Friday, March 22, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

 पुत्र प्रेम

-उपेन्द्रप्रसाद खनाल
मनमैजु, काठमाडौँ 



आर्थिक वर्षको अन्ततिरको कार्यालयको कामले थकित भएर घर फर्किरहेको दिनेश कुन बेला घर पुगुँला र सबै कुरा बिर्सिएर सुस्ताउला भन्ने सोचले घरभित्र छिरेको मात्र थियो आफ्नो श्रीमतीको रौद्ररूप देख्न परिहाल्यो । वास्तविक कुरा के हो बुझ्न खोज्दै थिए दिनेश ।

तर, उसले बोल्नु अगावै श्रीमतीको बखान सुरु भइहाल्यो । यही पारा हो भने तिम्रो बुढीआमा तिमी नै स्याहार म माइत जान्छु जे हुन्छ हुन्छ । बिचरा दिनेशको आमा ८५ काटेका कारण र कमजोर शरीर, हातखुट्टा काम्ने रोगले अरुको सहारा बिना हिंड्न सक्ने अवस्था थिएन । समय समयमा औषधि खुवाउनपर्ने र दिनभर स्याहार गर्नुपर्ने सासुआमाकै कारणले कतै बाहिर निस्कन नपाउँदा आधुनिक बुहारीलाई उनी घाँडो नै सम्झेकी थिइन् ।

हरेक दिनजस्तो बुहारीको बचन बाणले त्रस्त आमाले छोराको राम्रो होस् भन्ने ठानी आफूलाई वृद्धाश्रममा लगिदिन जोड गर्न थालिन् । दिनेशले सोच्यो आमाकै इच्छा छ भने त मैले के गरौँ? यता सबिताको पनि मन शान्त हुने । बरू समय समयमा भेट्न जानुपर्ला । यस्तो सोच्दै भारी मनले आमाको झोली कुटुरा ठिक पारी साँझको समयमा समाजले थाहा नपाउने गरी वृद्धाश्रममा छोड्न पुगेको दिनेश आमाको लागि रातको समयमा सजिलो होस् भनेर टर्चलाइट किनेर झोलामा राखिदिएर फर्कदै थियो केही वर आएको दिनेशलाई आफ्नो आमाले बोलाएको सुन्यो । यसो फर्कि हेरे आमा आफूतिर आउँदै रहिछन् । उसले सोध्यो फेरि किन नी ? आमाले टर्चलाइट फिर्ता दिदैं भनिन् हेर बाबू रात छिप्पिसकेको छ, बाटो खाल्डाखुल्डी छ लड्लास्, यो टर्चलाइट बालेर बिस्तारै जा । आमाको यो प्रेमले भरिएका वाक्यले पृथ्वी नै रिङ्गेको अनुभव भयो । यति भन्दै आमा आश्रममा फर्के दिनेशले परसम्म हेरिरह्यो ।

No comments:

Post a Comment