आज ऊ वरिपरिका मान्छेको व्यवहार देखेर छक्क परेको छ । औधि आनन्द पनि अनुभव गरिरहेको छ ।
कल्पना गर्न नसकेको सम्मान आज समाजले उसलाई दिएको छ । उस्को सम्झनामा जीवनभरि यत्तिको प्रसंशा र शुभ–वचन पाएको याद आउँदैन ।
उहिले प्राइमरी स्कूलमा शिक्षणपेशा गर्दा छात्र–छात्रा र उनीहरूका अभिभावकले देखासेकी केही सम्मान प्रकट नगरेका होइनन्, तर आजको जति श्रद्धा सम्मान कहिलै पाएको थिएन ।
एक समयमा साहित्य चर्चा गर्दा बेला–बखत् उसका रचनाले चर्चित पत्रिकाहरूमा स्थान पाएको याद छ । नचिनेकाहरूले उस्का लेखादिहरूको प्रसंशा गरे पनि वरिष्ठ परिचित साहित्यकारहरूले सधैँ उस्लाई नजरअन्दाज गरी आएका हुन् । संयोगवस केही भन्नुनै परे उट्पटाङ्ग मन्तव्य दिएर गाल टारेझैं गर्थे ।
तर, आज तीनै परिचितहरू महिमा मण्डन गर्न हरेक थरीका उपमा दिएर उस्को कार्यको बखान गरिरहेका छन् । ऊ आज खुसीले गदगद् हुँदै उनीहरू प्रति आभारी बनेको छ । फूलले सुसज्जित वाहन चढाई आज उस्लाई सहरका गलि घुमाउँदै जता–जता लगिएको छ, सबै तिर श्रद्धासाथ टाउको निहुराएर सम्मान प्रदर्शन गरिदैं छ । आज नसोचेको सबै हुँदैछ । ऊ तृप्त तर अचम्भित छ– आफ्ना छर–छिमेक, ज्ञात–अज्ञात मानिसहरूले देखाएको यो परिवर्तित व्यवहारमा । लाग्छ उस्को जीवन सफल भयो । जाँदा जाँदै गाडी एक ठाउँमा टक्क रोकिन्छ । त्यो स्थान उसको परिचित स्थान हो । एक छिन पछि उसलाई सादर सम्मान साथ मसानको चितामा सुताइन्छ ।
ऊ झसङ्ग हुन्छ अनि मुस्कुराउँदै बरबराउँछ– ॅमरेपछि सम्मान दिँदा रहेछन्, वाहः, हाम्रो समाज !’
-तेलियागाउँ, शोणितपुर (असम)


No comments:
Post a Comment