजिकको कारिन्दा थियो ।

*

दुवै स्वामी भक्तिका लागि कहलिएका प्राणी थिए ।

***


राजु क्षत्री अपुरोको ‘भाग्य र कर्म’ बाट लिइएको राजनैतिक व्यङ्ग्यप्रधान रहेको यो लघुकथा

लघुकथा : ठुलै मान्छे

‘पढाइ त छाड्यो छाड्यो, कहिले केटीहरूमाथि नराम्रो नजर राख्यो भनेर गुनासो आउँछ । कहिले साथीहरूसँग सापट लिएको पैसा तिरेन भनेर गाली खान्छ । कति सोझो थियो, अचेल धेरै बोल्न थालेको छ । झैँ–झगडा र चर्काचर्की नगरेको दिन नै हुँदैन । हुँदाहुँदै झुटो बोल्न थालिसक्यो । अझ आज त तोडफोड गर्‍यो भनेर पुलिसले हड्कडी नै लगाएर लग्यो’ – पिँढीको कुनामा बसेर गालामा हात लगाएर झोक्राएर बसेका श्रीमान्‌लाई गहभरि आँसु गर्दै कान्छो छोराको वृतान्त सुनाइन् पार्वतीले ।

उनी फेरि एकछिन रोकिएर लामो सास तान्दै आफ्ना श्रीमान्‌लाई दुखेसो पोख्न थालिन्,

’’तैं जेठो इन्डियामा लाहुरे भइहाल्यो । –माइलोले ठुलै देश आँटेर हिँडिहाल्यो । साहिँलोले सरकारी ब्याङ्कमा जागिर पाइहाल्यो । सबैले आ–आफ्ना लाइन लिए । यसको चिन्ता र पीरले झन–झन ज्यान सुक्न थालिसक्यो मेरो । हैन बुढा, यही छाँट हो भने यो कान्छाले के गरेर खाला खै ….!”

निकैबेर टोलाएर बसेका बुढाले पार्वतीलाई सान्त्वना दिँदै भने – “चिन्ता नलि भो बुढी, राजनीतिमा हात हालेको छ के रे…. ! पछि ठुलै मान्छे बन्ला नि !

***


रवीन्द्र समीर एकलब्य दृष्टि (लघुकथा सङ्ग्रहबाट)

प्रतिनिधिमूलक लघुकथा : पेशा

‘तपाईंले न मलाई टाइम दिनुहुन्छ, न छोराछोरीलाई… ।’

श्रीमतीको गुनासो डा. शर्माले यसरी टार्दथे –‘के म घडी हूँ र टाइम दिने ? सबैसँग घडी छँदै छ नि ।’

घरमा स्वयम्भूझैँ बसिरहनु पर्दा श्रीमतीलाई दिक्क लाग्थ्यो । कहिलेकाहीँ सोच्थिन् –‘बुढालाई पनि कहाँ सुख छ र? बिहानै उठेर क्लिनिक, त्यहाँबाट अस्पताल अनि साँझ फेरि क्लिनिक । जाडो, बर्खा, चाडपर्व, छुट्टी केही भन्न पाउँदैनन् । साँझ घरमा फर्किएपछि पनि बिरामीका फोन र पढाइले थकित हुन्छन् । बिचरा मेरा डा. बूढा ।’

सुत्ने बेला सधैँ गुनासो गर्थिन् –‘कस्तो पेशा छान्नु भएछ ? मेसिनभन्दा बढी व्यस्त ! डाक्टरसँग बिहे गर्नेजस्ता दुःखी अरू को होलान् ? न घुमफिर गर्न पाउने, न सुख–दुःख सेयर गर्न पाउने, न अघाउन्जेल कुरा गर्न पाउने, कर्म नै यस्तै भएपछि के गर्नु ? सहनै पर्‍यो…।’

बिहान, बेलुका छोराछोरीलाई पढाउँदा भने सधैँ भन्ने गर्छिन् –‘अलि राम्रोसँग पढ । धेरै पढेर ड्याडीजस्तै ठुलो डाक्टर बन्नुपर्छ ।’

***

लघुकथा : संवेदना  (भ्रममार्ग बाट)

– श्रीओम श्रेष्ठ ‘रोदन’

अस्पतालमा सनाखत हुन नसकेको युवकको लासको हुलिया सहित प्रचार–प्रसार भयो ।

समाचार पढ्ने र सुन्ने छोरो हराएका जति आमाबाबुहरूको अस्पतालमा भिड लाग्न थाल्यो ।

युवकको लास हेर्न आउनेहरू रूँदै बिलौना गर्दै थिए –

– “छोरा तिमीलाई के भएको थियो र घर छाडेर हिड्यौ ?”
– ’’हरे ! तिमीले भनेकैसँग बिवाह गरिदिन्थ्यौ नि !”
– "हे भगवान् ! तिमी त्यस्तो होलाऊ भनेर सपनामा पनि सोचेका थिएनौं …।”

“कति ठूलो सपना बनाएका थियौं, सबै भताभुङ्ग भयो ।”

लासको अनुहार हेरेर छोरो पत्ता लगाउन अस्पतालका कर्मचारीहरूले उपस्थित आमाबाबुहरूलाई अनुरोध गरे ।

आफ्नो छोरो ठानेर आत्तिंदै आएका आमाबाबुहरू लासको अनुहार हेर्नासाथ चुप लाग्थे र हाँस्दै फर्कन्थे ।

अनुहार हेर्न बाँकी रहेकाहरू अझ सशङ्कित हुन्थे र अनुहार हेर्नासाथ खुशी हुन्थे ।

यहि क्रम अन्तिम आमाबाबु सम्म चल्यो र युवकको लास फेरि बेवारिसे बन्यो ।

***


मनोविज्ञानमा आधारित रहेर लेखिएको प्रतिनिधिमुलक लघुकथा

लघुकथा : फरक

– मन्दिरा मधुश्री

गाउँमा एउटा स्वास्थ्य सम्बन्धी काम गर्ने सस्थाले “लागूपदार्थको असर र वातावरण स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम” गर्‍यो । हर्के र उसकी जहान पनि सहभागी भए कार्यक्रममा । घर, आँगन, व्यक्तिगत सरसफाइ र स्वास्थ्य सम्बन्धि थुप्रै तरिकाहरू बताए विकासे कार्यकर्ताहरूले । दिउँसो चिया, खाजा पनि खान पाउँदा मख्ख थिए सबै । काम नपाएर त्यसै बसिरहेका हर्केका जोई–पोइले पनि सकृय सहभागिता देखाए दिनभर ।

कार्यक्रम उत्साजनक रूपमा सप्पन्न भयो । कार्यक्रमको अन्त्यमा सक्रिय सहभागिता जनाए बापत आयोजकहरूले सबै सहभागीहरूलाई जनही सय रुपैयाँ दिए । पैसा हातमा आउने बित्तिकै हर्केका जोई–पोइ नै उत्साहित भए अरुजस्तै ।

हर्केकी जोईले पैसा आउने बित्तिकै औंला भाच्न थाली, “तीस रुपियाँको एक किलो चामल, पन्ध्र रुपियाँको आधा पाउ तेल । दस रुपियाँको आधा किलो नुन । दस रुपियाँको मसला । पन्ध्र रुपियाँको आधा किलो आलु । पाँच रुपियाँको पाच फुरन । पाँच रुपियाँको न्युटेला । पाँच रुपियाँको धुप र पाँचको लालीलाई कपी । जम्मा ९५ रुपियाँ । पाँचको लाली र भुन्टेलाई ढुंग्रे पापड । बिचरा …..! घर पुग्न पाको हुँदैन झोला खोतल्न आइपुगी पो हाल्छन् त ।

उता हर्केले पनि पैसा गोजीमा हाल्यो र मुख मिठ्याउँदै सोच्यो, ….दश रुपैयाँको चुरोट । तीस रुपियाँको भुटन । तीसको एक बोतल लोकल । बीस अस्तिको बाकी तिर्न । बाँकी भको दस पसल्नी कान्छीलाई बक्सिस दिनुपर्ला ।

“मोरी ….! मलाई देख्नै हुन्न, आस पो गरिरन्छे त …..!!!”

लघुकथाः आमाको बिहे भोज

– खेमराज पोखरेल (अमेरिका)

म एक्लो छोरो हुँ । गर्भे टुहुरो । बाबा इन्डियाको रेल–वेको कर्मचारी हुनुहुन्थ्यो रे ! टिबी लागेर बित्नु भएको भन्नु हुन्थ्यो आमा । त्यो बेला आमा १७ वर्षकी हुनुहुन्थ्यो रे ! जीवनको निकै ठूलो पहाड थेग्नु भयो आमाले । ओसारीबाट भित्र पस्ने मूल ढोकैमाथि बाबाको तस्वीर थियो । आमा सधैँ पूजापाठ सकेर बाबाको तस्वीरमुनी उभिएर हात जोडेर आँखा चिम्लेर के के बर्बराइ रहनु हुन्थ्यो ।

