Friday, March 22, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

 हकदार

-मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ  



स्वर्गबाट प्रकाशित हुने दैनिक पत्रिकामा खबर छापिए बमोजिम, तोकिएको दिन चित्रगुप्तको कार्यालयको हलमा मानिस जम्मा हुन थाले ।

एक, दुई... गरी हजारौं नेपाली थुप्रिए । सानो हलमा त्यतिका मान्छे अटाउने कुरै थिएन । भित्र नअटेपछि आगन्तुकहरूले आयोजकलाई घेराउ गरे ।
“सम्मानका लागि बोलाएर हामीलाई बस्ने ठाउँ समेत नदिने !’’ भन्दै नाराबाजी र तोड्फोड् समेत हुनथाल्यो ।

असहज स्थिति र अराजकता बढ्दै गएपछि चित्रगुप्तको मध्यस्थतामा वार्ता टोली बनेर तत्कालै छलफल सुरु भयो ।

“हामीले चार जना सहिदको सम्मान कार्यक्रम पो राखेका हौं त, तपाईंहरूलाई सम्मान गर्ने भनेर कस्ले भनेको थियोे र ?’’ छलफलको क्रममा आयोजकले भने ।

यो सुनेर आन्दोलनकारी टोलीको प्रतिनिधि कड्किंदै बोल्यो, “हामी पनि सहिद हौं, त्यसैले सम्मानका हकदार हौं ! लागूऔषध ओसारपसार, डकैती या सवारी दुर्घटनामा, जसरी मरे पनि हामीलाई सहिद घोषणा गरेकै छ सरकारले !’’



No comments:

Post a Comment