गाउँको बीचमा रहेको सानो घरमा रमेशको ठूलो ऐना थियो । बिहान ऊ ऐनाको अगाडि उभिएर आफ्नै अनुहार नियाल्थ्यो ।
– “सुन्दर, धन, दौलत, पद, प्रतिष्ठा र सफल व्यक्ति म जस्तो कोही छैन,” ऊ मुस्कुराउँदै भन्थ्यो ।
– बिस्तारै रमेशको बोली फेरिन थाल्यो । उसले गाउँका साथीभाइलाई सानो देख्न थाल्यो ।
– साथीहरू टाढा हुन थाले । उसकी आमाले भनिन्, “बाबु, धेरै ऐना हेर्दा मान्छे अन्धो पनि हुन्छ ।”
– रमेश हाँस्यो, “आमा, ऐनाले कसरी अन्धो बनाउँछ र ?”
– रमेशको व्यापार डुब्यो । उसले सहयोग माग्न खोज्दा, कोही अगाडि आएन ।
– एक्लै कोठामा फर्केर ऊ फेरि ऐनाको अगाडि उभियो । तर यसपटक उसको अनुहार फिक्का थियो, आँखा झुकेका थिए ।
– उसले बिस्तारै भन्यो, “म त आफैलाई मात्र हेर्दै रहेछु, अरूलाई कहिल्यै देखिनँ ।”
– त्यस दिनपछि रमेशले ऐनामा कम, मानिसहरूको आँखामा बढी हेर्न थाल्यो ।
- रुकुमकोट
--------------------------------------


No comments:
Post a Comment