Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

आमाको मन

-म्यामराज राई
हतुवागढी-६, होम्ताङ्, भोजपुर हालः जापान 


"ढोग गरेँ, आमा !" नरेश दम्पत्ति दुवैले एकसाथ आमा शुभमायालाई ढोगे । तर, आमाले बेवास्ता गरिन् । एक शब्द बोलिनन् । ढाड फर्काएर उभिरहिन् ।

नरेश आफ्नी नवदुलहीका साथ आमालाई लिन वृद्धाश्रम पुगेको थियो । सूर्यको किरणले धरतीमा उजेलिए जस्तो छोरो र बुहारीको आगमनमा आमाको मुहार उजेलिएन । बरु करिब आधा दशक पहिले भोगेको पीडाले उनलाई नराम्ररी झस्कायो । ’बिनसित्ति गाली गर्ने, कुट्ने छोरोसित को बस्छ ? बालबाल बचेर यहाँसम्म आएँ । तँसँग जान्छु होला जस्तो लाग्छ ? यत्रोको नि जान्नँ ।’ मनमनै छोरोमाथि आक्रोश पोखिन् ।

नरेशले माफी माग्यो । रोइकराइ गर्‍यो ।

“आइन्दा कहिल्यै दुःख दिन्नँ, आमा ! उबेलाको मेरो गलत आदतहरू सबै त्यागेको छु । हेर्नुहोस्, त ! फूल जस्ती बुहारी ल्याइदिएको छु ।

“अब त म आएँ । मलाई जन्म दिने मेरी आमा सरह हजुर हुनुहुन्छ । घर जाऔं, आमा !’’ बुहारीले फकाइन् ।

“त्यस्ले कुट्छ ।“ शुभमायाले डाँको छोडिन् ।
“कान समातें । अहिले त सुध्रेको छु नि ।"
“मैले नै अबदेखि त्यसो हुन दिन्न आमा !"

वृद्धाश्रम सञ्चालकको रोहबरमा नरेशले मायाले आमालाई सँगसँगै राख्ने वाचा गर्‍यो । वरिपरिका सबैजना शुभमायालाई फकाउनेतिर लागे । छोरोले फेरि पनि दुःख दियो भने अब त तपाईं एक्लो हुनुहुन्न, भने । झिटीगुन्टा समेत तयार पारिदिए ।

“ऐय्या ! जुत्ताभित्र यी मुर्दार ढुङ्गाहरू कसरी छिरेका ?’’ नरेशले ढोकाबाहिर चिच्याउँदै आफ्नो दाहिने पट्टिको जुत्ता टकटकायो ।

“छोरो ! पैताला घोच्ने मसिना ढुङ्गाहरू एकछिन पनि सहन सकिनस् है । तैंले पीडा दिन थालेको दिनदेखि मेरो दैनिकीमा ती ढुङ्गाहरूजस्ता पीडाहरू मैले कसरी सहिरहेको हूँला ?’’

....साथ सहयोगको खाँचो

No comments:

Post a Comment