ध्रुव दाइ, प्रश्नको उठान यसरी गरौं – तपाईंको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?
मेरो बाल्यकाल मध्यम वर्गीय परिवारको अभाव, बन्द समाजको सानो घेरा र क्षितिज टाढा छैन भने अनुभूतिहरूबीच बित्यो । त्यो बेला आकाश पनि सीमित थियो । अहिलेजस्तो संसार व्यापक र बृहत् भन्ने थाहा भएको भए शायद जीवन अझ बढी उपलब्धिमूलक हुने थियो कि भन्ने लाग्छ । तर समयलाई शायद यसरी तुलना गर्नु उचित नहोला । त्यो बेलाको सानो संसार पनि बडो रोमाञ्चक र उल्लेख्य अनुभूतिले युक्त थियो भन्ने अहिले लाग्छ ।
प्रेरणाको स्रोत वास्तवमा त्यो बेलाको समाज र टोल–टोलमा खुलेको पुस्तकालयमा गएर पत्रपत्रिका हेर्ने र उपन्यासहरू ल्याएर पढ्ने अवस्थालाई दिनुपर्छ । भर्खर खुल्न थालेको समाज थियो त्यो बेला । र देशका विभिन्न भागहरूबाट पत्रिका प्रकाशन र लेखकहरू जुरमुराउन थालेको अवस्था थियो । त्यस्तो समाजमा हुर्केकाले लेखनतर्फ प्रवृत्त गरायो भन्ने लाग्छ ।
तपाईं साहित्यमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा/बेफाइदाहरू गर्दारहेछन् ?
सबथोक हामीले फाइदा र बेफाइदामा तौलनु उचित नहोला । किशोर वयदेखि साहित्यमा लागेको हुनाले एकप्रकारले यसको आदत जस्तै भइसक्यो । लेखकै कारण चिनिएको छु, धेरै साथीभाइहरू कमाएको छु । आफ्ना अनुभूतिहरूलाई पुस्तकाकार रुप दिन पाएको छु । समाजमा एउटा छवि निर्माण भएको छ ।
तर सिक्काको अर्को पाटो भएजस्तै त्यसलाई बेफाइदा त नभनौं अलिकति व्यस्त बनाएको छ जसले गर्दा आफ्ना रचनाहरूको लागि समय आवश्यक मात्रामा दिन पाएको छैन । स्रष्टाहरूको कृतिको सम्पादन, भूमिका लेखन, कार्यक्रममा बोल्ने जस्ता क्रियाकलापले आफ्नो लागि समयको केही अभाव चाहिँ पक्कै छ ।
तपाईं नेपालभाषा /साहित्यको ज्ञाता हुनुहुन्छ । नेपालभाषा/साहित्य बारे केही जानकारी दिनुहोस् न ।
म त्यसप्रकारले ज्ञाता त होइन । तर अधिकांशका रचनाहरू पढेको छु । पढिरहेको छु । त्यसमाथि लेखन पनि अलि अलि गरिरहेको छु । नेपालभाषा नेपालको पुरानो साहित्यिक इतिहास भएको भाषा हो ।
नेपालभाषा/साहित्यमा लघुकथाको वर्तमान अवस्था चाहिँ कस्तो छ ?
