Thursday, March 21, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

एकादेशको कथा-४

-रत्न प्रजापति
लोकन्थली, भक्तपुर  


त्यो देशले एक सय चार वर्षसम्म जहाँनियाँ निरङ्कुश राणातन्त्र भोग्यो । राणातन्त्र देशका लागि अफापसिद्ध छ भन्दै जनता त्यस विरुद्ध लडे । 

लडेर कोही सहिद भए । कोही देश निकाला भए । तर देशमा प्रजातन्त्र आयो । प्रजातन्त्रसँगै राजतन्त्र हाबी भयो । अनि त्यो प्रजातन्त्र राजतन्त्रमा विलीन भयो । अनि त्यो देशले फेरि निरङ्कुश राजतन्त्र भोग्यो । राजतन्त्र देशका लागि अफापसिद्ध छ भन्दै जनता फेरि त्यस विरुद्ध लडे ।

लडेर फेरि कोही सहिद भए । कोही जिउँदा सहिद भए । तर देशमा लोकतन्त्र आयो । गणतन्त्र पनि आयो । जनताले सोचेका थिए अब त सुख र शान्ति पाइएला । देश समृद्ध बन्ला । तर त्यस्तो भएन । 

अनि जनताले सोच्न थाले - खोई कहाँ छ लोकतन्त्र र गणतन्त्र ?

साँच्चै त्यहाँ लोकतन्त्र छैन र गणतन्त्र पनि छैन । बरु लोकतन्त्रको ठाउँमा लुटतन्त्र छ । अनि गणतन्त्रको ठाउँमा डनतन्त्र मात्रै छ । 

देश लुटेराहरूको कब्जामा छ । त्यो देशको सरकारको अनुहार लुटेराको अनुहारसँग ठ्याक्कै मिल्छ ।


No comments:

Post a Comment