Tuesday, March 3, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


"मदन ! कसलाई के भयो ?’’ – नरहरिले अस्पतालमा भेट भएको बेला मदनलाई सोध्यो ।

“तल्ला घरे महेशकी आमालाई केही दिनदेखि भर्ना गरेका छौँ । उनैको रेखदेखमा आएको ।’’ – मदनले जानकारी गरायो । 

“तल्ला घरे महेशकी आमा भन्नाले उर्मिला त होइनन् ?’’ – नरहरिले सोधे । 

"हजुर उनै उर्मिला केही दिनदेखि बिमार छन् । दुईभाइ छोरा नै विदेशमा छन् । घरमा एउटी छोरीसँग बसेकी थिइन् उसको पनि घरमा बुढी सासूमात्र रहिछन् त्यही पनि दृघरोगी । कहिले कसो एकछिन आमालाई भेट्नमात्र आउँछिन् ।’’ – मदनले जानकारी गरायो ।

“आमा बिमार छन् भन्ने छोराहरूलाई जानकारी छ त  ?’’ – नरहरिले सोधे ।

“दुई तीन पटक फोन गरेर म आफैले खबर दिएको हुँ । उनीहरू आउन नसक्ने जानकारी आएको छ ।

“जेठो भर्खरै एक वर्ष भएको रहेछ तीन वर्षको लागि वर्किग भिषामा गएको रहिछन् । सबै ऋण गरेको छु मलाई ठूलो सङ्कट पर्छ भन्यो ।

“कान्छो चाहिँ विद्यार्थी भिषामा गएको रहेछ उसको पनि बिदा नमिल्ने भयो । मलाई नै उल्टै आमाको सक्दो रेखदेख गर्नुहोला धन पैसाको चिन्ता नगर्नुहोला भन्छन् के गर्ने ?’’ – मदनले निरास हुँदै भन्यो ।

“ए ए त्यसो भनेको भए त सुसार गर्नै पर्नेरहिछ ।’’ – नरहरिले भन्यो ।

“पैसाले गर्ने काम त मैले गरिरहेको छु हेरदेख पनि आलोपालो गरिन्छ तर एक आखर आमा भनेर छोराछोरीले भनेको सुन्न पाए हुन्थ्यो भन्ने आमाको धोको हामीले कसरी पुरा गर्ने ।’’ – मदनले निधार चाउरी पार्दै भन्यो ।

कुरा गर्दै गर्दा उनीहरू वार्डमा पुगे । डाक्टर नर्सले चारैतिरबाट घेरेका थिए ।

“के भयो डाक्टर साहेब ?’’ – मदनले आश्चर्य हुँदै सोध्यो ।
“आमाको मृत्यु भयो ।’’ – डाक्टरले बताए ।

मदनले छोराहरूलाई फोन मिलायो छोराहरू दुवैजना भोलिसम्म आइपुग्ने उनीहरू आएपछि बल्ल चिता जलाउने बताए ।

“यस्ता मरेपछि आउने छोरा हिजो अस्ति आइदिएको भए आमा केही वर्ष मर्ने थिइनन् ।’’ – मदनले सुस्तरी भन्यो ।

-दाङ घोराही १८

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment