आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार विश्वम्भर प्याकुर्याल (२००७) देखा परेका हुन् । उनको पहिलो प्रकाशित कथा हो 'सपना’ (सं. २०२७) जुन 'बान्की’ मासिक गोजिकाको पूर्णाङ्क ५ मा छापिएको थियो । अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका उनी गीत रचनामा पनि अभिरुचि राख्दछन् । उनी नेपालमा अर्थविज्ञका रूपमा प्रसिद्ध छन् । त्यसैले उनले स्वदेश तथा विदेशमा थुप्रै सरकारी गैरसरकारी संघ–संस्थाहरूसँग संलग्न रहेर सेवा गरिसकेका छन् । उनको एक मात्र लघुकथासङ्ग्रह इन्द्रेणीको गुम्बजभित्र (सं. २०२९) प्रकाशित छ । उनी गीतकार पनि हुन् ।
विश्वम्भर प्याकुर्याल विसङ्गतिवादी चिन्तनबाट प्रभावित भएका कथाकार हुन् । त्यसैले उनी जीवनका निराशा, कुण्ठा, असन्तुष्टि, रोष, आक्रोश र विद्रोहलाई आफ्ना कथाको मूल विषय बनाउँदछन् । मान्छेले आफ्नो जीवनको क्षणविशेषमा एउटा इच्छा गरेको हुन्छ, तर समयले त्यसलाई ठिक विपरीत दिशातर्फ मोडिदिँदा अर्कै अप्ठ्यारो परिस्थिति सिर्जना भइदिन्छ । यस कुरालाई उनले 'पसल जाने रहर !’ कथामा यसरी व्यक्त गरेका छन् :
तर यहाँ मान्छेको जीवनको चक्र कहिलेकाहीँ यसरी घुमिदिन्छ जसले मान्छेको उच्चतम सोचाइलाई समेत एउटा डरलाग्दो तथा अनुकरणीय चुनौती दिन्छ । अप्रत्याशित खुसीका वरदान कान्छीले जसरी पाएकी थिई आज त्यसरी नै अप्रत्याशित स्थितिको सहन नसक्ने वज्रले उसका निर्णयहरूलाई सन्काइदिए । ऊ सद्धे र बहुलाही दुवै भई । क्षणिक खुसी वास्तविक आँसुले पखालियो । अकस्मात् आफूअगाडि धेरैधेरै भन्नेहरू लिएर उभिएको हराइसकेको हक्दार आफ्नो पतिलाई देखेर ऊ मौन भई रुन थाली । ऊ यस्ती देखिन्थी मानौँ वास्तविक रुवाइ ऊ अहिले रोइरहिछ । ऊ न बोल्न सक्छे न सोध्न । उसको सामु एउटै समाधान थियो– रुनु । नरोएर के गरोस् यस पटकको आक्रमण भूत, वर्तमान तथा भविष्य तीनओटैको थियो । ऊ पराजित भई ।
त्यसैले समालिँदासमालिंदै केही क्षणका निमित्त लल्याकलुलुक भएर आँखा चिम्लिदिई । धेरै वर्षको विछोडपछि आकस्मात् भएको विज्ञानको असन्तुलनले यो प्रतिक्रिया देखाएको हो भन्ने धारणा लोग्नेले लियो जो केही हदसम्म सत्य पनि थियो । उसले पनि कान्छीलाई यस अवस्थामा हेर्न सकेन र आँसु खसाल्दै आफ्ना सारा अभिव्यक्ति तथा स्नेहका गन्धहरू दुवै हातमा तानिदिएर कान्छीमा गालाहरूमा गरेको स्पर्शको माध्यमद्वारा ऊभरिभरि सञ्चार गराउन व्यस्त भयो । ऊ कान्छीलाई यसरी हुँदै थियो मानौं उसले नचिनेको व्यक्तिमाथि ऊ लुकेर पाप गर्न खोज्दै थियो । घरथराएको उसको हातले उसको मायामा गएको भूकम्पको सफल सङ्केत दिइरहेको थियो ।
