Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

गोठ

-नवराज न्यौपाने ‘मौन’
मातातिर्थ, काठमाडौँ 


झुमा गुम्बामा पूजापाठमा तल्लीन भइरहेको बेला उसलाई पल्लाघरे दाइ आएर भने – ‘‘किपल ! तिम्रा बा गोठमा बिरामी छन् । खानेकुरा पनि सकिएको छ रे , तिमीले पु-याइदिनु है !’’

ऊ हस्याङ्फस्याङ् गर्दै घरमा पुगेर आमालाई भनी – ‘‘आमा बा त बिरामी परेर सामान लिन आउन सकेनन् रे ! म सामान लिएर गोठमा पुगेर आउँछु है !’’

‘‘म पनि जान्छु नि नानी !’’ आमाले भनिन् । अनि उसले काकाको घरबाट दुइवटा घोडा लिएर आई । एउटा घोडामा सामलतुमल लादियो । अर्को घोडामा आमाछोरी चढेर दुई घण्टाको उकालो यात्रापछि गोठमा पुगे ।

असोजको महिना भएपनि तीन हजार छ सय मीटर उचाइको यो खर्कमा चिसो निकै बढेको थियो । गोठ तल सार्ने बेला भएको थियो ।

उसको बालाई चिसो लागेर सामान्य ज्वरो आएको रहेछ । मेथी ज्वानो फुराएर बिरेनून मिसाएको तातोपानी खान दिएपछि अलि बिसेक भयो । अनि सबैले भटमास मिसाएको कोदोको खोले खाए । एक चक्की सिटामोल खान दिएपछि ज्वरो पनि हट्यो । 


‘‘नानी तिमी त झुमा बनेर गुम्बामा बसेकी मान्छे हौ । घरगृहस्थी, खेतबारी र गोठको काम तिमीले गर्नुहुन्न । हाम्रा पुर्खाले पुस्तौंदेखि गोठ राख्दै आएका हुन् । अब हामीपछि गोठमा बस्ने कोही छैन । तिम्रो दाइ काठमाडौंमा दोकान खोलेर बसेको छ । अब चार वर्षभित्र सबै याकचौंरी, भेडाच्याङ्ग्रा, घोडाखच्चड र झोपा बेचेर गाउँमा सानो होटल खोलेर हामी बूढाबूढी गाउँमा नै बस्ने हो । तिमी गुम्बामा नै बस्नु है । झुमाले खेतबारी र गोठ हेर्ने काम गर्नु हुँदैन ।’’ बाले सुस्केरा हाले ।

हेर्दाहेर्दै हिउँ पर्न सुरु ग¥यो  । गोठ सार्ने काम गर्न आमा केही दिन गोठमा नै बस्ने भइन् । ऊ एउटा घोडा लिएर फर्की । भोलिपल्ट हेर्दा त गुम्बासम्म नै हिउँ परिसकेको थियो । उसलाई गोठ र आमाबाबुको चिन्ता लागेर आयो ।

अनि गुम्बाभित्र सरसफाइ गरेर दीप प्रज्ज्वलन गरेर प्रार्थना गरी –‘‘हे बुद्ध भगवान् ! मेरा बाबाआमालाई केही पनि नहोस् ।’’

No comments:

Post a Comment