नेपालभाषा/साहित्यमा लघुकथाको वर्तमान अवस्था अन्य विधाको तुलनामा सन्तोषप्रद छ । सामाजिक सञ्जालको विकासले पनि लघुकथा लेखनलाई फष्टाउने अवसर दिएको छ भन्ने लाग्छ । एक त धेरै स्रष्टाहरू यसप्रति आकर्षित हुनु, अर्को सञ्जालमार्फत यसको प्रचारप्रसारमा ध्यान जानु अनि तेस्रो कारण सानो आकारमा पनि जीनवका महत्त्वपूण घटना वा विषयलाई कथा बनाएर प्रस्तुत गर्न सक्नु आदि कारणले लघुकथाको अवस्था उर्वर छ ।
तपाईंले श्याम आशासँग सहकार्य गरेर नेपाली लघुकथामा पहिले संयुक्त लघुकथा कृति 'लघु’ प्रकाशन गर्नुभयो । त्यो समय र परिवेशको बारेमा केही संस्मरण सुनाउनुहोस् न ।
| मधिकर्मीका प्रकाशित कृतिहरू |
'लघु’ रहरैरहरमा लेखिएको र प्रकाशन गरिएको पुस्तक हो । चौंतीस–पैंतीस सालको कल्पना गर्नुहोस् । पुस्तक कस्तो कुन प्रकारले निकाल्नु पर्छ भन्ने ज्ञान थिएन । विद्यार्थी जीवन, सामान्य आय भएको मध्यमवर्गीय परिवारमा दुईचार रुपैयाँ जम्मा गर्नु मुस्किल थियो । अहिले सोच्दा जस्तै भए पनि पुस्तक निकालियो र त्यसले लघुकथाको क्षेत्रमा एउटा प्रारम्भिक पन्ना थप्ने कार्य भयो भन्दा गर्व लाग्छ ।
नेपाली लघुकथामा अनेक सिद्धान्तहरूको चर्चा उठाएर माहोल तताइएको छ । तपाईं अग्रज लेखक भएको नाताले बताइदिनुहोस् – एउटा लेखक सिद्धान्तको बोझले कति थिचिनु पर्छ ?
लेखन जति बढी हुन्छ त्यति नै बढी त्यसमाथि चर्चा–परिचर्चा र विमर्श हुने गर्छ साथमा केही विवाद पनि । यसलाई अन्यथा मान्नु हुन्न । स्रष्टाहरू लेखनको सीमाभित्र आबद्ध भएर सधैँ लेख्छ भन्ने छैन । उसले सिद्धान्त निर्माणमा सघाउ मात्र पुर्याउँदैन त्यसलाई परिमार्जन गर्न पनि खोज्छ ।
जतिखेर हामीले लघुकथा लेख्न थाल्यौं त्यतिबेला लघुकथाको खास अवधारणा र सिद्धान्तको निर्माण भइसकेको थिएन । सानो आकारको एउटा घटना वा दृश्य वा क्षणमा भोगिने विषयको रचनालाई नै लघुकथाको रुपमा लेखिन थाल्यो । कुनै कुनै लघुकथा त लामो विषयलाई संक्षेपीकरण गरिएको छोटो कथा लेखेर त्यसलाई लघुकथा पनि भनियो । अब त लघुकथा लेख्नेहरू धेरै भए र लघुकथाको सिद्धान्तका पुस्तकहरू पनि प्रकाशित हुन थाले ।
कुनै पनि विधाको परिभाषा वा अवधारणा हुन्छ । त्यसैगरी लघुकथाको पनि सिद्धान्त निर्माण भइसकेको छ । तर एउटा स्रष्टाले सिद्धान्तको बोझले दबिएर लेख्न भने हुन्न । हो, लघुकथा भन्नाले त्यो कविता होइन, मुक्तक होइन, गीत होइन, कथा पनि होइन । हो सिद्धान्त वा अवधारणाको ख्याल गर्नुपर्छ तर बोझले दबियो भने त्यहाँ स्रष्टा र सिर्जनामा चोट पुग्छ ।
नेपाली लघुकथा लेखनमा अबको बाटो कस्तो हुनुपर्ला ?
यस्तो लेख, उस्तो लेख र यसरी लेख भनेर सिर्जनामा सिकाउने काम गर्नु हुन्न भन्ने लाग्छ । स्रष्टाले आफ्नो चेतना, चिन्तन र अध्ययनले लेखनको नयाँ दिशा निर्क्यौल गर्छ भन्ने लाग्छ । जहाँसम्म लघुकथा लेखनमा अबको बाटोबारे म आफै पनि अन्यौलमा छु । बाटो कोर्ने होइन फरक बाटोको निर्माण गर्दै जाने हो । म नयाँ प्रकारले नयाँ सन्दर्भमा र नयाँ दृष्टिकोणमा लघुकथा लेख्नुपर्छ भन्छु जसले स्रष्टालाई अरुभन्दा फरक देखाओस् ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment