Thursday, March 21, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

सम्बोधन

-दिव्य गिरी
टिकाथली, ललितपुर  


केही दिनदेखि गाउँघर र शहर बजारमा एउटा हल्ला फैलिएको थियो - महामहिमले सम्बोधन गर्दैछन् । 

निश्चित दिनको निश्चित समयभन्दा झन्डै दुई घन्टा अबेर आउनुभयो महामहिम । शहरको मुख्य चौबाटोमा थियो सम्बोधनस्थल ।

‘केही कार्य व्यस्तताले यहाँ समयमै आउन सकिन । सर्वप्रथम यहाँ उपस्थित सबैलाई म मेरो एउटा गुनासो भन्न चाहन्छु । हिजोआज सबैले हाम्रो खुट्टाको जुत्ताबारे टीकाटिप्पणी गर्दै हामीलाई ’चप्पले’ को संज्ञा पनि दिएको कुरा धेरै सुनियो र पढियो पनि । हो, त्यति बेला हाम्रो गाउँमा जुत्ता नै पाइन्थेन । छिमेकी देशको मान्छेले बेच्न ल्याएको टायरको चप्पल पाइन्थ्यो, त्यही किनियो र त्यही लगाएर शहर पसियो । त्यो चप्पल निकै बलियो थियो । कहिले पनि खिइन्थेन । 

एकपटक किनेपछि जीवनभरलाई नै पुग्थ्यो भन्दा फरक नपर्ला । बिगतलाई लिएर अहिले कसैको पनि कुरा काट्नु राम्रो होइन । कुरा काट्नेहरूले बरू आफ्नै हात गोडाका नङ् काट्नु, कपाल र दाह्री काट्नु । सफा भएर बस्नु, यो स्वास्थको लागि राम्रो पनि हो । म जुँगा काट्नुचाहीँ भन्दिन । किनकि म आफैलाई पनि जुँगा औधी मनपर्छ । हुनत यो काट्नु भन्ने शब्द मलाई पटक्कै मन पर्दैन तर पनि यससँग मेरो साइनो गाँसियो । त्यतितिर नजाउँ ।’ 

महामहिमको कुरा सुनेर सबैजना हाँसिरहेका थिए । त्यही बेला एउटा विशाल जम्बो जेट महामहिमले भाषण गरिरहेकै माथि उडेर सुदूरपश्चिमतिर जाँदै थियो । भीडबाट एकजना वृद्धले ठूलोठूलो स्वरमा भने- ‘महामहिमज्यू ! अब यो काट्ने र ढाँट्ने कुरा सुन्दासुन्दा हामी आजीत भइसक्यौं । ऊ त्यो हवाईजहाजमा चढेर देशको डाँडा काटिरहेका हाम्रा सन्तानहरूलाई तपाइँ कहिले रोक्नु हुन्छ ?’



No comments:

Post a Comment