Friday, March 22, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

 नेताको कथन !

-सुरेशकुमार पाण्डे
दाङ घोराही १८  


हजुरको विचार सुनेर धेरै खुसी लाग्यो जमानजी । वाक्कै 'हजुरले भनेको जस्तै' युवाहरू विदेश नगए र स्वदेशमै सानोतिनो काम गर्छन् भने । देशमा छिट्टै विकास हुनेथ्यो ।’’ सागर नेता जमानको प्रशंसा गर्दै भन्यो ।

जमानले सागरको मुखबाट आफ्नो प्रशंसा सुन्दा चाक्लो छाती बनायो । र सगरमाथा जस्तो अग्लो शिर बनायो । ऊ मख्ख मुस्कुरायो ।

ठुली "सागरकी स्वास्नी"ले चिया नास्ता बसेकै ठाउँमा टकारिन् ।
उनीहरू एउटा युवाहरूको प्रशिक्षण कार्यक्रम सकेर सागरका घर पुगेका थिए । सागर पनि उक्त कार्यक्रममासँगै थियो ।

दुवै जनलाले चिया नास्ता र गफ पनि सँगसँगै गरिरहेका थिए ।
"अहिले युवा विहिन भएको छ देश । मर्दा मलेमी र विहेका जन्ती खोज्दा भेट्टिदैनन् । त्यसैले युवाहरूलाई स्वदेश मै बस्न सक्ने वातावरण बनाउन जोड दिनुपर्छ ।" -नेता जमानले चियाको चुस्कीसँगै आफ्नो विचार राख्यो ।"हो नी सर ! हजुरको विचार महान छ । अहिलेको अवस्थामा युवाहरूलाई विदेश जान रोक्नै पर्छ ।" -सागरले नेताको कुरामा समर्थन गर्दै भन्यो ।
"आज सरस्वती पूजा छ एउटा स्कुलले अतिथिको रूपमा निम्तो पठाएका छन् । म अब लाग्नुपर्छ ।" -नेता जमानले बिदा माग्दै भन्यो ।
सागर केही बोल्न आँ गरेकै थियो । नेता जमानको मोबाइल बज्यो,  "हेलो सर ! हजुरको छोराको अमेरिकाको भिजा लाग्यो" उताबाट अज्ञातको आवाज प्रष्टै सुनिन्थ्यो ।

हो र ! धेरै धेरै धन्यवाद हजुरलाई । नेता जमानको अनुहारमा गुराँस फुलेको झैँ खुसीले लाली छायो ।

सागर र ठुली अहिले नेता कै अनुहारमा टलुटलु हेरिरहेका थिए ।


No comments:

Post a Comment