दृष्टिदोष
- डा. टीकाराम पोखरेल
उसको भिसा लाग्यो । सबैले बधाई दिए । बधाई उसले मात्र पाएन, उसका बाबुआमाले समेत पाए ।
ऊ जहाज चढ्न विमानस्थल पुग्यो । विमानस्थलमा उसलाई बिदाई गर्नेको ओइरो लाग्यो । माला लगाइदिए, खादा भिराइदिए, फोटो खिचेर फेसबुकमा पोष्ट्याइदिए । फेसबुकमा देशबाट शुभयात्रा लेख्ने र विदेशबाट वेलकम भन्नेको ताँती लाग्यो ।
विदेश पुगेर उसले ठूला सडक, गगनचुम्बी भवन र समुद्रको छेउछाउ उभिएर खिचेको दुईचारवटा फोटो पोष्ट्यायो । फोटोमा लाइक र कमेण्टको ओइरो लाग्यो ।
विदेशमा उसले तुरुन्तै काम पाएन, यताबाट लगेको पैसा सकियो । केही चिनजानका मान्छेसँग सहयोग माग्यो । तर सहयोग त परै जाओस्, बाटोमा भेट्दा समेत तर्किएर हिँड्न थाले ।
उसले काम नपाएर दुःख पाएको खबर नेपालमा समेत आइपुग्यो । बिदाई गर्न विमानस्थल पुगेकाहरु कानेखुसी गर्न थाले- “नदुखेको कपाल डोरी लगाएर कसले दुखाउनु भन्याथ्यो । चौटा खान गएकी बुढी झोलमा डुबेर मरी भनेको यही हो ।”
केही समयपछि उसले एउटा रेष्टुरेण्टमा काम पाएको खबर आयो । गाउँलेहरुले थप कुरा काट्न थाले- ‘फलानाको छोरो त अमेरिकामा गएर भाँडा माझेर बसेको छ रे ।’
फेसबुकमा उसका फोटाहरु आउन छोडे । कहिलेकाहिँ पोष्ट्याइएका फोटाहरुमा पनि लाइक र कमेण्ट गर्ने जाँगर कसैमा देखिएन ।
केही वर्ष खबरहरु पनि खासै आएनन् । ऊ सङ्घर्षमा होमियो । मेहनत गरेकोले उसले राम्रै प्रगति गर्यो । उसका बाबु आमा फेरि बधाई खान थाले । उसले त झन् कति बधाई खायो कति ।
दशकपछि ऊ स्वदेश फक्र्यो । विमानस्थलमा उसको स्वागत गर्ने लावालस्कर बिदाइको दिनभन्दा पनि कयौँ गुणा ठूलो थियो । उही पुनरावृत्ति भयो । माला लगाइयो । खादा भिराइयो । गाडी चढाइयो । मानौँ कुनै भीआइपीको सवारी चलिरहेछ ।
सबैले उसको सम्पनताको पूजा गरे । सफलताको गुणगान गाए । तर कसैले पनि उसको सङ्घर्षको कथा सम्झेन, सोधेन र बुझेन ।
सफलता देख्नेका कथा सकिए । तर भोग्नेका व्यथाहरु भने अझै सकिएको थिएन ।
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment