लघुकथाकार आचार्य प्रभाको विधुर पुरुष नामक लघुकथासङ्ग्रह २०७९ मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका एकल वृद्ध, स्पर्म डोनर, गुलाबसँगै ओइलिएको माया, आफ्नैको प्रहार, पाठ लगायत विभिन्न शीर्षकका १०० वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत १०० वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको एकल वृद्ध शीर्षकको पहिलो लघुकथामा बुबाको कुरा सुनेर रविनलाई नमिठो लाग्छ । बुबाको कोठाबाट रविन निस्केर कोठामा गएर सुष्मालाई भन्दछ सुष्मा बुबाले बोलाउँदा तिमीले किन नसुनेकी ? बुबालाई अप्रेसन गरेको ठाउँ दुखेको रहेछ अरु केही गर्न गएर सोध्न त सक्थ्यौ भनिएको छ । प्रेमको परिभाषा शीर्षकको लघुकथामा विवाह प्रेमको परिभाषित रुप हुनुपर्छ जो सम्झौता र लिनुुदिनुमा गरिनुहुन्न । म विवाह गर्छु तर सम्झौतामा होइन भनिएको छ ।
लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । चिहानमाथिको घर शीर्षकको लघुकथामा आमाको चिहानमाथि बनाइएको घरमा रङ लगाउन भनी दुई छोराछोरी र बाउ आएका थिएँ । भोलि स्व. आमाको वर्षदिनको काम थियो । बाउ धमाधम रङ लगाइरहेका थिएँ भनिएको छ । यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्त्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकारे प्रभाले मनन गरेकी छिन् । अखबारे साहिँलो शीर्षकको लघुकथामा सूरबीरबा पत्रिका हातमा लिएर टोलाइरहेका थिए । छोरीले बा खाना खान आउनु भन्दा झसङ्ग भए । उसका आँखा वरिपरि अखबारे साहिँलोकै छाया सल्बलाइरह्यो दिनभरि भनिएको छ ।
उनले लेखेका लघुकथामा सकारात्मक विचारभावको प्रस्तुति पाइन्छ । उनका प्रेमको परिभाषा, ज्यानमारा रोग, मदस्या आदि लघुकथामा सकारात्मक भाव पाइन्छ । यसभित्र १०० वटा लघुकथा गाँसिएका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ ।
आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ । लघुकथाकार आचार्य प्रभाका लघुकथामा नरनारी समबन्धका लघुकथाको प्रधानता पाइन्छ । उनका एकल बृद्ध, ऊ आगो भए तिमी पानी बन्नु, चिहानमाथिको घर, मौकाको पर्खाइ, विधुर पुरुष, गुलाबसँग ओइलाएको प्रेमलगायतका लघुकथामा नरनारी सम्बन्धलाई प्रस्तुत गरिएको छ ।
सिपको सदुपयोग शीर्षकको लघुकथामा टेबुलका केही थान कपडाहरू देखाउँदै रेश्माले कान्छीलाई भनिन् कान्छी यी कपडाहरूको अब धमाधम माक्स सिलाएर बजारमा वितरण गर्नुपर्छ । त्यै भएर तिमीलाई बोलाएकी । रेश्माको कुरा सुनेर कान्छीलाई झनक्क रिस पनि उठ्यो । उसलाई लाग्यो विगतमा त्यही कान्तीले उनको टेलरिङ छेउमा मेसिन राखेर म पनि पुरानाफाटा लुगाहरू सिउने गर्छु । तपाईको पसलमा आएका हातको काम हुनेजति मलाई पनि दिनुहोस् भन्दा रेश्माले न उसलाई आफ्नो टेलरिङ छेउ बस्न दिइन् न कामनै दिइन् उल्टो झपारिन् बरु ।
आमाहरूको वहस शीर्षकको लघुकथामा कुुरौटेनी आमा समीरकी आमा आफूलाई खुब भाग्यमानी ठान्छिन् । जसका सन्तान घरमै थुप्रिएर बसेका छन् । न कतै पढ्न गएका छन् न क्यै गर्न सकेका छन् भनिएको छ । उनका लघुकथामा वहुसंस्कृतिको प्रभाव पाइन्छ । यी लघुकथामा गाउँ समाजसँग सम्बन्धित जीवनको प्रस्तुति पाइन्छ भने अर्कोतिर आधुनिक जीवन र संस्कृतिको समेत प्रभाव पाइन्छ । ग्रामीण समाजमा अरुको पछि लाग्ने प्रवृत्ति र सहरी समाजमा अनावश्यक तडकभडक, अहङ्कारजन्य गतिविधिका कारण मानिसको जीवनले सहीमार्ग पक्रिन नसकेको स्थितिवोध गरिएको छ । आचार्य प्रभाका लघुकथाहरूमा प्रेमलाई शास्वत सत्य मानिएको छ । प्रेमलाई कथाहरूमा पात्रहरूबाटै वर्गीकरण गरिएको छ । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्म विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ ।
कृतिः विधुर पुरुष (लघुकथासङ्ग्रह)
लघुकथाकारः आचार्य प्रभा
प्रकाशकः शब्द मिडिया प्रा.लि.
संस्करणः वि.सं. २०७९ पहिलो
मूूल्यः रु. ३००/–, पृष्ठः २१६


No comments:
Post a Comment