Tuesday, March 3, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


माल अड्डाका सुब्बा कृष्णमान आफ्नो अनौठो चालढालले गर्दा टोलछिमेकमा सुपरिचित छन् । पञ्चायतकालमा टोलकै नि.मा.वि बाट मुस्किलले ८ कक्षा पास गरेपछि एकजना नाम चलेका स्थानीय  नेताको सिफारिसबाट बल्लतल्ल विकासतर्फको बहीदार पदमा नियुक्ति पाएर जागिरे भएका कृष्णमान पछि त्यो पद साधारणतर्फ परिणत भएपछि प्रक्रिया पुर्‍याएर स्थायी भएका रे ! अहिले उनको वास्तविक  उमेर ६२ वर्ष भए पनि उतिबेला टोलको एकजना बाठो लेखनदासले ५ वर्ष  घटाएर नागरिकताको प्रमाणपत्र बनाइदिएको हुँदा रेकर्डअनुसार हाल उनको उमेर ५७ वर्ष मात्र पुगेको रे  ।

ऐतिहासिक सहर भक्तपुरको कुनै भित्री गल्लीका स्थायी बासिन्दा कृष्णमान अचेल सधैँ उस्तै पोशाकमा भेटिन्छन्। घुर्मैलोघरबुना कपडाको लबेदासुरुवाल, त्यसमाथि पुरानो ढाँचाको पित्तले टाँक भएको कालो कोट र शिरमा कालो भादगाउँले टोपी अनि नाकको डाँडीमा खुकुलो पातलो फ्रेम भएको पुरानो  पाराको चस्मा उनका पहिरनको विशेषता हो । जुत्ता पनि स्थानीय सार्कीले सिलाएकै लगाउँछन् । 

मेहनती, लगनशील र इमानदार भएकाले पढाइ  कमै भएपनि क्रमशः पदोन्नति हुँँदै नायब सुब्बासम्म हुन पुगेका कृष्णमान सधैँ एउटा पुरानो साइकल चढेर बिहान १० बजे कार्यालय पुग्छन् र गफगाफमा नलागी आफ्नो काम गर्न थाल्छन् । धेरै त पुराना स्याहास्रेता हेर्ने र मिलाएर राख्ने काम उनको हुन्छ । नयाँ ढाँचामा पत्रव्यवहार गर्ने ढङ्ग नभएको र अरूसँग धेरै घुलमिल नगर्ने हुँदा उनलाई नयाँ कर्मचारीले   वरपर गफ गर्दा उनी नभएको बेला  “कोग्ल्याँटो सुब्बा’’ भनेर  उडाउने पनि गर्छन् । तर उनी इमानदार भएकाले हाकिमका प्रिय छन् । कुनै  काम  ढङ्ग नपुगेर बिग्रेको रहेछ भने हामिमले राम्ररी सम्झाउँदा कुरा बुझेपछि हात जोडेर यसो भनिदिन्छन् “क्यारम हजुर म बुरा मान्छे !’’ (के गरुँ हजुर, म बूढो मान्छे) उनका हाकिम सदानन्द शर्मा  सरल र  इमानदार  अधिकृतको श्रेणीमा पर्छन् । उनीचाहिँ सुशिक्षित र मिलनसार स्वभावका छन् । कार्यालय बाहिर चियागफको बेला “त्यो कोग्ल्याँटो सुब्बा कृष्णमानलाई तिमीले किन च्यापेको?’’ भनेर कुनै मिल्ने साथीले सोद्धा उनी यसो भन्छन्  “के गर्नु यार, यो मालपोत कार्यालय त्यसै पनि बदनाम छ । यहाँ शिक्षित, सिपालु र बाठा कर्मचारी धेरै भए पनि तीमध्ये कुनै छट्टु कर्मचारीले कता केमा सही गराएर फँसाउने हो, भन्ने कुरामा सतर्क भएर काम गर्नुपर्छ । तर  कोग्ल्याँटै भए पनि यी सुब्बा कृष्णमानमाथि पूरा विश्वास गर्न सकिन्छ ।

 -खाँदबारी

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment