Tuesday, December 5, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

मातातिर्थ

-शेखर अर्याल
मदाने ३, गुल्मी हालः कीर्तिपुर–४, काठमाडौँ  


सामाजिक सञ्जालका भित्ताहरूमा मातातिर्थ औंसीको चहलपहल देख्दा किनकिन मलाई अतीतका दिनहरूले घोचिरहेको थियो, वर्तमानको यथार्थपरक विषयले विगतको वस्तुतथ्य सपनालाई स्मरण गराउँदै ।

“ए ! छिटो गर्नुहोस् । मिठाई, फलफूल र कपडा लिन जान ढिलो भइसक्यो भन्या?” उनी ठूलो स्वरमा कराइन् ।

“कपडासपडा लगाऊ है, म आइहालेँ ।” भनेको पनि पन्ध्र मिनेट भइसकेछ । हत्त न पत्त शरीरमा खोल भिरेर म निस्केँ ।

हतारिँदै म चोकमा के पुगेको थिएँ उनी र वरपरका उनका साथीहरू भेला भइसकेका रहेछन् । के दख्खल दिनू भनेर म अलिक पर उभिएँ । उनले भनिन्, “हैन, आज त हाम्रो पवित्र दिन है ? यस संसारमा खुट्टा टेकाउने भगवान्को पूजा गर्ने दिन हैन ?”

“हुन त हो, तर ती भगवान् कहाँ पाइएला अब खोजेर ?” काकीले मुख निन्याउरो पार्दै भनिन् । यस कुराले मेरो हृदय छियाछिया भयो । काकीले ती आमाको सेवा गरे हुने ? मेरो एकोहोरो हेराइ लौरो टेकेर घस्रिँदै उकालो लागेकी हजुरआमामा प¥यो ।

“मेरी आमाले संसार छाडेको पनि चार पाँच वर्ष भएछ । घरकी बूढीमाउँलाई पालेर बस्नुपरेको छ । मेरी ती भगवान्रूपी आमालाई कहिल्यै भेट्दिन है ?” काकी विलाप गर्न लागिन् ।
“हैन, यी काकी के भन्छिन् हँ ? उता आमा बितेको चार पाँच वर्ष भएछ, यता आमाको अवस्था नाजुक । के यी आमाको सेवा गर्दा भगवान् प्राप्त हुँदैन ?” यसले मलाई अतीतको स्मरण गरायो ।

तस्बिरमा लुकेकी मेरी आमाले, “बाबू, यो संसार कति स्वार्थी छ है ? आफ्नो इज्जतको लागि देखावटी पर्व मनाउने तर धरतीमाताको अनुहार हँसाउन किन प्रयत्न गर्दैनन्?”

म आमासँग सोध्दै थिएँ । आमाले भन्नुभयो, “त्यो सामाजिक सञ्जालको रङ्गीचङ्गीले केही हुँदैन, जाऊ तिमी, मातातिर्थ स्नान गरी पवित्र मनले मलाई स्मरण गर अनि तिमी तर्फ आइरहेकी आमा र धरतीमाताको सेवा गर ।” आमाकायी सपनारूपी वाणी सुन्दै गर्दा म त झसङ्ग ब्युँझिएछु ।


No comments:

Post a Comment