Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

ठूलो एकादशी

-रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ  


'आज त ठूलो एकादशी, बिहान उठेर नुहाइ धुवाइ गर्नुपर्छ छोरा, उठ् ।' बाले यति भनेपछि 'हस्' भन्दै सिरक फालेर ऊ उठ्यो र नुहाइ धुवाइ गर्न थाल्यो ।

'आज त ठूलो एकादशी, लिङ्गो गाड्नुपर्छ । जा, गएर लिङ्गो लिएर आइज ।' आमाको वचन पूरा गर्न ऊ बाँसघारीतिर गयो र एउटा ठिक्कको बाँसको लिङ्गो काटेर छिमलछामल र खुर्कीखार्की गरी आँगनमा राख्यो ।

'आज त ठूलो एकादशी, फूलको लट्ठा तार्छन् । हामीलाई पनि लैजानु है दाइ, पिस्ती दोभानमा ...' भाइबहिनीको कुरा काट्न नसकेर फूल तार्ने ठाउँमा भाइबहिनीलाई पनि सँगै लिएर गयो । ठुलो एकादशीको दिनमा खाना खाने त कुरै थिएन । बरु फलाहारेले फलफूल, दही, केरा र सातुको व्यवस्था गरेका रहेछन् । त्यही खाएर फूलको लट्ठो तारेपछि ऊ पनि भाइबहिनीलाई लिएर फर्कियो ।

'आज त ठूलो एकादशी, तिहारको निख्य्रौलो ! पञ्च भलाद्मीको गोलमेच बैठकमा जुट्ने होला नि ?' साथीहरूको आग्रह स्वीकार गर्दै साथीहरूले होटेल बुक गरे ठाउँमा ऊ पनि खुसुक्क छिर्यो र आसन जमायो ।

'यतिञ्जेलसम्म त तिथि पनि कट्यो होला नि ?...' तास फेट्दा फेट्दै ऊ थप कुरा गर्न खोज्दै थियो । होटेल साहुले कुरा बुझ्यो र भनिहाल्यो – 'भुटुवा र ग्रेभी के ल्याइदिम् अनि ड्रिङ्कस् आइटममा लोकल कि अरू ?'

No comments:

Post a Comment