Thursday, March 21, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

कमेन्ट

-वसन्त अनुभव
घोराही उपमहानगरपालिका- १४, दाङ  


उसको साहित्यमा निकै दख्खल थियोे । कथा, कविता लगायत साहित्यका विविध विधामा कलम चलाउने गर्दथ्यो । फेसबुकमा रचना पोस्ट गर्दा प्रायः मलाई ट्याग गर्ने गर्दथ्यो । मैले लाइक, कमेन्ट गरेर उसको हौसला बढाइदिन्थेँं । ऊ निकै खुसी हुन्थ्यो । कहिलेकाहीँ कल गरेरै आभार पनि प्रकट गर्दथ्यो ।

धेरैपछि आज मेरो सृजना पनि प्रतियोगितामा उत्कृष्ट भएको थियोे । मेरो खुट्टा भुइँमा थिएन । मैले खुसी बाड्न चाहन्थेँ; तसर्थ उक्त सृजना फेसबुकमा पोस्ट्याएँ । ऊ लगायत धेरै साथीहरूलाई ट्याग पनि गरेँ । 

'साथीहरूको कस्तो कमेन्ट आउँला ?' जान्न आतुर थिएँ । घरी-घरी फेसबुकमा नियालिरहेको थिएँ । एकछिनपछि उसको कमेन्ट आएको नोटिफिकेसन देखायो । खुसी र उत्सुकतासँगै त्यसलाई खोलेँ । कमेन्ट हेर्दा मेरो खुसी, उमङ्ग सबै मरेर आयो । जहाँ लेखिएको थियोे- "भो भो ! यसरी ट्याग गरेर अरूलाई डिस्टर्ब गरिरहनु पर्दैन । ट्याग नगरे पनि देखिन्छ ।"


No comments:

Post a Comment