यसरी कान्छीको जीवनले अब नयाँ काँचुली फेर्ने छ र हुन सक्छ उसलाई अब पसल जान ज्यादै घृणा लाग्ने छ ।
पछिल्लो वाक्यांश “उसलाई अब पसल जान ज्यादै घृणा लाग्ने छ“ को आशय के हो भने कान्छी सधैं पसल जाने रहर र इच्छा किन गर्दथी भने बाटामा एक जना युवकसँग सधैं उसको भेट हुने गर्दथ्यो जोसँग पछि गाढा प्रेम सम्बन्ध पनि कायम भयो । उनै युवकसँग विवाह हुने दिनमा उसको धेरै वर्षपहिले हराएको पतिसँग अचानक भेट हुन्छ । यस्तो विषम र अन्योलको परिस्थितिमा परेकी कान्छीको जीवनको विसङ्गतिलाई यस कथामा देखाइएको छ । जीवनको पर्दा अन्तमा कसरी विपरीत दिशातर्फ खुल्दछ भन्ने कुरा कथाकार विश्वम्भर प्याकुर्यालले देखाएका छन् । उनले 'पोटिलो कपालमा केस्राहरू’ कथामा पनि जीवनका पराजय र कुण्ठालाई यसरी देखाएका छन् :
उसले थाहा पायो, त्यो केटी परदेशी हो भनेर – जो एक हप्ताको निमित्त मात्र त्यो होटलमा आई बसेकी थिई । यसले उसलाई झन् नराम्रो छटपटी दियो । सारा दिन उसले एउटा तितो अनुभव गरी बितायो । केही दिनपछि उसले त्यो केटीलाई एउटा हजामको पसलभित्र देख्यो । ऊ झटपट भित्र गयो । उसले देख्यो – केटी आफ्ना लामा कपाल काट्न लगाइरहेकी थिई । ऊ शिथिल–शिथिल भयो । उसलाई त्यो केटीदेखि एकदम रिस उठ्यो । उसले गर्न नै के सक्थ्यो र । त्यसैले उसले बेसरी आफ्नो पुपुर्रोमा एक पटक हिर्कायो । झसङ्ग व्युझियो । यो एउटा सपना रहेछ । उसको मन एकदमै बिग्रियो र झटपट उठेर अनायासै होटलतिर गयो । उसले थाहा पायो निठुरी परदेशीले होटेल छोडिसकिछ ।
आफूले अति नै मन पराएको लामो कपाल काटिनु र त्यस केटीले होटल छाड्नु जस्ता प्रसङ्गहरू दिएर कथाकार विश्वम्भर प्याकुर्यालले केटाको विसङ्गत जीवनको चित्रण गरेका छन् । जीवनको विडम्बना नै के हो भने मान्छेले जुन कुरो अति नै मन पराएको हुन्छ, त्यसलाई अप्रत्याशित रूपले गुमाउनुपर्ने नियतिको भोग गर्न मान्छे विवश बन्छ । 'सङ्घर्ष व्यथैव्यथासँग’ कथामा पनि उसले जीवनको विसङ्गतिलाई यसरी प्रस्तुत गरेका छन् :
कोटको भित्री खल्तीमा हात के हालेको थियो खल्ती केही चीजले काटिएर च्यातिएको पायो । अब ऊ एकदमै आत्तियो र जरुक्क उठेर प्रत्येक अङ्ग–प्रत्यङ्गमा छाम्यो कहीँ भेटेन … अनि छरिएका सामानहरूका बिचमा उभिएर नाबालक केटाकेटी रोएकै भलभली आँसु चुहाउँदै सुँक्कसुँक्क गर्दै भन्न थाल्यो, “बाबू ! म अभागी रहेछु पूर्वजन्मको पापको प्रायश्चित गरिरहेछु । मेरो पसिनाको फल पापीले लग्यो । अब बाँचेर के गर्नु ? यस्तो नकच्चरो अनुहार, आसैआसमा बसिरहेकी कान्छीलाई खाली हातको कोसेली बोकी कसरी देखाऊँ ? कसरी देखाऊँ …?’’
लामो सिट्टी दिई रेल स्टेसनबाट विस्तारै हिँड्यो । कान्छा आफूलाई समाल्नै नसक्ने गरी रुँदै अकस्मात् ढोकाबाट हामफाल्यो र प्लेटफार्ममा पछारियो ।
गरिबीको चपेटामा परी सहन नसकेर विदेश गई बल्लतल्ल कमाएको पैसा रेलमा चोरी भइदिँदा कान्छाले त्यस कमाइबाट केके गरुँला भन्ने जुन सपना देखेको थियो, त्यो चकनाचुर भइदिँदाको दयनीय अवस्था उपर्युक्त कथांशमा देखाइएको छ । कमाइ चोरी भएको कारणले अभिघातको स्थितिमा पुगेको कान्छालाई चिन्ताले सताउनु, त्यसपछि मृत्युबोध हुनु । “अब बाँचेर के गर्नु ?“) र अन्तमा रेलबाट हामफालेर आत्महत्याको प्रयास गर्नु – यी सबै विसङ्गत अवस्थाका परिणति हुन् । कथाकार विश्वम्भर प्याकुर्यालले विसङ्गतिको अर्को प्रसङ्ग "अनुमति लोग्नेको !” कथामा यसरी दिएका छन् :
स्वतन्त्रतापूर्वक बाँच्न सक्ने निष्कर्ष पाउन मैले पहिले आफ्नो सोचाइमा क्रान्ति ल्याउनुपर्नेछ । ठिक छ, मैले सपनामा आफ्नो आस्था रोजिसकें । म त्यसै गर्ने छु । अब प्रत्येक दिन म मेरी पत्नीलाई साथीकहाँ पठाउने छु ऊ मैले दिने सन्तुष्टि मेरो नाउँबाट मेरो साथीबाट पाउने छे । यसरी मैले मेरो पुरुषत्वको प्रयोग उसबाट गराएकोले मलाई मेरी पत्नीले कृत्रिम पतिको अनुहारमा वास्तविक पतिको अधिकार खोज्ने म पुरुषलाई आफ्ना सेवा अब नियमित रूपमा प्रदान गर्ने छ भन्ने कुरामा विश्वास छ ।
समय बित्दै छ ६ वर्ष, ७ वर्ष, ८ वर्ष, ९ वर्ष पर्खनोस् । विश्वास गर्नोस् यो दशौं वर्षमा मैले आफै जीवन बोके। अब मैले रोगलाई कब्जा गरिदिए । अब घरवरिपरि राम्ररी हिंडडुल गर्न सक्ने भैसकें । बाहिर भने निस्केको छैन । अब एक डेढ महिनामा त त्यो पनि सुरु हुन्छ। मेरो स्वास्थ्यको प्रगति मसँग परिचित अब सबैजसोलाई थाहा भैसक्यो । अब आफ्नो ठुलो उद्देश्य पत्नीलाई पुनः नियन्त्रित गर्न मैले सुरु गरेको छु । ऊ नियन्त्रित हुँदै पनि छ । मैले वास्तवमा उसको वास्तविक सोचाइको भने ॅएक्सरे’ गर्न सकेको छैन । जे भए तापनि अब मलाई मेरो पौरुषमा विश्वास भएकोले मैले मेरो मराइलाई नियमित पारेको छु । ऊ विस्तारविस्तार म र म विस्तारविस्तार ऊ हुँदै गएको म प्रस्ट अनुभव गर्दै छु । ऊ मसँग त्यतिसारो प्रस्ट हुन नसकेकोमा मलाई केही पनि टिप्पणी गर्नु छैन । बिस्तारै उसलाई बानी पर्ने छ ।
फेरि आजदेखि त उसबाट मैले पत्याउन गाह्रो हुने गरी प्रत्येक कुरामा सहयोग र सहानुभूति पाउन लागिरहेछ । ऊ मसँग प्रस्ट छे । प्रत्येक कुरामा ऊ आफै अग्रसर हुँदै छे । यति चाँडो यस्तो प्रतिक्रिया ? मलाई पुनः सोच्न कर लाग्छ । मलाई लाग्छ –त्यसैले होला हिजो हामी दुवै मेरो उही साथीको विवाहमा दुवै दम्पतीलाई शुभकामना दिन गएका थियौं ।
