मन
-लता के.सी.
तिनकुने, काठमाडाैँ
दाजुले फोनबाट खबर गर्नुभयो, "छोरीको गुन्युचोलो छ । एक साता बस्ने गरेर आउनू है, बहिनी !"
उनी टोलाइन्, "धेरै वर्षपछि बल्ल माइत जान पाइने भयो । फुपू, मामा सबैसँग भेट हुनेछ । बाल्यकालका दौतेरी पनि भेट भए झन् मज्जा हुने थियो । उनी उताको वातावरण सम्झेर रमाउन थालिन् ।"
श्रीमानले "खाना पस्क न ! अफिस जान ढिला भयो ।" भन्दा उनी झसङ्ग भइन् ।
खाना खाँदै गर्दा जोईपोइले को को जाने हो भनेर योजना बुने ।
आखिर उनी प्लेनबाट एक्लै जाने टुङ्गो भयो । खर्च जोड्न थालिन् । प्लेन भाडा, भदैलाई उपहार, आफ्नो फुटकर खर्च सबै जोड्दा ३५ हजार ! बैँक गइन् । ब्यालेन्स शून्य गरेर नगद झिकेर ल्याइन् । भोलि टिकट र अरू सामान किन्नु पर्ला भनेर लिस्ट बनाउन बसिन् ।
"दिदी !" घरको कामधन्दा गर्ने सहयोगी बहिनीले बोलाइन् ।
"के भयो ? काम सक्यौ? म दुई दिनपछि माइती जान्छु । घरमा सबैको ख्याल गर्नू है !"
उसले अनकनाउँदै भनी, "हस् दिदी ! छोराले चिया पसल खोल्छु भनेर २५ हजार ऋण मागेको थियो । छ भने दिनु न ! तलबमा कटाउनु होला ।"
"मेरो रमाइलो महत्वपूणर् कि एउटा गरिबको हातमुख जोर्ने मेलो ?" उनी सोचमग्न भइन् ।
छेउको ब्यागबाट पैसा झिकेर उनलाई दिँदै भनिन्, "ल यो धनको सदुपयोग गरेस् ।"
No comments:
Post a Comment