निखिललाई आन्दोलनमा जान वर्जित थियो । कक्षा आठमा पढ्दै गरेको निखिलको आन्दोलनको माहोल हेरि विद्यालयले विदा दिएको थियो ।
सडकमा नभएपनि ऊ स्कूलको युनिफर्म लगाएर, घाँटीमा स्कूलको कार्ड झुन्डाएर घरकै टिभी कोठामा वसेर उत्साहित बनिरहेको थियो । उसले आफ्नो आँखा टिभीबाट एक निमेषपनि अलग गरेको थिएन ।
माइतीघर मण्डलामा आन्दोलनको उद्घोष भयो – ‘आन्दोलनको दौरान हामी रेलिंग भान्च्दैनौ । हामी कसैलाई दक्खल पुग्ने काम गर्दैनौँ । सवारी बन्द गर्दैनौँ । सडकको दायाँ बायाँ तथा बीचमा रहेका विरुवा उखेलदैनौं, भाच्दैनौ र त्यसको जगेर्ना गर्छौं । यो सडकको हरियाली कायम राख्छौँ ।’
निखिलले बुझ्यो – ‘आन्दोलन सकारात्मक हुन्छ । जेन जीको आन्दोलनले आशाको हरियो दिपक निभ्न दिने छैन । सडक देखि सदनसम्म, भुइँदेखि आकाशसम्म र तलदेखि माथिसम्म व्याप्त तुवाँलो, अन्धकार र अनियमितताको अन्त्य गर्नेछ । यो मौका जेनजीको अबधारणाको पुष्ट्याई गर्न उपलब्ध छ ।’
शनैशनै उसले सोचे जस्तो केही भएन । आन्दोलन उत्तेजित बन्दै गयो । सरकार पानीको फोहरा र बन्दुकको गोली बोकेर खडा भयो । आन्दोलनकारीलाई संसद भवन छिर्न नदिन सरकारले बल प्रयोग गर्दा साना साना बाल बालिकाको ज्यान गयो । भोलिपल्ट आगजनी, तोडफोड सडकभरि ताण्डव भयो । यो सबैले रन्थनिएको निखिल बेहोस् भयो । उसका बा, आमाले उसलाई अतालिएर अस्पताल पुर्याए । तनावको बीच भरिभराऊ आकस्मिक कक्षमा झल्याँस्स ब्युँझिएर निखिलले सोध्यो – ‘आन्दोलनमा सडकको दायाँ बायाँका बोट बुट्यान नष्ट भयो कि भएन ?’
उपस्थित नातागोता, परिचारिका र डाक्टर हेराहेर गरे ।
- सूर्यविनायक –५, कटुन्जे, भक्तपुर


No comments:
Post a Comment