सायद भन्नु हुँदो होः
“यो हजुरको सृष्टि धानेर बसेकी छु । मैले हजुरको सत डगाएकी छैन । यो छोरालाई कृपा भइरहोस्‌”

म अहिले बीस वर्षको भएँ । आमा ३७ वर्षकी । तर ६५ वर्षकी देखिनु हुन्छ ।

म पढ्न अमेरिका आएको छु । अमेरिकामा जोन मेरो साथी भएको छ । हामी सधैँ आमाको कुरा गर्छौँ । ऊ आमालाई आफ्नो खुट्टामा उभिएकी सशक्त महिला भनेर तारिफ गर्छ । म आमालाई त्यागको प्रतिमूर्ति भनेर तारिफ गर्छु ।

कहिल्यै कक्षा नहाप्ने जोन हिजो पढ्न आएन । आज मैले सोधेँः
“जोन हिजो किन पढ्न आएनौ ? केही समस्या पर्‍यो कि ?”

उसले सहजताका साथ भन्योः
“केही भएको छैन । हिजो फ्लोरेन्समा मेरी आमाको बिहे थियो । भोज खान गएको थिएँ”

मैले लामो श्वास फेरेर भनेँछु “ए आमाको बिहे भोज ?”

उसले फेरि भन्योः “हो । भोज भव्य थियो । मेरी आमाको नयाँ लोग्ने एकदम असल र धनी मानिस हो । उसले नै भोजको आयोजना गरेको थियो । इट् वाज एमेजिङ”

मैले फेरि सोधेँ छुः “तिम्रो आमा कति वर्षको हुनुभयो, जोन ?”

उसले जवाफ दिएथ्योः “साठी” मेरो मुखबाट अनायासै निस्क्योः “ओहो साठी वर्षमा पनि बिहे ?” 

उसले भन्योः “वर्षले के फरक पर्छ ? एकलै जीवन बाँच्न कहर हुन्छ बाबै । नत्र कुनै एकल महिलाको आत्मालाई सोध न”

***

अन्तमा, 

लघुकथा लेखनमा रुचि भएका नया“ लेखकहरूले लघुकथा लेख्दा ख्याल गर्नुपर्ने निम्न कुराहरू :

वाक्य संरचना गर्दा छोटा छोटा वाक्य बनाउनु उपयुुक्त हुन्छ । 

– वाक्यहरू दोहोरिनु हुँदैन । यसोगर्दा लम्बिन जान्छ र भद्दा हुन्छ ।
– लघुकथा लेख्नेले हाम्रो समाजमा यी खालका समस्या छन् है, भनेर सरल र सटिक ढङ्गले कथ्यको माला उनेर देखाउने हो । प्रहरी र पत्रकारको काम गर्ने हो ।

न्यायाधीश बनेर फैसला गर्ने होइन । 

– कथाका झैँ समापन गर्ने होइन । नत्र कथाको सारतङ्खव जस्तो हुन जान्छ । –लघुकथामा उत्तर पाठकललाई नै छाडिदिने हो । पाठकले पढेपछि मन्द मुस्कुराउन बाध्य होस्, या दिमागमा एकप्रकारको तरङ्ग पैदा होस् अनि आफै बोल्न बाध्य होस् र भनोस्, ए, हो नि त !”

लघुकथाको न्युनतम शब्द सिमा तोकिएको हुँदैन । तर लघुकथाको रचना विधानले २५० शब्द को हाराहारीमा हुनुपर्छ भनेर मानेको छ । र लघुकथा कुनोले ३०० शब्द सम्म । लेखकले सकभर यी कुरामा पनि ख्याल पुर्‍याएर लेख्दा उचित हुन्छ भन्ने मलाई लाग्छ । लेखिंदै जाँदा केही शब्द तलमाथि पर्नु छुट्टै कुरा हो तर लघुकथाको नाममा सिमाभन्दा अधिक बाहिर गएर लेखिएमा कथाको रुप धारणा हुन जान्छ । 

– कुनैपनि घटनालाई हु–बहु लेख्न हुँदैन । त्यसमा काल्पनिक कथ्य र शिल्प चाहिँ देखिएको हुनुपर्छ । नत्र संस्मरण र समाचार जस्तो हुन पुग्दछ । – गरिब, बृद्ध, असहाय, अपाङ्ग साथै नाम, थर जाति, धर्म किटान गरेर व्यङ्ग्य गर्नु हुँदैन । 

– सकभर सर्वनामको प्रयोग गर्दै सामान्य भूतकालमा लेखिनु राम्रो मानिन्छ ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment