Friday, March 22, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

नयाँ नाम

-लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही  


एकदिन सांसद कुबेरप्रसाद गाउँ भ्रमणमा आइपुगे ! चुनाव जितेर राजधानी फर्केदेखि उनी माननीयको रुपमा गाउँमा आएका थिएनन् ! उनीसँग अरुले गाउँको विकासको बारेमा कुरा गरे पनि रामबहादुरले छोराछोरी पढाउन नसकेकोलाई महत्वपूर्ण कुरा बनाएर दुखेसो पोखेको थियो !

हिँड्ने बेला माननीयले मीठो बोलीमा भने, “मैले बुझेँ राम दाइ ! हुन त अहिले सरकारले माध्यमिक तहको शिक्षालाई निःशुल्क गरेको छ ! तपाईंको त्यस्तै बिचार छ भने म तपाईंको छोरालाई शहर लगुँला ! मेरो घरायसी कामधन्दामा सघाउँछ पनि ! मेरा छोराछोरीसँगै पढ्न पनि जान्छ !’’

माननीयका कुरा सुनेर उ खुसीले एक हात उफ्रियो ! अब उसको छोरो हरिबहादुर माननीयको घरमा कामदारका रुपमा भर्ती भयो ! शहर आउन पाएकाले उसको अनुहारमा खुसीको लहर सलबलाइरहेको थियोे !

सांसदका छोराछोरी नयाँ पोशाकमा सजिएर महङ्गो विद्यालयमा पढ्न जान्थे ! बिचरो हरिबहादुर पैसा तिर्नु नपर्ने सरकारी विद्यालय पनि जान पाएन ! एकदिन सांसदका छोराछोरी विद्यालयमा पढेको कुरा सम्झेर छलफल गर्न थाले ! भाइ चाहिँले भन्यो, “थाहा छ दि ! आँखा नदेख्नेलाई अन्धा भन्नु हुन्न रे ! दृष्टिविहिन भन्नु पर्छ रे !’’

दिदी चाहिँले भनी, “हो, अब त गणतन्त्र आयो रे ! गरीब दुःखीलाई पनि तपाईं भन्नु पर्छ रे ! हेप्नु हुन्न रे ! खुट्टा नभएकोलाई शारीरिक अपाङ्ग, कान नसुन्नेलाई सुस्त श्रवण, लठेब्रोलाई बौद्धिक अपाङ्ग र बौलाहालाई मानसिक रोगी भन्नु पर्छ ! बुझ्यौ भाइ !’’

हरिबहादुर उनीहरूको गफ एक ध्यानले सुनिरहेको थियोे ! यति नै बेला सांसद कुबेर आइपुगे ! हरिबहादुरले उनीहरूको अनुहार पढेर भन्यो, “अनि म जस्तो नोकरलाई के भन्नु पर्छ नि ?’’

सबै खितित्त हाँसे ! उ भने मलिन अनुहारले उनीहरूलाई नै हेरिरहेको थियोे ! माननीयकी छोरीले भनी, “तँ जस्तालाई - खाते !’’


No comments:

Post a Comment