कर्म
-हरि आचार्य
बेलका न.पा. २, गल्फडिया, उदयपुर
“आमैको घण्टीले आँखा खुलिहाले !’’ हरेक बिहान चार बजे भन्ने कुरो आज पनि बाले भन्नुभयो ।
“हरि, ए हरि ! थापा खोरिया जोत्न लानुछ, गोरुलाई घाँस हाल् हाल् ।“ उहाँको मुखबाट निस्कने दोस्रो वाक्य पनि दोहोरियो । “गोरुले घाँस खाइसक्ना साथ नुनढुटो टन्न खुवा है !’’ बाले बोल्ने तेस्रो वाक्य पनि सुनियो ।
“पल्टनबाट सुस्ताउन आएको छोरालाई एकाबिहानैदेखि सास पनि फेर्न दिँदैन यो बासु !’’ यसो भन्दै पूजाआजाका सामग्रीका साथ छिमेकी आमै आँगनमा उभिइन् ।
बाले पनि कामको लछारोले माटो भएको शरीर तन्काउँदै मुखबाट आवाज निकाल्नुभयो; “ऐय्या, कस्तरी शरीर गलेर फतक्कै भएछ ।’’
“के ऐय्या र आत्थु भन्छस् ? एकाबिहानै ’हरि, हरि’ भनेर चिच्याउँदै अर्कोको ध्यान भङ्ग गर्छस् । र, पनि जताततै तँलाई नै लाभैलाभ छ ।’’ आमैले मनको आक्रोश छाद्नुसम्म छादिन् ।
आफ्नो रिससँग मल्लयुद्ध गर्ने आँट कसैले नगरेकोले उनले गुनासो मिश्रित स्वरमा थपिन्; “मैले यत्रो पूजाअर्चना र व्रततीर्थ गर्दा पनि धनधान्यले पूर्ण भइनँ । तँ चाहिँ झुक्किएर भगवान्को नाम लिन्छस् र पनि फलिफाप सोहर्छस् !’’
जवाफमा बाको साटो छिमेकी मैयाँ हजुरीले भनिदिइन्न्; “आमै, बिहानबिहान घण्टी बजाउँदै मन्दिरको ढोका खोल्न मात्रै हैन; सुख डाक्नु छ भने बासुको जस्तै खोरिया खनजोत गर्न थाल्नुस् ।’’
No comments:
Post a Comment