आफू पुरुषत्वहीन भएको कारणले आफ्नी श्रीमतीलाई साथीकहाँ पठाउन (सुताउन ?) बाध्य हुनुपर्ने जीवनको विसङ्गति यस कथामा देखाइएको छ। जीवनमा सम्झौता गर्नेपर्ने र संशयलाई भित्रभित्रै पालेर बाहिर अर्कै अभिनय गर्नुपर्ने जीवनको बाध्यतालाई कथाकार प्याकुर्यालले सटीक किसिमले व्यक्त गरेका छन् । यसरी नै उनले 'मूल्यहीन स्वतन्त्रता’ भन्ने कथामा चोरीको आरोपमा जेल परी छुटेपछिको वीरेको अवस्थालाई यसरी प्रस्तुत गरेका छन् :
आजको दिन रुने छैन, हाँस्ने हो भन्ने कुरामा ऊ अरूलाई दृढ गराउन खोज्छ । तर एउटा साथीले अकस्मात् वीरेलाई नबताइएको कुरा सुनाउने चाह, बडो गाह्रोसँग गरेको देख्दा ऊ आश्चर्यचकित हुन्छ । वीरेले सजिलैले अनुमति दिन्छ “तिम्री छोरी सारै दुःख पाएर लाहुरेसँग भागेर गइन् । औषधि नपाएर छोरो मर्यो । बहुलाही जस्ती भएर तिम्री पत्नी हामीले नचिनेकोसँग पोइल गइन् ।’’ वीरे कसैलाई देख्दैन । ऊ कसले–कसले धेरै पटक उचालेर, धेरै पटक पछारेको अनुभव गर्छ । मुख सुक्छ । आवाज आफैंभित्र हराउँछ । पन्ध्र वर्षको समयले उसको जीवनलाई छ्याकटे तुल्याइदियो । ऊ ॅडैमेज्ड’ हुन्छ । उसका योजनाहरू बुढो रुखमा चोइटा उप्केजस्तै उप्कन्छन् । ऊ कसैसँग पनि केही नबोलेर विस्तारबिस्तार अघि बढ्छ । ऊ झस्कन्छ । आफू अनि धेरै बाटाहरू उसलाई व्यङ्ग्य गरेर तेर्सिएको देख्छ । ऊ विचलित हुन्छ । आफ्ना असफलताहरूले ’हिप्नोटाइज’ गरेको महसुस गरी एक पटक नाबालक रोएजस्तै डाँको छोडेर रुन्छ र आफू जानुपर्ने बाटो नचिनी फेरि पछाडि फर्कन्छ । जेलरको अगाडि उभिई वीरे विस्तारै ’जेलरसाऽब म कहाँ जाऊँ ?’ भनी प्रश्न गर्छ ।
माथिको कथांशमा जीवनको अत्यन्त जटिल अवस्थाको प्रसङ्ग दिइएको छ । आफ्नो परिवारको नराम्रो अवस्था भएको सुनेर अभिघातिक भई वीरेले आफ्नो जीवनको जुन बाटो चिन्दैन र जेलरसँग “म कहाँ जाउँ ?” भनी प्रश्न गर्दछ । विसङ्गतिको सारै सटीक प्रसङ्ग दिएर कथाकार प्याकुर्यालले यस कथामा सच्चा जीवनको परिभाषा दिएका छन् ।
विश्वम्भर प्याकुर्यालले आफ्नो विसङ्गतिवादी चिन्तनकै प्रसङ्गमा जीवनले खोजेको स्वतन्त्रताका साथै विद्रोहका स्वरहरूलाई अभिव्यक्त गरेका छन् । 'विजय यो पराजयको’ कथाको श्रमिक जमिनदारको अधिनायकवादी व्यवहारबाट अत्यन्त रुष्ट र आक्रोशित बनेर फेरि आफूले पहिले गरेकै काम, महल फोर्ने काम गर्छ । 'क्रान्ति मान्यताहरूसँग’ कथामा नारी आफ्नो पेटभित्र हुर्किरहेको बच्चाको निमित्त एक स्वतन्त्र नारी भई समाजमा स्थापित हुन बसौंदेखि चल्दै आएको गलत परम्परालाई चुनौती दिएर जुध्न चाहन्छिन् :
ऊभित्र विद्रोहको जागृत ज्वालामुखी फुट्छ । उसलाई यी कृत्रिम चेतना बोकेका अर्धमान्छेहरूसँग हैन तानाशाह शताब्दीसँग क्रोध छ । ऊ त्यसैले अब विस्तारविस्तार त्यही शताब्दीलाई लक्ष्य गरेर त्यहाँ केही अणुबमहरू छोड्दै छे ।
कथाकार विश्वम्भर प्याकुर्यालका पात्रहरू कुसंस्कार र कुविचारद्वारा आक्रान्त सामाजिक मूल्य र मान्यताहरूका विरुद्धमा चर्को आवाज निकाल्दछन् । ती पात्रहरू कुहिएको परम्परा र त्यस परम्परामा हर्किएको पुरुषवादी सोचका विरुद्धमा सिधैं उभिन्छन्, किनभने वर्तमान जीवनलाई विध्वंस गर्ने मूल कारण तिनै सोचहरू हुन् भन्ने कुरामा ती पात्रहरूको विश्वास रहेको हुन्छ । 'कुहिरोका पर्दाहरू’ र ’इन्द्रेणीको गुम्बजभित्र’ कथाहरूमा कथाकारले विसङ्गत जीवनले सिर्जना गरेको विद्रोह चेतनालाई व्यक्त गरेका छन् । 'इन्द्रेणीको गुम्बजभित्र’ कथामा यी पङ्क्तिहरू हेरौं :
अब मैले त आँधीको पड्खा हम्केर, भुइँचालोसँग नाच नाचेर, आगोको ओछ्यानमा सुत्ने बानी बसालिसकें ।
यसरी जीवनलाई उल्ल्याएर लाखौँलाखौं षड्यन्त्रको 'आइटेम’ भएर जब म आँखाको फतफताउन थाल्छु मुखले सुन्न थाल्छु र कानले हेर्न थाल्छु त्यस बेला म षड्यन्त्र गर्छु आफैंभित्र, विद्रोह गर्छु आफैंभित्र र अपराध गर्छु आफैंभित्र । त्यसैले त म जब तिमीलाई समेत अविश्वास गर्न थाल्छु त्यस बेला धर्तीमै घोप्टो परेको भए पनि गोलीले गोडाहरू उडेर बेसरी बजारिएको महसुस गरी डाँको छाडीछाडी रुन थाल्छु ।
कथाकार विश्वम्भर प्याकुर्यालले मानवीय प्रेम र अनुरागमा पनि विसङ्गतिबोधको प्रसङ्ग दिएका छन् । उनी प्रेममा वितृष्णा ('स्वास्नीमान्छे’ कथा), यौनमा चिसोपन वा उदासीनता ('चिसो हात’ कथा) र मायामा धोका (’निर्णय’ कथा) देख्दछन् । उनी प्रेम अनुरागले उत्पन्न गराउने आशङ्का, त्रास र निन्दा जस्ता विसङ्गत अवस्थाको चित्रण 'तीनओटा घाउ’ कथामा यसरी गर्दछन् :
बोधार्थ :
तिम्रो शुभविवाहको निमन्त्रणा पत्र हात पर्दा मलाई लाग्यो, यो सम्बन्धित अधिकारीलाई पठाइने बोधार्थ हो ।
+ + +
सिंदुर :
आफ्नो नवविवाहित पतिसँग नारिएर हिँडेको बेला अकस्मात् आफू अघि मलाई देख्दा जब तिमीले थाहा नपाएजस्तै गरी घम्टो पन्छाएर सगर्व सिउँदोको गाढा सिंदूर देखाएकी थियौ मलाई लाग्यो त्यस बेला तिम्रो सिउँदोले मौन प्रश्न गरिरहेको थियो ’वास्तवमा मेरो सार्वभौमिकता छ त ?’
