Friday, March 22, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

 निरुत्तर

-त्रिचन्द्र प्रतीक्षा
डल्लु, चागल, काठमाडौँ



छोराले आफ्ना वृद्ध बुबालाई वृद्धाश्रममा छोडेर फर्कदै थियो । बीच बाटोमै उनकी श्रीमतीको फोन आयो । श्रीमती फोनमा भन्दै थिइन्- सुन्नुस् त बुबालाई दशैं र तिहारको बिदामा पनि त्यहीं आश्रममै राख्ने, घरमा नपठाउने कुरा निश्चित गर्नुस् है ! यस्तो रमाइलो गर्ने चाडवाडमा पनि बूढालाई स्याहार गर्दै बस्न सक्दिनँ म । बरु पोखरातिर घुम्न पो जानुपर्छ ।

श्रीमतीका कुरा नटुङ्गिदै बीच बाटोबाटै छोरो फर्केर आश्रम पुग्दा, बाबु वृद्धाश्रमको हाकिमसँग यस्तो आत्मीयजस्तै भएर कुरा गर्दै थिए कि, मानों, दुवैजनाको पुरानो मित्रता र घनिष्ठ सम्बन्ध छ ।

जब उसको बुबा आफू बस्ने कोठा हेर्नका लागि भन्दै उठेर गए, आफ्नो उत्सुकता मेटाउनका लागि छोरोले आश्रमको हाकिमसँग सोधिहाल्यो तपाइँ मेरो बुबालाई कहिलेदेखि चिन्नुहुन्छ ?

मुसुस्क मुस्कुराउँदै बूढो हाकिमले जवाफ दियो- गएको पैंतीस वर्षअघिदेखि चिन्छु उहाँलाई । त्यो बेला हाम्रो यस अनाथालयमा आएर एउटा अनाथ बच्चालाई 'धर्मपुत्र' बनाएर लग्नुभएको थियो उहाँले ।

No comments:

Post a Comment