Tuesday, July 14, 2026

लघुकथा (अङ्क ३६ मा प्रकाशित)


सहरको बीचमा एकदिन एउटा मानिस लड्यो । खुट्टा चिप्लिएको, टाउको सडकमा ठोक्किएको—
र ऊ उठ्न खोज्दै थियो ।

तर उठ्नु अघि वरिपरि भीड जम्मा भइसकेको थियो । पहिलो मानिसले मोबाइल निकाल्यो— “लाइभ जान्छु, मानिसको हालत देखाउनुपर्छ ।”

दोस्रोले भन्यो— “यो पक्कै मातेको हो ।”
तेस्रोले अनुमान थप्यो— “होइन, चोरी गरेर भाग्दै थियो होला ।”
चौथोले निष्कर्ष निकाल्यो— “यस्ता मान्छेलाई पाठ सिकाउनुपर्छ ।”

त्यो मानिस उठ्न खोज्दै करायो—
“मलाई… उठाइदिनुहोस्‌…”

तर आवाज केवल मोबाइलबाट मात्र प्रत्यक्ष प्रसारण भयो । भीडले भने हाँस्दै तमासा हेरिरह्यो ।
केही समयपछि ट्राफिक प्रहरीले आउँदै भीड हटायो र मानिसलाई उठायो । “के भयो?”
कमजोर स्वरमा मानिसले भन्यो— “म… कामबाट फर्किंदै थिएँ… खुट्टा चिप्लियो…”

सयौं आँखा वरिपरि थिए, तर कसैले हात बढाएन । तर मोबाइलमा उसकै पीडा कैद भइसकेको थियो ।

भिडियो भाइरल भयो— “सहरको बीचमा लडेको एक व्यक्ति ।”
हजारौं प्रतिक्रिया आए—“ठिकै भयो ।”
तर एउटै कुरा कसैले लेखेन— “मैले उसलाई उठाएँ ।”

फेरि प्रमाणित भयो मानिसभन्दा दर्शक धेरै छन्, मानवताभन्दा तमासा ।

- रमेश विकल प्रतिष्ठान मार्ग आरुबारी

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:

Post a Comment