+ + +
चिप्लेटी :
तिम्रो पति आफूलाई बिर्सेर बढी मात्तिएको बेला अकस्मात् दोस्रो पटक तिमीलाई झम्टन पुग्दा जब तिमी ॅनाई अब पुग्यो’ भनेर फेरि उही पुरानो बानी दोहोर्याउँछ्यौ । त्यस बेला तिर्खा र उत्तेजनाका सम्मिश्रणका तस्बिर आँखामा उतारेर उसले अनायासै तिमीलाई बलात्कार गर्न खोज्दा तिमी झुक्किएर कहीं मेरो नाउँले उसलाई गाली त गर्न पुग्दिनौ ?
कथाकार विश्वम्भर प्याकुर्यालले प्रेमभित्रको स्वार्थ, विश्वासघात र रोषलाई 'लाचारी’ कथामा पनि देखाएका छन् । वास्तवमा प्रेमभाव बाहिरबाट हेर्दा मात्र कोमल र सुन्दर देखिन्छ, तर भित्र भने यसभित्र जीवनलाई अस्तित्वहीन तुल्याउने घातक तङ्खव हुन्छ भन्ने कुरा यस कथामा उनले देखाएका छन् । यसरी उनले जीवनका विसङ्गतिहरूलाई मूल विषय बनाएर मानिसका नियतिले भोग्नुपर्ने निराशा, कुण्ठा, पलायन भाव र विद्रोह चेतनालाई आख्यानीकरण गरेका छन् ।
विश्वम्भर प्याकुर्यालका लघुकथाहरू अकथा (Anti Story) को शैलीमा भएकाले विवृत रूपविन्यास (Open Texture) मा लेखिएको पाइन्छ । उनको गद्य–शैलीमा काव्यात्मक अभिव्यक्तिको ओज छ जस्तैः
उसमा आँट उम्लन्छ–पुर्खाका दर्शन केही कुहिएका फूल जस्ता छन् भनी कराइदिन । हामी हाम्रा शताब्दीका एकोहोरो निर्देशनपछि कागले कान लग्यो भन्दा कान नछामी काग लखेट्ने मूर्ख जस्तै दौडिरहेछौँ । वर्तमानमा हुनुहरू हामीभित्र जन्म पाउँदैनन् । शताब्दी पुराना अन्धविश्वासहरूलाई हामीले मल हालीहाली बचाएका छौं । हामीलाई सोच्नु पर्दैन, पुर्खाले सोधिसकेका छन् । हामीले विश्लेषण गर्नु पर्दैन, पुर्खाले गरिसकेका छन् । हामीलाई हाम्रो भाषा बोल्न पर्दैन, पर्खाले बोलेका भाषा हामीलाई कण्ठस्थ छ । हामीलाई हाम्रो अस्तित्वको भविष्यको के डर ? हामीले हाम्रा पुर्खाका नैतिक कथा खारेर त्यस अनुकूल आचरण गरिसकेका छौँ । (’क्रान्ति–मान्यताहरूसँग’ कथा)
कथाको शीर्षकीकरणमा समेत कथाकार प्याकुर्यालले कविताको शैली अँगालेका छन् । न अन्योक्ति न प्रतीक, मिठो शैलीको प्रयोग गरेर उनले आफ्ना लघुकथाहरूलाई सुन्दर बनाएका छन् ।
निष्कर्षमा के भन्न सकिन्छ भने विश्वम्भर प्याकुर्याल जीवनको विसङ्गतिलाई सशक्त ढङ्गले प्रस्तुत गर्ने संवेदनशील कथा–स्रष्टा हुन् । उनले मानव जीवनभित्र अनेकौँ कुण्ठा र निराशाको प्रभुत्व देखेका छन् । उनको काव्यात्मक गद्य शैलीमा अभिव्यक्तिको गहिराइ र गम्भीरता पाइन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment