थकित मान्छे !
बिहान झिसमिसेमै बिउँझिन्छे ऊ जब सूर्य मस्त निद्रामा हुन्छ ऊ भने आफ्नै छातीभित्र जमेको नुनिलो पानीको ढिस्को फुटाउन खोज्छे तर अहँ ! केही लाग्दैन उसको देख्छे छिमेकी र जोरीपारीहरू खित्का छोडेर हाँसेको उसलाई थाहा छैन कुन 'मल' मा पाइन्छ हाँसोको बीउ? अनि कसरी उमार्न सकिन्छ खुसी आँसुको सिँचाइ गरेर ! कहिलेकाहीँ लाग्छ घर त बन्दीगृह पो हो आफैँले धुरीखाँबोमा झुण्ड्याएको अक्षताको पोको र त्यही पोकोमा भाकिएका कुलदेवता आज हेरिरहेछन् उसकै रमिता ! थाकेपछि मान्छे घरभित्र आउँछ तर भित्रै पो थाकेपछि कहाँ जान्छ मान्छे ? आरामको खोजीमा जब सूर्य ओरालो लाग्छ ओढेर क्षितिजको फराकिलो सिरक ऊ पुनः निसासिन्छे महसुस गर्छे कतै आफ्नैबाट छुट्टिए जस्तो आफैँभित्र लुटिए जस्तो सुरक्षाको तन्ना च्यातिएर असुरक्षित र बेसहारा भए जस्तो बयानका लागि उभ्याइएको कैदी जस्तो भन्नै मुस्किल खै कस्तो-कस्तो ! ऋतुहरू फेरिए महिना र वर्षहरू फेरिए अरूका रहर र हर्षहरू पूरा गर्दागर्दै उसले बिर्सिदिई आफ्ना खुसी र चाहनाहरू सबै बदलिए समय बदलियो तर उस्तै छ उसको दैनिकी अझै फेरिएनन् उसका नियतिहरू ! विवशताको पहाड बोकेर पनि हार नमान्ने एउटी थकित मान्छे ऊ !*********
भाग्यमानी छन् पहाडहरू !
लुकामारी खेल्दै
बेरिन पाउँदा
हरदम मायालुरूपी सेतो बादल
र कुहिरोको घुम्टोभित्र
पहिरेर वस्त्र
मिश्रित निख्खर सेतो
र हरियो रङ्गको
लगाएर मितेरी चोखिन पाउँदा
दक्षिणी हावाले बोकी ल्याएको
अमृतरूपी जलधाराबाट
न्यानो र काउकुती लगाउने
स्पर्श पाउँदा त्यो श्रीखण्ड
र जडीबुटीहरूको बासना कोसेली
ल्याइदिने पवनसँगआहा ! आफैमा दङ्ग छन्
कति भाग्यमानी छन् पहाडहरू
सूर्यको पहिलो किरण
वर्षा र बादलको चुम्बन
चरीहरूको गान चिरबिर
पातहरूको रङ्ग छिरबिर
झुलाएर प्रत्येक गुँडहरू
र बचेरा समेत
आफ्नै पाखुरीको झुलनामा
झुलाउँछिन् जसरी आमा
बच्चालाई बिछ्याएर तकिया बिछौना
आफ्नै छातीमाथि
सबै जीवात्माहरूलाई आरामसँग
नुनु गर्न निम्त्याउँन पाउँदा
आहा !आफैमा अनुग्रहित छन्
कति भाग्यमानी छन् पहाडहरू
न गर्नुपर्ने आश
न सर्नुपर्ने बास
दिँदा खुसी बरु
फुटाएर मूलहरू
सिन्चित गर्न पुग्ने सिङ्गै धर्ती
पठाइरहेछन् प्राणवायु निरन्तर
बनेर पुल
जीवन
र मृत्युको
बोकेर तमाम खानीहरू
आफ्नै गर्भभित्र
छुट्टाउँदै भौगोलिक साँध सिमाना
बनेर भन्ज्याङ्ग चौतारीहरू
जप्दै पहाडी मुलुकको मन्त्र
फलाएर अनेकथरी फलफुल
अन्न र सागपातहरू
ल्याएर फरकपन जीवन शैलीमा
विविधता ल्याउँदै मुस्कान बाँडिरहेछन्
आहा ! कति भाग्यमानी छन् पहाडहरू
लाग्छ, सुकाएर बिस्कुन बीचमा
रखवारी गर्न वरिपरि लाम लागेर
उभिए जस्तै
गौरवका प्रतिक
अनि रक्षक बनेर
गाँसेर हिमालसँग मित्रता
उमारेर गर्भबाट कोशी कर्णाली
आफ्नै छाती डोजरले
उधिनेर खोक्रो बनाउँदासम्म
फडानी गरी विरूप पार्दासम्म
पनि मौन
र स्थिरताको पाठ पढाउँदै
सुरक्षा कवच बन्न पाउँदा
आफैमा गौरवान्वित छन्
आहा ! साँच्चिकै
भाग्यमानी छन् पहाडहरू !!
*******
सतर्क हिमपरी !
तिमीलाई टाढैबाट देखेर
मोहित हुँदै कल्पी रहन्थेँ
प्रशंसा कसैले गरे
ईर्ष्याले जलिरहन्थेँ
तर अनायास
एकदिन
तिम्रै बाटो भएर
उडेथ्यो जहाज
जहाँबाट पाएथेँ
तिम्रो सान्निध्य
औँलाले छुलाझैँ गरी
भएथ्यो आभास निकटताको
साँच्चै तिमी
कति सुन्दर
स्वच्छ
रूप
र सौन्दर्यले धपक्क बलेकी
राजकुमारीजस्ती
सेतो
र स्निग्ध
छुँदै दाग लाग्नेजस्ती
के को होला दुनियाँमा
तिमीजस्तै पवित्र
शीतल
र मायालु
ए, प्रिय हिमपरी !
तिम्रो एक झलकखातिर
सात समुद्र तर्छ मान्छे
आकाशमै
घन्टौँ फन्को मार्छ मान्छे
तिमी छौ नै त्यस्तो
सेतो
र सफाको पर्याय
आहा!
छोइरहूँ
हेरिरहूँ
तिमीमै हराउँजस्ती
जब उदाउँदो
सूर्यले चुम्बन गर्दै
तिम्रो मुहारमा
सुनौलो लाली पोतिदिन्छ
मुसुक्क मुस्काउँछ्यौ तिमी
आहा !
त्यो अवर्णनीय मुस्कान
सूर्यास्तमा पनि त
बिदा माग्छ सूर्य
विदाइको आलिङ्गन गर्दै
र सुनौलो रङ्गीन पछ्यौरा
ओढाउँदै तिमीलाई!
आहा !
तिमी कस्ती बेदाग
सेतो गुलाब
चौंरीको नौनी
कपास
र बादलजस्ती
आखिर तिमी छौ
र त
देश सुन्दर छ
तिमी भएर त
हावा रोकिन्छ
वर्षात हुन्छ
र देशै धपक्क बल्छ !
खबरदार !
होसियार !
सताउन
कोतर्न
कोपर्न आउलान् तिमीलाई
जे जे भन्लान् नपत्याउनू
जस्ती छ्यौ
ठिक छ्यौ
आफैँमा पूर्ण छ्यौ
ध्यानमग्न तिमी
ध्यानमै रमाउनू
तातो बाफ आउला
पगाल्न तिमीलाई
आँधीहुरी आउला
धकेल्न तिमीलाई
तर सधैँ अडिग भइरहनू
शान्ति
र सुन्दरताको मन्त्र
हृदयदेखि नै जपिरहनू
किनकि पग्लनु
र अग्लनु
तिम्रो नियति हो
त्यसैले
बसिरहूँ अविचलित
यसैगरी सधैँभरि
भएर सतर्क
प्रिय हिमपरी !!
– भूमिकास्थान ९ अर्घाखाँची हाल ललितपुर




No comments:
Post a Comment